८ पुस २०८१, सोमबार

कोरोना महामारीले गर्दा विशेष सावधानी अपनाएर तिहार पर्व मनाउन प्रधानमन्त्रीद्वारा आह्वान


केपी शर्मा ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विशेष सावधानी अपनाएर यस वर्षको तिहार पर्व मनाउन आह्वान गरेका छन् । तिहार पर्व, २०७७ तथा भाइटीकाको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

यस महामारीले जनताको स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा मात्र होइन मुलुकको समृद्धिको अभियानमा पनि अवरोध पुर्याएको बताएका छन् । यसले जनताको स्वास्थ्यमा गरेको क्षति न्यूनीकरण गर्दै रोकथाम तथा नियन्त्रणमा सरकारले आवश्यक कदम चाल्दै आएकोले यस महामारीका वाबजुद मुलुकको विकास तथा समृद्धिको यात्रालाई हामीले अघि बढाइरहेको बताएका छन् ।

यमपञ्चकको पाँच दिनसम्म मनाईने यस पर्वमा मानव जीवनका अनेक पक्षसँग गाँसिएका पशुपंक्षी र वनस्पतिलाई सम्मान स्वरूप पूजा गर्ने प्रचलन रहेकोले ५ दिनसम्म मनाईने तिहारमा हरेकका घरघरमा काग, कुकुर, गाई, गोवद्र्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने परम्परा रहिआएको बताएका छन् ।

तिहारको अन्तिम दिन मनाईने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीका बीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउने विश्वास रही आएको छ । यस पर्वको अभिन्न अंगको रूपमा रहेको देउसी-भैलो खेल्ने साँस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुतालाई सुदृढ बनाउँदै आएको पनि उनले बताएका छन् ।

यतिबेला हामी जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेका छौं । सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको उनले उल्लेख गरेका छन् ।

यस अवसरमा राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन उनले सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आह्वान गरेका छन् । यसै एकता मार्फत् हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने छौं भन्ने विश्वास दिलाउन चाहन्छु पनि भनेका छन् । अन्त्यमा, तिहार तथा भाइटीकाको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा पुनः सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !