१५ बैशाख २०८१, शनिबार

श्रमदानमा खट्दै भकिम्लीवासी


श्रमदान

गलेश्वर, २ असार । म्याग्दीको बेनी नगरपालिकाभित्रको जोखिमयुक्त सडकको रुपमा परिचित बेनी– बगरफाँट– दूधेखोला– भकिम्ली सडक स्तरोन्नतिका लागि भकिम्लीवासी बन्दाबन्दी र वर्षामासको समयमा पनि श्रमदानमा खटिरहेका छन् । पर्याप्त बजेट हुँदाहुँदै पनि विकास निर्माणका कैयौं योजना÷आयोजना सञ्चालन हुन नसकिरहेको अवस्थामा भकिम्लीमा भने जनस्तरबाट नै धमाधम काम भइरहेको छ । डेढदशक अघि चन्दा सङ्कलन गरेर ट्र्याक खोलेको कच्ची र साँघुरो अवस्थाको दूधेखोला–हल्लेगौडा–डाँडाखानी–डोले हुँदै मुसुङ –भकिम्ली जोड्ने १३ किलोमिटर सडकमा चालु आर्थिक वर्षका लागि बेनी नगरपालिकाले ६० लाख बजेट विनियोजन गरेपछि थप स्तरोन्नतिको काम भइरहेको छ ।

भकिम्लीबासी सडकमा दैनिकजसो श्रमदान गरिरहेका छन् । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी सडक स्तरोन्नतिसहित आवश्यक पूर्वाधारको काममा ढिलासुस्ती हुन थालेपछि भकिम्लीको टोल–टोल, बस्तीबाट समेत बिहानदेखि साँझसम्म सडक स्तरोन्नतिमा खट्ने गरेको वडाध्यक्ष पदम पुनले बताउनुभयो । ट्र्याक खुलेको डेढदशकपछि दूधेखोलादेखि भकिम्ली जोड्ने सडकको स्तरोन्नतिले पछिल्लो दुई वर्षयता निरन्तरता पाइरहेको छ । स्तरोन्नति आसपासका बस्तीबाट हरेक घरधुरीले दुई दिन र माथिल्लो क्षेत्रबाट युवा, आमा समूहको नेतृत्वमा आएर एक दिन श्रमदान गर्ने काम भइरहेको छ । नगरपालिकाले विनियोजन गरेको ६० लाखबाट ढलान दुई सय मिटर, पक्की नाली ६०० मिटर, सोलिङ ३०० मिटर, कच्ची नाली ३०० मिटर, ग्याबिनजाली ३५० थान लगाइने छ ।स्थानीयवासीले १० लाख हाराहारी जनश्रमदान गर्ने स्थानीयवासी यामबहादुर घर्तीले बताउनुभयो ।

सडकमा राजनीतिक दलका कार्यकर्ता, विद्यालयका शिक्षकलेसमेत श्रमदान गरेका छन् । सडकलाई चार मिटरभन्दा बढी फराकिलो बनाउन थालिएपछि स्थानीयवासी उत्साहित छन् । साँधुरो घुम्तीसँगै जोखिमपूर्ण सडकले बस्ती आसपासमै दुर्घटना देखेका भकिम्लीबासीले गाउँसम्म पुग्ने सडकलाई नमूना बनाउने अभियानमा रहेका छन् । सडकको स्तरोन्नति गरिएपछि स्थानीयबासिन्दालाई आवतजावत, सामान ढुवानी गर्न, कृषि उपज निकासीमा सहज हुनुका साथै स्वर्गाश्रम र बेलढुङ्गामा पर्यटक भित्र्याउन सहयोग पुग्ने वडाध्यक्ष पुन बताउनुहुन्छ । यो सडक बेनी नगरपालिकाको गौरबको योजनासमेत हो ।

घोडेपानीमा गुराँसपार्क
गण्डकी प्रदेश सरकारले विदेशी पर्यटकका लागि प्रदेशकै पर्यटकीय आकर्षणको महत्वपूर्णस्थल म्याग्दीको घोडेपानीमा गुराँस पार्क बनाउने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित प्राकृतिक सुन्दरताले विश्वभरी परिचित घोडेपानीमा गुराँसपार्क निर्माणका लागि बजेट विनियोजन गरेको गण्डकी प्रदेश सरकारले सोमबार सार्वजनिक गरेको बजेटमा उल्लेख छ । अन्नपूर्ण चक्रीय पदमार्गले समेटिएको घोडेपानीमा गुराँसको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ गुराँसपार्क बनाउन आवश्यक बजेट विनियोजन गरिएको जनाइएको छ । सोमबार आर्थिक वर्ष २०७७÷७८ को बजेट सार्वजनिक गर्दै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले घोडेपानीमा गुराँसपार्कका साथै पोखरामा विश्व शान्ति जैविक विविधता उद्यान, पञ्चासेमा सुनाखरी पार्क र भिमादमा वनस्पति तथा पक्षी उद्यानको लागि बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

विभिन्न प्रजातिका नौ थरिका गुराँसको फूल फुल्ने घोडेपानीमा लालीगुराँसको विशाल जङ्गल छ । आँखै अगाडि झलमल्ल हिमालका पङ्क्ति र चैत, वैशाखमा पाखैभरी ढकमक्क फुलेका लालीगुराँसले पर्यटकलाई लोभ्याउने गरेको घोडेपानीका होटल व्यवसायी तथा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या डमबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकारले घोडेपानीमा गुराँसपार्क बनाउने योजना ल्याएर निकै राम्रो काम गरेको छ । यसबाट प्रदेशमा पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने उहाँको विश्वास रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !