काठमाडौँ, १० जेठ । “हेल्लो ! रामजी सर, लौन मान्छे विक्षिप्त अवस्थामा सकडमा बेवारिसे बनेर बसिरहेको छ, लगिदिनुप¥यो, साह्रै विजोग छ”, मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई यस्तै खालका फोन आजकल दैनिक १० देखि १५ वटा आउँछ ।
कोरोना कहरका कारण विगतमा जस्तो मानिसको उद्धार गर्न सहज नभए पनि मानिसको तारन्तारको फोनले खिन्न बनाउँछ । उनीहरुलाई आश्रममा ल्याउन पिसिआर परीक्षण पहिलो शर्त हो । यसरी फोन गर्ने मानिसलाई परीक्षणको मतलब हुन्न । उनीहरुको सोच उठाएर लगिदिए हुन्थ्यो मात्रै हुन्छ । एकै फोनमा उठाउन सक्ने सम्भावना हुन्न, त्यसैले कतिपय रिसाउँछन् ।
उहाँले लकडाउनको अनुभव सुनाउँदै भन्नुभयो, “पिसिआर गरेपछि भन्नुहोला हामी सेवामा तयार छौँ भनेर जवाफ दिन्छौँ, तत्कालै नउठाएको भनेर कतिपय रिसाउनुहुन्छ, त्यसैले ७७ वटै जिल्लाबाट आउने सबै फोन म आफैँले सम्हाल्ने गरेको छु ।”
पछि समस्या आउन सक्ने हुँदा उद्धारसम्बन्धी फोनको उहाँ आफैँले सम्बोधन गर्नुहुन्छ । “कोभिड–१९ मा हेलचेक्र्यार्इं गर्नु हुन्न भन्नेमा सबै सचेत हुनुपर्छ । राज्यले लागू गरेको स्वास्थ्य मापदण्डलाई अक्षरशः पालना गर्नैपर्छ । सङ्क्रमणदर बढ्दो रहेकाले अझै सचेत हुँदै काम गर्नुपर्ने अवस्था छ । कोरोना कहर मात्रै भनेर नहुने रहेछ । सडकमा दुःख बल्झिएको देख्दा मन कटक्क खान्छ, त्यसै छाड्न मन मान्दैन । ” उहाँ भन्नुहुन्छ । आफ्नै प्रयासमा भनेपछि पिसिआई र आरडिटी गरेर उद्धारमा खटिएको बताउनुहुन्छ ।
“पीडा देख्दादेख्दै पनि आरडिटी या पिसिआर नगरी उद्धार गर्न सकिएको छैन । मुलुक नै प्रभावित भइरहेको बेला अहिले सडकका मानिसलाई पिसिआर गर्न धौधौ पर्छ । त्यही पनि रिपोर्ट नेगेटिभ भएका ७७ जनालाई हामीले उद्धार गर्न सफल भएका छौँ”, उहाँले भन्नुभयो । उनीहरुलाई विभिन्न आश्रममा राखिएको छ ।
बन्दाबन्दीपछि झन सडकमा मानिस आउने क्रम बढेको अनुभव गर्नुहुन्छ उहाँ । अन्य असङ्गठित मजदुरसमेत सडकमा आइपुगेकाले अवस्था दयनीय बन्दै गएको छ । यो अवस्थामा धेरैलाई अझै उद्धार गर्न सकिएको छैन । तैपनि स्वास्थ्य मापदण्ड अपनाएर आश्रमले लकडाउनको अवधिमा ७७ जनाको उद्धार गरेको छ । लकडाउन नभएको भए काठमाडौँ महानगर सडक मानवमुक्त महानगर घोषणा भइसक्थ्यो । त्यसको तयारीमा दैनिक उद्धार अभियान चलिरहेकै थियो । सबै योजना कोरोना कहरसँग चकनाचुर भएरको छ ।
मानवसेवा आश्रमका प्रवक्ता सुमन बर्ताैलाका अनुसार बन्दाबन्दीको समयमा काठमाडौँ उपत्यकाको तीन जिल्लाबाट १९ जनाको उद्धार भएको छ । मकवानपुरमा नौ, गोरखामा एक, विराटनगरमा १८, कास्कीमा १५, रुपन्देहीमा चार, बागलुङमा चार र सुर्खेतमा सातजनाको उद्धार गरिएको छ ।
अझै धेरै सडकमा भए पनि पिसिआर गर्न नसकिएकाले ल्याउन नपाएको आश्रमको अनुभव छ । आश्रममा क्वारेन्टिन छैन । त्यसैले सिधै उठाउन सकिने अवस्था छैन । तैपनि विभिन्न सहयोगी संस्थाले उपलब्ध गराएको स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्दै सेवा भने छाडिएको छैन । उनीहरुले अझै मानवीयतालाई हराउन दिएका छैनन् ।
उद्धार गर्नका लागि पिपिइ लगाएर आश्रमका अभियानकर्मी खटिन्छन् । हातमा पञ्जा, साथमा सेनिटाइजरसहित मुखमा मास्क लगाएर सडकमा पुग्छन् । भेटिएका बेसहारा सडक मानवलाई उद्धार गर्दा मापदण्डकै प्रयोग गर्ने गरिएको छ । उनीहरुलाई पनि सेनिटाइज गरेर मास्क दिएरमात्रै उद्धार गर्ने गरिएको छ ।
आश्रमले अहिलो झण्डै एक हजार १०० जनालाई संरक्षण दिँदै आएको छ । यसरी उद्धार भएका ६०० बढीलाई परिवारमा मिलन गराइएको छ । विसं २०६९ देखि यसरी सेवा थालेकामा हाल सात प्रदेशको १७ जिल्लाका १९ शाखाबाट सेवा दिइरहेको छ ।
भोकालाई खाना पनि जारी छ
लकडाउनका कारण असङ्गठित क्षेत्रका मजदुर सडकमा आइपुगे । सडक सेवामा निस्किँदा खान नपाएको कुरा सुनेपछि अधिकारीको मन कुँडियो । अनि गत चैत २४ बाट भोकालाई खाना दिने अभियान भक्तपुरबाट शुरु गरिएको थियो । आज ७४औँ दिनमा खाना खुवाउने क्रम जारी छ । दैनिक झण्डै ७०० जनालाई खाना खुवाउँदै आएको आश्रमले जनाएको छ । भक्तपुरका विभिन्न स्थानमा गाडी लिएर खाना वितरण गर्ने गरिएको छ । केही हप्ताअघिसम्म अन्य संस्थाले पनि खाना दिन्थे । तर लकडाउन थप कडा भएपछि अन्य संस्थाले खाना खुवाउन छाडे त्यसपछि बोझ आश्रमलाई नै थपिएको जनाइएको छ ।
काठमाडौँका पनि धेरै स्थानबाट भोकै भएको भन्दै फोन आइरहेको छ । अब आइतबारदेखि सडकको अवस्था बुझ्ने र काठमाडौँमा पनि भोको भएकालाई खाना दिने अभियान चलाउन थालिएको अभियानकर्मी सुमन बर्ताैलाले बताउनुभयो । सबै काम प्रहरी र स्थानीय तहसँगको समन्वयमा सामाजिक दूरी कायम गरेर स्वास्थ्य मापदण्डअनुसार नै गर्ने गरिएको जनाइएको छ ।
उक्त संस्थाले विगत सात वर्षदेखि मुलुकलाई नै असहाय सडक मानवमुक्त बनाउने अठोटका साथ सडकमा मागेरसमेत खान नसक्ने, बेसहारा, मनोरोगीको उद्धार गरी संरक्षणको अभियान चलाउँदै आएको छ ।