४ असार २०८१, मंगलबार

राहत दिँदा सीमान्तकृत समुदायलाई प्राथमिकता राख्नुपर्ने माग


लम्की, २० वैशाख । सीमान्तकृत समुदायले राहत दिँदा आफ्ना समुदायलाई प्राथमिकतामा राखिनुपर्ने माग गरेका छन् । सीमान्तकृत समुदायका अगुवाले राहतमा आफ्ना समुदायलाई उच्च प्राथमितामा राख्न माग गरेका हुन् । सुदूरपश्चिम नेत्रहीन सङ्घका अध्यक्ष अर्जुन रावलले अरुकै सहारामा बाँच्नुपर्ने अपाङ्गता भएका व्यक्तिलाई सामान्य सामाजिक सुरक्षाभत्ता पाइरहेको छ भनी राहतबाट बञ्चित गरिन नहुने बताउनुभयो । “अपाङ्गता भएकाहरुको जीवन निकै कष्टकर छ । कतिपय स्थानीय तहले भत्ता पाउँछन् भन्दै राहत दिन मानेका छैनन्”, उहाँले भन्नुभयो, “यो गलत हो, अपाङ्गता भएकालाई पहिलो प्राथमिकतामा राखेर राहत दिनुपर्छ ।”

कैलाली र बर्दियाका सिमानामा रहेका सोनाह समुदायको जनजीवन पनि कष्टकर भएको छ । लामो समय लकडाउन भएपछि माछा मार्न, नदीमा सुन चाल्न नपाउँदा सोनाहको आम्दानीको स्रोत गुमेको छ । राजापुर नगरपालिका–१ मुर्गौहवाका सोनाहा अगुवा शान्ति सोनाहले लकडाउनका बेला नदीमा जान नपाउँदा धेरैको चुलो नबलेको दुखेसो पोख्नुभयो । “बालुवाबाट सुन छान्ने, माछा मार्ने र गिट्टी छान्ने पेशा गरी खाने सोनाहाले लकडाउनका बेला नदीमा जान पाएका छैनन”, उहाँले भन्नुभयो, “प्रशासनले डुङ्गा पनि नदी किनारमा लगाइदिएको छ । काम गर्न नपाउँदा छाक टार्न समस्या भएको छ ।”

सोनाह समुदायका नागरिकले राहतको व्यवस्था गर्नुपर्ने सरकारसँग माग गर्न थालेका छन् । “हामीलाई अन्य समुदायभन्दा प्राथमिकतामा राखेर राहत उपलब्ध गराउनुपर्छ”, रुपा सोनाहले भन्नुभयो, “अधिकांश परिवारले राहत पाउन सकेका छैनौँ, कि काम गर्न दिनुप¥यो, नभए राहत चाहियो ।” उहाँले नदीमा जान नपाउँदा सबै सोनाहा समस्यामा परको बताउनुभयो । कैलाली, बर्दिया र कञ्चनपुरमा करिब एक हजार २०० को सङ्ख्यामा रहेका सोनाहा नदीमाथि आश्रित समुदाय हो । सोनाहा समुदायका अगुवाले आफ्नो समुदायलाई अल्पसङ्ख्यक सूतीमा सूचीकृत गर्नुपर्ने माग राख्दै आएको छ ।

राजी शाल्म समाजका अध्यक्ष चित्रबहादुर राजीले आफ्नो समुदायले राहत पाउनुपर्ने माग गर्नुभयो । सामाजिक सुरक्षाभत्ता पाए पनि अन्य नागरिकसरह राहत पनि पाउनुपर्ने राजीको माग छ । “हामी मासिकरूपमा भत्ता पाउँछौँ भनेर राहत दिन सरकार गम्भीर भएको दे्िखँदैन, यस्तो महामारीका बेला राहत नपाउँदा हाम्रो दैनिकी कष्टकर भएको छ”, उहाँले भन्नुभयो, “राजी समुदायका अधिकांश नागरिक ज्यालादारीको काम गर्छन्, अहिले काम गर्न नपाउँदा समस्या भएको छ ।”

लकडाउनका कारण सबैभन्दा बढी एचआइभी सङ्क्रमितहरु प्रभावित भएका छन् । एचआइभी सङ्क्रमितलाई नवजीवन एकता समाज टीकापुरले आवश्यक औषधि र एआरटी सङ्घसंस्थाको सहयोगमा सङ्क्रमितका घरमै पु¥याउने व्यवस्था मिलाएको छ । “औषधि त हामीले घरमै पु¥याइदिने गरेका छौँ तर उनीहरुलाई पोषण चाहिन्छ”, एकता समाजमा अध्यक्ष जगत भण्डारीले भन्नुभयो, “एआरटी खाँदा पोषण बढी खानुपर्छ, अहिले सङ्क्रमितका घरमा खाद्यान्न नै छैन, सरकारले खाना र पोषणका लागि विशेष ध्यान दिनुपर्छ ।”

लकडाउन भएको ३९ दिन पुगेको छ । लकडाउनका कारण भोकमरी नहोस् भनी स्थानीय सरकारले विपन्न तथा ज्यालादारी गर्ने नागरिकलाई राहत वितरण गरिरहेका छन् । ‘‘स्थानीयस्तरमा समस्यामा रहेका सबैलाई राहत उपलब्ध गराउँछौँ”, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले भन्नुभयो, “राहत वितरण जारी छ, समस्यामा भएका सबैले राहत पाउनुहुन्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !