८ मंसिर २०८१, शनिबार

रिक्सा नचलाए अब परिवार भोकै मर्छ


रिक्सा चालक

नेपालगञ्ज, २० जेठ । नेपालगञ्ज-९ बाँकेगाउँका घनश्याम कोरीले आफ्नो तीनपाङ्ग्रे इरिक्सा नचलाएको दुई महिना भयो । इरिक्सा चलाएर पाँच जना परिवारको पेट पाल्दै आएका कोरीको परिवारलाई लामो समयको बन्दाबन्दीले अहिले बिहान बेलुकाको हातमुख जोर्न नसक्ने अवस्थामा पुर्याएको छ । भाडाको घरमा बसेर रिक्सा चलाउने पेशा अंँगालेका कोरीसँग आम्दानीको कुनै स्रोत नभएपछि तीन लालाबाला सन्तान र आफ्नो पेटको भोक मेटाउन उनकी धर्मपत्नी लक्ष्मी अहिले अरुका घरमा भाँडा माझ्न बाध्य हुनुभएको छ ।

बन्दाबन्दीका कारण इरिक्सा चलाएर आफ्नो दिनचर्या चलाउने सो दम्पती प्रतिनिधिमूलक पात्र मात्र हो । उनीहरु जस्तै करीब १० हजार परिवारको दैनिक जीवन इरिक्साको कमाइले धानेको छ । बाँके जिल्लामा झण्डै १० हजार इरिक्सा सञ्चालनमा रहेको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर बताउनु हुन्छ । लामो समयको बन्दाबन्दीले अहिले यिनै रिक्सा चालकको दैनिक कमाइ गुमेको छ । आम्दानीको वैकल्पिक व्यवस्था भएका केही रिक्सा चालकलाई परिवार पाल्न ठूलै समस्या नपरे पनि रिक्सा चलाएरै बिहानबेलुकाको हातमुख जोर्ने रिक्सा चालकका परिवारलाई भने लामो समयको बन्दाबन्दीले पेटमाा भोक र मानसिक तनाव दिएको छ ।

झण्डै दुई महिनासम्म घरमै लकडाउनको पालना गरेर बसेका यहाँका केही रिक्सा चालक अहिले सडकमा रिक्सा लिएर निस्कन थालेका छन् । उनीहरुको यस्तो प्रयासले भने निरन्तरता पाउन सकेको छैन । स्थानीय प्रशासनले कडाइ गरेका दिन घर फिर्ता जानुको उनीहरुसंँग अरु कुनै विकल्प रहँदैन । ‘अलिअलि जोगाएको पैसा पनि सकियो, साथीभाइ, आफन्तसंँग ऋण लिएको रकम पनि भ्याइसकियो । रिक्सा नचलाए अब त हाम्रो परिवार भोकभोकै मर्छ’, बन्दाबन्दीमा रिक्सा चलाउने भनेर निस्किनुभएका नेपालगञ्ज—१३ का मोहम्मद हमिद इद्रिसीले दुःख पोख्नुभयो ।

बन्दाबन्दीमा ठूलै आँट गरेर रिक्सा सडकमा लिएर निस्कनेलाई सुरक्षाकर्मीले ठाउँठाउँमा रोक्ने तथा पैदल हिँड्नेहरु पनि कोरोना संक्रमणको डरले रिक्सामा बस्न नरुचाउने कारणले रिक्सा चालकले सोचे जस्तो भएको छैन । ‘रिक्सा चलाउन त दिनै मिल्दैन । समस्या सबैलाई परेको अवस्था हो, रिक्सा चालक त्यसवाट अछुतो रहने सवाल नै रहँदैन’, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङ्गको भनाइ छ ।

बन्दाबन्दीको शुरुवाती चरणमा स्थानीय तहका वडा कार्यालयले केही मात्रामा चामल, दाल र नूनतेल राहत उपलब्ध गराए पनि अहिले त्यस्तो सहयोग पनि नपाएको रिक्सा चालकको गुनासो छ । ‘बन्दाबन्दीभरि हामीले छाक टार्ने राहत पाएमा रिक्सा चलाउन जानै पर्दैन नि’, रिक्सा चालक इद्रिसीले भन्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !