८ जेष्ठ २०८१, मंगलबार

भारतद्वारा चन्द्रमाका लागि चन्द्रयान-३ प्रक्षेपण


चन्द्रयान-३

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले आज शुक्रबार चन्द्रयान-३ प्रक्षेपण गरेको छ । आज स्थानीय समयअनुसार २ बजेर ३५ मिनेट जाँदा चन्द्रयान–३ प्रक्षेपण गरिएको हो ।

यो प्रक्षेपण आन्ध्र प्रदेशको सतिस धवन स्पेश सेन्टर, श्रीहरिकोटा स्पेसपोर्टबाट गरिएको हो । चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण भएमा भारत अमेरिका, रुस र चीनपछिको चन्द्रमा रकेट अवतरण गर्ने विश्वको चौथो देश हुनेछ ।

पृथ्वीबाट चन्द्रमाको दूरी ३ लाख ८४ हजार ४ सय किलोमिटर छ । यो पार गर्न चन्द्रयान–३ लाई ४६ देखि ४८ दिन लाग्नेछ । चन्द्रमामा यानले अवतरण गर्ने दिन अगस्ट २३ हुन सक्ने अनुमान गरिएको छ ।

यानको कुल भार ३९०० किलोग्रामको छ । चन्द्रयान ३ मिसनको कूल बजेट करिब ६अर्ब १५ करोड भारु रहेको छ । इसरोले यो मिसनका तीनवटा अहम लक्ष्य बताएको छ ।

यसअघि ७ सेप्टेम्बर २०१९ मा भारतको दोस्रो चन्द्र अभियान चन्द्रयान–२ ले चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ असफल भएको थियो । यो चन्द्रमाको सतहको दक्षिणी ध्रुव नजिकै अवतरण गर्नु पर्ने थियो तर चन्द्रमाको सतहमा अवतरण गर्न लाग्दा ल्यान्डर विक्रमसँगको सम्पर्क टुटेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !