७ बैशाख २०८१, शुक्रबार

वार्षिक १ लाखसम्म उपचार खर्च दिने तयारी


सामाजिक सुरक्षा कोष

काठमाडौँ, असोज २५ । सामाजिक सुरक्षा कोषले कोषमा योगदान गरेका ६० वर्षमाथिका योगदानकर्ताका लागि स्वास्थ्य उपचारमा वार्षिक एक लाख रुपियाँसम्म सहायता उपलब्ध गराउने गरी कार्यविधि संशोधनको तयारी गरेको छ ।

कोषले यसअघि करारमा रहेका योगदानकर्तालाई मात्रै स्वास्थ्य उपचारका लागि वार्षिक एक लाख दिने व्यवस्था गरेकोमा नयाँ संशोधनमार्फत ६० वर्ष नाघेका र ७० वर्ष नपुगुन्जेलसम्मलाई यस प्रकारको व्यवस्था गर्न प्रस्ताव गरेको जनाएको छ । योगदानकर्ताले यो सुविधा प्राप्त गर्न कुल दाबी रकमको २० प्रतिशत आफैँले व्यहोर्नुपर्ने प्रस्ताव संशोधनमा गरिएको छ ।

कोषका निर्देशक एवं प्रवक्ता विवेक पन्थीले ७० वर्षपछि सरकारको स्वास्थ्य कार्यक्रममा विभिन्न छुटका योजना रहे पनि ६० देखि ७० वर्षसम्म बिरामी हुँदा कतै पनि स्वास्थ्य उपचारमा राहतका योजना नभएकाले कोषको योजनामा आकर्षित गर्न उक्त प्रस्ताव गरिएको जानकारी दिए ।

उनले भने, ६० वर्षदेखि ७० वर्षको बीचका निवृत्तिभरण पाइरहेका योगदानकर्ता बिरामी भएको अवस्थामा कोषले उपचार खर्च व्यहोर्ने भन्ने व्यवस्था मिलाउने तयारी गरेका छौँ, यसबाट धेरै योगदानकर्तालाई राहत हुन्छ ।

कोषको वृद्धावस्था उपचार सुविधा एवं मातृत्व सुरक्षा योजनाअन्तर्गत थप व्यवस्था तथा विदेशी श्रमिकको करार अवधिमा मृत्यु भए आश्रित परिवारलाई एकमुष्ठ सात लाख रुपियाँसम्म रकम प्रदान गर्ने प्रस्ताव गरिएको गरिएको छ । त्यस्तै वृद्धावस्था योजना अन्तर्गत जम्मा गर्ने भनिएको २८.३३ प्रतिशत योगदान रकमबाट १० प्रतिशत कटाएर श्रमिकलाई उपदानलगायत सुविधा थप गर्ने गरी मस्यौदा तयार गरिएको छ ।

पहिलो योजना अन्तर्गतकै मातृत्व सुरक्षासम्बन्धी योजनालाई समेत थप आकर्षक बनाउन महिला योगदानकर्ता सुत्केरी भएको अवस्थामा आधारभूत पारिश्रमिकको ३८ दिनको एकमुष्ठ तलबको ६० प्रतिशत रकम पारिश्रमिकका रूपमा सुत्केरीलाई दिने गरी प्रस्ताव गरिएको छ । यो सुविधा सुत्केरी स्वयम् योगदानकर्ता भएको हकमा रहेको छ ।

योगदानकर्ताकी श्रीमती सुत्केरी भएको हकमा भने शिशु स्याहार खर्चबापत एक महिनाको आधारभूत पारिश्रमिक बराबर रकम कोषले उपलब्ध गराउने व्यवस्था रहेको छ । श्रीमान्श्रीमती नै कोषका योगदानकर्ता भएको हकमा एकतर्फबाट मात्रै यो सुविधा पाउने व्यवस्था रहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !