१३ बैशाख २०८१, बिहिबार

दुःखमा ‘सपना’


सपना भिलेज सोसल इप्याक्ट

चितवन । मानव जगत्मा आइपरेका हरेक दुःखमा सपना पुग्ने गरेको छ । भूकम्प, आँधीबेहरी, बाढीपहिरो हुँदै कोभिडको दोस्रो लहरमा पनि यहाँको सपना भिलेज सोसल इप्याक्ट पुग्ने गरेको हो । पछिल्ला दिनमा अधिकांशका सामाजिक सञ्जालमा छाइरहेको सपना भिलेजले अस्पताललाई आवश्यक स्वास्थ्य सामग्री वितरण गर्दै आएको छ । केही दिनमै निषेधाज्ञाका कारण प्रभावितका लागि खाद्यान्न वितरण गर्ने तयारी गरिएको छ ।

संस्थाका अध्यक्ष ध्रुव गिरीका अनुसार एउटा गाडीलाई एम्बुलेन्स बनाएर कोभिडको अभियानमा सहयोगको शुरुआत गरिएको हो । सो गाडीले ३५ जनालाई अस्पताल र आइसोलेशनसम्म पुर्याइसकेको छ । यससँगै भरतपुर अस्पताललाई १० थान अक्सिजन सिलिण्डर, इच्छाकामना गाउँपालिकालाई पाँच थान र बकुलहर रत्ननगर अस्पताललाई २० थान सिलिण्डर वितरण गरिसकिएको छ ।

रु एक लाख ६५ हजार बराबरको पिपिई सेट, मास्क र ग्लोब्स अस्पताललाई वितरण गरिएको उहाँले जानकारी दिनुभयो । जिल्लाका पत्रकारका लागि रु दुई लाख बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको छ । चीनबाट १० लिटरका १० थान अक्सिजन कन्सनट्रेटर झिकाइएको गिरीले बताउनुभयो । कन्सनट्रेटरलाई चीनमा नै एक थानको रु एक लाख ३५ हजार नेपाली परेको उहाँको भनाइ छ । केही दिनभित्रै यहाँ ल्याएर आवश्यकतानुसार सेवा दिइने बताइएको छ ।

सपना भिलेजले खाद्यान्नको अभाव भएकालाई वितरण गर्नका लागि रु १५ लाखको फुड प्याकेज तयार गरेको छ । सो संस्थाले कोभिडको पहिलो लहरमा रु ३५ लाख बराबरको खाद्यान्न वितरण गरेको थियो । गिरीको भनाइमा विसं २०७२ को भूकम्प गएपछि रु ४५ लाख बराबरको खाद्यान्न सम्बन्धित जिल्लामा गएर वितरण गरिएको थियो ।

कोरोना सङ्क्रमण अझै बढ्दै गएमा थप सामाजिक सेवाका काम थाल्ने सपना भिलेजको योजना छ । तराइमा आँधीबेहरी आउँदा होस् वा पहाडमा बाढीपहिरो सबै ठाउँमा सपना भिलेज पुग्ने गरेको गिरी बताउनुहुन्छ । गिरीसँगै सपना भिलेज सोसल इम्प्याक्ट समितिमा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, भरतपुर अस्पतालका पूर्वमेडिकल सुपरिटेण्डेण्ट डा कृष्ण पौडेल, अधिवक्ता सजनराम भण्डारी र व्यवसायी अजितमान प्रधान हुनुहुन्छ ।

विगत नौ वर्षदेखि यो संस्थाले काम गर्दै आएको छ । गिरीले नेतृत्व गरिरहेको सौराहाको सपना भिलेजमा आउने एक पाहुनाको रु ५०० यो अभियानमा खर्च गरिन्छ । यससँगै नेदरल्याण्डमा रहेको सेमी फाउण्डेशनले मुख्य सहयोग गर्दै आएको छ ।

संस्थाका सदस्य डा पौडेलका अनुसार यसका अतिरिक्त ग्रामीण क्षेत्रमा कृषि, पशुपालन, शिक्षा र स्वास्थ्यमा संस्थाले काम गरिरहेको छ । सिद्धीको विकासमा एक कदम भन्ने तीनवर्षे कार्यक्रम सम्पन्न गरेको उहाँको भनाइ छ । यससँगै इच्छाकामना गाउँपालिका वडा नं ८ र ९ मा अहिले वातावरण बचाउँदै विकास गर्ने योजनाका साथ स्थानीयवासीसँग काम गरिरहेको पौडेलले जानकारी दिनुभयो ।

सोही संस्थाले रत्ननगरको मालपुरमा रहेको मुसहर बस्तीमा पनि गरिबी निवारणका लागि काम गरिरहेको छ । यी परियोजनामा रु पाँच करोडभन्दा बढी लगानी भइसकेको संस्थाले जनाएको छ । रत्ननगरका प्रमुखसमेत रहनुभएका संस्थाका सदस्य वन दुःखमा साथ दिन यो संस्था निरन्तर लागिरहेको बताउनुहुन्छ । विषम परिस्थितिमा तत्कालका लागि राहत दिलाउनेदेखि गरिबको जीवनस्तर उकास्न संस्थाको महत्वपूर्ण भूमिका रहेको वनको भनाइ छ ।

इच्छाकामनाका अध्यक्ष गीता गुरुङ ग्रामीण क्षेत्रमा स्थानीयवासीको जीवनस्तर उकास्न सपना भिलेजको महत्वपूर्ण योगदान रहेको बताउनुहुन्छ । आफ्नो गाउँपालिकामा पछाडि परेका बहुसङ्ख्यक चेपाङसहितका बासिन्दालाई सहयोग गर्दै आएको गुरुङको भनाइ छ । अहिले कोरोना सङ्क्रमणको समयमा यस संस्थाले महत्वपूर्ण सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !