के हो त विज्ञान (Science) तथा प्रविधि (Technology) भनेको ? Nepalpatra के हो त विज्ञान (Science) तथा प्रविधि (Technology) भनेको ?
३ आश्विन २०७८, आइतबार

के हो त विज्ञान तथा प्रविधि भनेको ?


विज्ञान तथा प्रविधि

पृष्ठभूमि : आजको युग भनेको विज्ञान र प्रविधिको युग हो । मानिसले परापूर्वकालदेखि विज्ञान तथा प्रविधिको प्रयोग गरेको पाइन्छ । विज्ञान तथा प्रविधिलाई देशको विकास र समृद्धिको मेरूदण्ड मानिन्छ । यसको विकास बिना कुनै पनि राष्ट्रको प्रगतिलाई तीव्र पार्न सकिँदैन । विज्ञानले प्रविधिको विकासमा मद्दत गर्दछ भने स्तरीय प्रविधिले विज्ञान शिक्षालाई स्तरीय बनाउँछ ।

भनिन्छ, विज्ञान रूख हो भने प्रविधि त्यसमा फल्ने फल त्यसैले देशमा विज्ञानको विकास भयो भने मात्र देशभित्रै माटो सुहाउँदो आवश्यक प्रविधिको विकास गर्न सकिन्छ । विज्ञान तथा प्रविधिको विकासले विश्वभरी मानिसको जीवनमा आमूल परिवर्तन ल्याएको छ । संयुक्त राज्य अमेरिका विज्ञान तथा प्रविधिको विकासले नै संसारको सबैभन्दा शक्तिशाली राष्ट्र बन्न पुगेको हो ।

विज्ञान (Science)

कुनै विषय वा वस्तुको प्रयोग र अवलोकनमा आधारित क्रमिक अध्ययन ज्ञानलाई विज्ञान भनिन्छ । विज्ञान एक व्यवस्थित ज्ञान हो जसले ब्रह्माण्डका बारेमा परीक्षणयोग्य ब्याख्या र भविष्यवाणीहरूको ज्ञानलाई स्थापित र व्यवस्थित बनाउँछ । विज्ञान हाम्रो जीवनको लगभग हरेक पक्ष भाग हो । विज्ञान मनुष्य जातिको साझा सम्पदा हो ।

विज्ञान मानव सम्पदाको एक उल्लेखनीय उपलब्धि हो । सत्यको खोजी नै विज्ञानको प्रमुख लक्ष्य हो । विज्ञानले असाधारण कुरालाई सम्भव बनाउँछ । वास्तवमा भन्नुपर्दा विज्ञान शब्दको उपयोग प्रायः सधैं प्राकृतिक विज्ञानहरूको निम्ति गरिन्छ । यसमा भौतिकशास्त्र, रसायनशास्त्र र जीव विज्ञान पर्दछन । प्रकृति र बिज्ञान वीच गहिरो सम्वन्ध रहेको हुन्छ ।

विज्ञानमा बैज्ञानिकहरुले पहिला अवलोकन गर्छन । अनि त्यो किन कसरी भयो भनी प्रश्न गर्छन् । त्यसपछि परिकल्पना गर्न शुरु गर्छन् । त्यो परिकल्पना अनुसार धेरै पटक प्रयोग वा परीक्षण गरेपछि अन्त्यमा गएर बैज्ञानिक सिध्दान्त बन्छ । हाम्रो पूर्वीय दर्शनले कल्पना धेरै गर्‍यो, तर त्यसको परीक्षण गर्ने उपकरणको विकास गर्न सकेन । यद्यपी हामीसँग बेदहरु भएतापनि विज्ञानको उचित विकास हुन सकेन ।

जहाँ बिज्ञान हुन्छ, त्यही प्रकृति हुन्छ र जहाँ प्रकृति हुन्छ, त्यही प्रकृतिको नियम नै विज्ञानको रुपमा परिभाषित हुनपुग्छ । प्रकृति वा सृष्टिको नियम भनेको बिज्ञान वा मानिसले स्थापित गरेको अध्ययनको एक शास्त्र हो । विज्ञानले आफै नियम बनाउन सक्दैन तर यसले प्रकृतिको नियमलाई उजागर गर्दछ जुन नियमलाई विज्ञानले आफ्नै उपमा दिएको हुन्छ र यसलाई नै विज्ञानको नियमले चिनिन्छ । विज्ञानको सैद्धान्तिक र प्रयोगात्मक ज्ञानलाई व्यवहारमा लागू गर्न सकिएमा मात्र गरिबी न्युनीकरणमा सहयोग पुग्ने कुरा बैज्ञानिकहरु बताउछन् ।

प्रविधि (Technology)

भनिन्छ बिज्ञान एउटा अतृप्त आत्मा हो । मान्छे तृप्त भएको भए आविष्कारहरु हुने थिएनन। प्रविधि भनेको अतृप्त मनहरुले उब्जाएको आविष्कार हो । प्रविधि व्यावहारिक तथा औद्योगिक कलाहरू र प्रयुक्त विज्ञानसित सम्वन्धीत अध्ययन अथवा विज्ञानको समूह हो।आदिमकालदेखि नैं मानवले प्रविधिको प्रयोग गर्दै आएको थियो । आधुनिक सभ्यतालाई विकास गरी आजको स्थितिमा ल्याउन प्रविधिको सबैभन्दा ठूलो योगदान छ । जुन देशहरु प्राविधिक हिसावले शक्तिशाली छन् तिनीहरू नै सामरिक र आर्थिकले हिसावमा शक्तिशाली र अरुभन्दा सक्षम पनि छन् ।

आजको युग भनेको प्रविधिको युग हो । समयानुकूल प्रविधिको विकास तथा उपभोग गर्ने देशहरूको शैक्षिक लगायत आर्थिक तथा सामाजिक क्षेत्रमा पनि प्रगति भएको देखिन्छ । विकसित मुलुक र विकासशील राष्ट्रबीच प्रविधिको उपयोगको अवस्था ज्यादै भिन्न देखिन्छ । व्यवस्थापकीय प्रणालीमा सुधार ल्याउन, सक्षम तथा दक्ष जनशक्तिको उत्पादन गर्न, सूचना र सञ्चार प्रविधिमा पहुँच हुने र नहुने बीचको खाडल कम गर्न र निरन्तर तथा जीवनपर्यन्त सिकाइलाई प्रोत्साहन गर्न सूचना र प्रविधिको उपयोग हुनु जरुरी भएको छ । प्रविधिको उपयोगले विश्वलाई साँघुर्याउदै लगेर एउटा भूमण्डलीय ग्रामका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको देखिन्छ ।

नेपालमा विज्ञान तथा प्रविधिको दृष्टान्त

कुनै पनि देशको मुहार फेर्नको लागि विज्ञान तथा प्रविधिको विकासवाट मात्र सम्भव हुन्छ । विज्ञान तथा प्रविधि नेपाल र नेपालीको लागि “जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पको बीड” भनेको जस्तै भएको छ । विज्ञान तथा प्रविधिको विकास बिना देशको आर्थिक सम्बृद्धिको सोच राख्नु कोरा कल्पना मात्र हुन्छ ।

विज्ञान तथा प्रविधिको विकासले विश्वभरी मानिसको जीवनमा आमूल परिवर्तन ल्याएको छ । ‘राष्ट्र निर्माणको लागि बिज्ञान र प्रविधि’, ‘बिज्ञान प्रविधि र आविष्कार दिगो बिकाशको आधार’, ‘बिज्ञान प्रविधि  र आविष्कार सम्वृद्धिको आधार’, ‘विज्ञान र प्रविधि देशको समृद्घि’ यी धेरै नाराहरु लिएर तत्कालीन बिज्ञान तथा प्रविधि मन्त्रालय अघि बढेतापनि नेपालमा बिज्ञान तथा प्रविधि  क्षेत्रको विकास नारामा सिमित भयो ।

तर नेपालमा अझसम्म पनि विज्ञान तथा प्रविधिसग सम्वन्धित तत्कालिन विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले बैज्ञानिकको यथार्थ परिभाषा गर्न सकेका छैनन ।  बिश्वब्यापी रुपमा स्थापित बैज्ञानिकको सर्वमान्य परिभाषा अनुसार नेपालमा बैज्ञानिकलाई परिभाषित गर्न नसक्नु बिडम्वनाको कुरा हो ।

निष्कर्ष

धेरै बिकसित देशहरुमा त्यहाँको सरकारले विज्ञान र प्रविधिको क्षेत्रका अनुसन्धानकर्ताहरु, विज्ञहरु, बैज्ञानिकहरु, प्रोफेसरहरुसँग सल्लाह र सुझावहरु लिएर अघि बढ्ने गर्छ । विश्वका विकसित देशहरुको आर्थिक सम्वृद्धिको र सामाजिक रुपान्तरणको मुख्य इञ्जिन मानिने ‘अनुसन्धान र बिकास’ अवधारणाको महत्वलाई ह्रदयंगम गर्दै नेपालमा विज्ञान तथा प्रविधिको अधिकतम विकास गरी देशलाई आर्थिक सम्बृद्धितर्फ उन्मुख गराउनु टडकरो आवश्यकता देखिन्छ । हाम्रो देश नेपाललाई स्वावलम्वी बनाउँने आफ्नो माटोलाई सुहाउँदो प्रविधिको विकास गर्नु जरुरी छ ।

अन्त्यमा, दुई तिहाई बहुमतको शक्तिशाली कम्युनिष्ट सरकारले बिज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा मन्त्रालयमा गाभेर बिज्ञानको विकासको परिकल्पना गर्नु र बिज्ञानको व्यापक रुपमा अनुसन्धान गर्ने वातावरण सिर्जना भई अन्तर्राष्ट्रिय स्तरका बैज्ञानिक नेपालमा बन्लान भन्ने सोच्नु वर्तमान अवस्थामा कोरा कल्पना मात्र हुने देखिन्छ ।

यो बिषयमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण हुन् जरुरी छ । नेपालमा बिज्ञान तथा प्रविधिको विकास गर्न शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयवाट छुट्याई स्वतन्त्र रुपमा विज्ञान तथा प्रविधि मन्त्रालय बनाएमा मात्र बिज्ञान तथा प्रविधिको विकास हुन सक्ने देखिन्छ ।  विज्ञान तथा प्रविधिलाई अधिकतम उपयोग गरी मुलुकलाई विकास र आर्थिक समृद्धिको मार्गमा अघि बढाउनैपर्छ ।

*गोपाल भण्डारी नेपालपत्रका प्रधान-सम्पादक हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

देशको आर्थिक सम्वृद्धिका लागि सरकारले अनुसन्धान तथा विकासमा बजेट छुट्याउनुपर्छ – प्रा. डा. नन्द बहादुर सिंह


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
ताजा