१३ बैशाख २०८१, बिहिबार

भागरथी भट्ट हत्याका दोषीलाई कारवाही गर्न महिला आयोगको माग


राष्ट्रिय महिला आयोग

काठमाडौँ । राष्ट्रिय महिला आयोगले बैतडीकी भागरथी भट्टको हत्याको घटनामा सत्यतथ्य छानबीन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारलाई अपिल गरेको छ । आयोगकी सदस्य कृष्णकुमारी खतिवडा नेतृत्वमा घटनास्थल पुगेको टोलीले राज्यका तर्फबाट तत्काल अध्ययन अनुसन्धान शुरु भएको पाइएको बताइएको छ ।

अनुसन्धानमा खटिएका अधिकारी संवेदनशील भएर काम गरिरहेको टोलीले बताएको छ । आयोगले पीडितको परिवारको संरक्षणमा भने ध्यान दिन अनुरोध गरेको छ । आयोगकी अध्यक्ष कमला पराजुलीले सो घटनाका अपराधी पत्ता नलाग्ने नहोस् भनेर आयोग क्रियाशिल भएर लागेको बताइन् ।

घटना बाहिर आउनासाथ गृहमन्त्री राम बहादुर थापासँग गम्भीर छलफल भएको उनले बताइन् । घटनाबारे बुझ्नका लागि नै टोली पठाइएको उनको भनाइ छ । केन्द्रमा रहेको आयोग कसरी तलसम्म पुग्न सक्छ भनी छलफल भइरहेको उनले बताइनन् । उनले भनिन्, “प्रदेश, पालिका र वडास्तरसम्म कसरी पुग्न सकिन्छ भनी छलफल भइरहेको छ ।”

आयोगकी सदस्य खतिवडाले आफू घटनास्थल पुग्दा त्यहाँको प्रहरी दिन र राति नभनी निरन्तर अनुसन्धानमा लागिपरेको पाइएको जानकारी दिइन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोली र बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको नेतृत्वमा अनुसन्धान अघि बढिरहेकाले छिट्टै पीडक कानूनको दायरामा आउने उनले विश्वास व्यक्त गरिन् ।

पीडितको बुबा भर्खरै बितेको र दाजु वैदेशिक रोजगारीमा भारत गएको र अहिले पनि आमा बिक्षिप्त भएको पाइएको टोलीले जनाएको छ । पीडित परिवारको सुरक्षा, संरक्षण र क्षतिपूर्ति दिन समेतको आयोगले सरकारसँग अपिल गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !