DNA (डीएनए) को पुरा रुप Deoxyribonucleic Acid (डीअक्सीराइबोन्यूक्लिक एसिड) भनेको सबै जीवहरु र बनस्पतिहरु तथा धेरै भाइरसहरुको वंशाणुगत गुण बोक्ने बिशिष्ट प्रकारको न्युक्लिक एसिड अणु हो जसमा वृद्धि, विकास, मर्मत, सुधार, प्रजनन लगायतका थुप्रै सांकेतिक बंशानुगत बिवरणहरु संग्रहित हुन्छन । शरीरको संरचना बनाउन यसले महत्त्वपूर्ण भूमिका खेल्नुका साथै हाम्रो शरीरका अंग-प्रत्यंग आँखा, छाला, कपाल आदिको रंग, आकार, तौलको निर्धारण पनि यसैले गर्छ । बाबु, आमाबाट छोराछोरीमा पनि डीएनएकै माध्यमबाट गुणहरू सर्छन् । डीएनए कोषको न्युक्लियसमा रहेको हुन्छ, तर सानो मात्रामा यो माईट्रोकोन्डृयामा पनि पाउन सकिन्छ । डिएनए नाइट्रोजन बेस, फस्फेट र सुगर मिलेर बनेको हुन्छ । यसमा adenine, guanine, cytosine and thymine अणुहरू डोरीको केही बेरिएको भर्याङजस्तै संरचनामा बसेका हुन्छन् । एकातिरको adenine र अर्कातिरको thymine जोडिएको हुन्छ भने एकातिरको guanine र अर्कातिरको cytosine जोडिएको हुन्छ ।
रासायनिक डीएनए पहिला सन् १८६९ मै पत्ता लागेतापनि सन् १९४३ सम्म यसको वंशाणुगत गुणमा हुने भूमिकाको बारेमा पुरा जानकारी प्रदर्शन गरिएको थिएन । सन् १९५३ मा जेम्स वाटसन र फ्रान्सिस क्रिक्क नामका वैज्ञानिकहरुले डीएनएको संरचना घुमाउरो भर्र्याङको आकारको डबल-हेलिक्स हुन्छ भनेर निर्धारिण गरे । लामो अनुसन्धानपछि अहिले यसको व्यावहारिक उपयोगिता डीएनए परिक्षण (DNA Test) निकै प्रचलित पनि हुँदै गएको छ। हालैका दशकमा डीएनए जाँच गर्ने प्रविधिमा उल्लेखनीय प्रगति भएको छ र यस किसिमको परीक्षण थुप्रै किसिमका समस्या सुल्झाउन प्रयोग गर्न सकिन्छ ।
यसले कसरी काम गर्छ ?
मानव शरीरमा असंख्य कोष हुन्छन् । प्रत्येक मानिसमा ४६ वटा क्रोमोजोम हुन्छन् । यौनसम्पर्कपछि २३ वटा पुरुष र २३ वटा महिलाको क्रोमोजोम एकै ठाउँमा मिसिन्छ । ती क्रोमोजोमहरु कोषभित्र न्युक्लियसमा हुन्छन् । क्रोमोजोम्स प्रोटिन र डीएनएको एउटा अणुवाट बनेको हुन्छ । एउटा मानिसमा भएका ४६ वटा क्रोमोजोमहरु २३ जोडामा गाँसिएर बसेका हुन्छन् । महिलामा एक्स-एक्स र पुरुषमा एक्स-वाईका रूपमा जोडाहरू बसेका हुन्छन् । कसैबाट जन्मिएको शिशुमा यो प्याटर्न आमा, बुबासँग ठ्याक्क मिले उनीहरूबाटै जन्मिएको हो भन्ने प्रमाणित हुन्छ ।
नेपालमा डीएनएको इतिहास
नेपालमा सन् २००५ मा डीएनए प्रविधि भित्रिएको हो । यसअघि रगतको समूहका आधारमा डीएनए परीक्षण गर्ने चलन त्यति विश्वसनीय थिएन । अर्को कुरा, कसको शिशु हो भन्ने विवाद मिलाउन अदालतले शिशुको आमाले दिएको बयानका आधारमा फैसला गरिन्थ्यो । आमाले झूटो बोल्दैनन् भन्ने मान्यता अदालतले अँगालेको थियो । सबै आमाले सही बोल्छन् भन्न सकिँदैन। कतिपय अवस्थामा त्यो कुरा लागू नहुन सक्छ । साँचो, झूटो छुट्याउने बलियो आधार डीएनए परीक्षण नै हो ।
रगतको समूहका आधारमा गरिएको परीक्षण अविश्वसनीय हुन सक्छ, अमान्य हुन सक्छ । एउटा काठमाडौंकै स्मरणीय घटनामा केहि वर्षअघि एक जोडी अदालतमा पुगे । महिलाले आफूबाट जन्मिएको शिशु यही पुरुषको हो भनेर दाबी गरिन्, तर पुरुषले अस्वीकार गरे । उनीहरू बीच चर्काचर्की नै पर्यो । अदालतले महिलाका पक्षमा फैसला गर्यो । विधि विज्ञान प्रयोगशालाले रगतको समूहका आधारमा गरिएको डीएनए परीक्षणपश्चात् महिलाकै पक्षमा प्रतिवेदन पठायो । अदालत र विधि विज्ञान प्रयोगशालाले महिलाकै पक्षमा समर्थन गरेपश्चात् ती पुरुषले आत्महत्या गरे । जुन कुराले विधि विज्ञान प्रयोगशालाका धेरैजसो प्राविधिकलाई दुःखी तुल्यायो । उनीहरूले यस्तो होला भन्ने सोचेका पनि थिएनन् अनि डीएनए प्रविधिको टड्कारो आवश्यकता महसुस गरियो । विधि विज्ञान प्रयोगशालाका प्राविधिकहरूको पाँच वर्षको अथक प्रयास एवं विज्ञान मन्त्रालयको सहयोगले सन् २००५ मा नेपालमै डीएनए परीक्षण गर्ने सपना साकार भयो । शुरुमा सरकारले ९० लाख रुपैयाँ सहयोग गर्यो । त्यति बेला बेलायतको एप्लाइड वाय सिस्टम कम्पनीबाट उपकरण खरिद गरिएको थियो । अब चाँडै नै हड्डीबाट पनि डीएनए परीक्षण गर्ने काम शुरु हुँदैछ । त्यसका लागि उपकरण पनि भित्रिसकेको छ ।
अपराध अनुसन्धान तथा न्याय सम्पादनमा भौतिक सवूत प्रमाणको वैज्ञानिक परीक्षणको महत्वलाई हृदयङ्गम गरी वि.सं. २०४० सालमा उच्चस्तरीय न्यायिक सुधार आयेगबाट एक स्वतन्त्र एवं स्वासित संस्थाको रुपमा विधि विज्ञान प्रयोगशाला स्थापना गर्न सिफारिस भएको थियो । यसै सन्दर्भमा वि.सं. २०४३ सालमा कानुन मन्त्रालयको प्राथमिकता प्राप्त ५ बर्षे आयोजना अन्तर्गत नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) अन्तर्गत यस प्रयोगशालाको स्थापना भएको थियो । वि.सं. २०५२ सालमा नेपाल सरकारले राष्ट्रिय विधि विज्ञान प्रयोगशला विकास समिति गठन आदेश, २०५२ जारी गरी तत्कालिन कानून तथा न्याय मन्त्रालय अन्तर्गत रहने गरी ब्यवस्था गरेको थियो । त्यसपछि वि. सं. २०५७ सालमा नेपाल सरकारले राष्ट्रिय विधि विज्ञान प्रयोगशला विकास समिति गठन आदेश, २०५७ जारी गरी हाल यो प्रयोगशाला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत ललितपुरको खुमलटार संचालन भइरहेको छ । यो प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको सुबिधासम्पन्न अत्याधुनिक मापदण्डको भवन बनाउन चाहिने जग्गा, उपकरणहरु र बजेटको अभाव भएको कुरा सम्वन्धीत निकायका अधिकारीहरु बताउछन् ।
(राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारको सहयोगमा)
*गोपाल भण्डारी नेपालपत्रका प्रधान-सम्पादक हुनुहुन्छ ।
यो पनि पढ्नुहोस्