८ पुस २०८१, सोमबार

बाढी पीडितका पीडा : आश्वासन आए, राहत आएन


बागलुङमा बाढीपहिरो फाइल फोटो

भजनी २० कातिक । अछामको बान्निगढी जयगड गाउँपालिका वडा नं ६ का चक्रबहादुर थापाको गत भाद्र २ गते आएको कैलाश खोलाको बाढीले पुरै खेत बगायो । करिब २० मुरीभन्दा बढी धान फल्ने खेत बाढीले बगाएपछि अहिले के खाने भन्ने चिन्तामा उहाँको परिवार रहेको छ । खेतसँगै रहेको भैंसी गोठ पनि बगायो र घरसँगै रहेको पाखोबारी पनि बाढीले बगाउँदा केही दिन घर छोडेर अरुको घरमा साहरा लिन पुगेको उहाँ बताउनुहुन्छ ।

“खाने खेत, तरकारी बारी बाढीले बगाउँदा अहिले भोकमरीको चिन्ताले सताउन थालेको छ ।” उहाँले भन्नुभयो, “कुनै ठाउँबाट पनि राहतको लागि केही भएको छैन । नेता आए, मन्त्री आए आश्वासन दिएर गए तर बाढी गएको तीन महिना पुग्नै लाग्दा पनि राहत कतैबाट आएन ।” उहाँले आएको राहत पनि रामारोशन गाउँपालिकाको वडा नं ५ बाढीले बढी क्षति भएको क्षेत्रमा मात्र सीमित भएको गुनासो गर्नुभयो ।

रामारोशन गाउँपालिकाको वडा नं १ का भक्तप्रसाद खनालको करिब ५० मुरी धान फल्ने खेत बाढीले बगर बनायो । आधाभन्दा बढी खेत बगर भएपछि आउँदा दिनहरुमा कसरी गुजारा चलाउने भन्ने चिन्तामा खनाल हुनुहुन्छ । उहाँको आम्दानी स्रोत भनेकै त्यही खेत थियो । ८ जनाको परिवार पाल्ने आधार त्यही खेत थियो भने ६ छोराछोरीको शिक्षा दिक्षा पनि त्यही खेतबाट उत्पादन भएको अन्न बिक्री गरेर चल्थ्यो ।

“दैबी प्रकोपभन्दा ठूलो केही रहेनछ । सपना सबै बाढीमै बगेर गए । बाँकी रहेको धानखेती पनि बालुवामै पुरियो ।” उहाँले भन्नुभयो, “कतैबाट राहत पाइएको छैन तर पनि पाइन्छ कि भन्ने आशा जीबितै छ । राहत पनि नपाए भोकभोकै मर्नु पर्छ कि भन्ने डर छ ।”

बाढीका कारण सबैभन्दा बढी प्रभावित भएको रामारोशन गाउँपालिकामा पर्ने कैलाश खोला किनारका अधिकांश खेतीयोग्य जमिन बगर बनेको छ भने बाँकी रहेको जमिन पनि बालुवाले पुरिएका छन् । अब सो क्षेत्रमा खेती बिस्तार गर्न सक्ने अवस्था समेत छैन । सम्भावना बोकेको रामारोशन पुरानै अवस्थामा फर्किन अब १० बर्ष लाग्ने स्थानीय बताउँछन् । कैलाश खोलाले दिएको पीडा भुल्न वर्षौ लाग्ने स्थानीय खडक बिकले बताउनुभयो । “यो हाम्रो इतिहासकै कैलाश खोलाले पु¥याएको सबैभन्दा ठूलो क्षति हो । सायद यस्तो क्षति पहिले पनि भएको थिएन । पछि पनि हुँदैन होला ।” उहाँले भन्नुभयो, “कैलाशले दिएको पीडा सजिलै भुल्न सकिने अबस्था छैन । यसले कैयौंका सपना चुराएको छ भने कैयौंलाई घरबार बिहिन बनाएको छ ।”

बाढीका कारण विच्छेद भएको सडक सञ्जाल अल्पकालीनरुपमा जोड्ने काम भएको छ भने स्थानीय स्तरबाटै उत्पादन हुँदै आएका साना लघु जलविद्युत आयोजना पनि बाढीले बिक्षिप्त भएपछि अहिले सोही विद्युत लाईनमा राष्ट्रिय प्रसारण लाइन जोड्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउँदले बताउनुभयो । गाउँपालिकाले आफ्नो क्षेत्रभित्र भएको क्षतिको विवरण समेत सङ्कलन गरिसकेको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाका लेखा अधिकृत जनक न्यौपानेले ९ सय ३ जनाको खेतबारीमा क्षति पु¥याएको विवरण गाउँपालिकामा रहेको जानकारी दिनुभयो । बाढीबाट ६ हजार ५ सय ४३ जना परिवार प्रभावित भएको बताउनुभयो । उहाँले २ हजार ८ सय २८ दशमलव ९ रोपनी खेत र ८ सय ८२ दशमलव ५ रोपनी पाखो बारीमा बाढीले क्षति पु¥याएको जानकारी दिनुभयो । उहाँका अनुसार बाढीका कारण ज्यान गुमाउने मृतक परिवारलाई ५ हजारका दरले र दुईजनाका परिवारलाई ४० हजारका दरले गाउँपालिकाले सहयोग गरेको छ भने गाउँपालिकाले बाढी प्रभावितहरुको सहयोग सङ्कलनका लागि खोलिएको खातामा हालसम्म ४ हजार ७५ हजार ७६ सय ८५ रुपैयाँ सङ्कलन भएको जनाइएको छ

विनाशकारी बाढीका कारण करोडौंको क्षति भएको थियो । बाढीबाट ९ जना वेपत्ता छन् भने ८ जनाको अकालमा ज्यान गएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !