१२ बैशाख २०८१, बुधबार

५८० वर्षयताकै सबैभन्दा लामो अवधिको चन्द्र ग्रहण आज लाग्दै


चन्द्रग्रहण

काठमाडौँ । आज मंसिर ३ गते सन् २०२१ को अन्तिम चन्द्रग्रहण लाग्दै छ । पछिल्लो ५८० वर्षमा पहिलो पटक सबैभन्दा लामो अवधिसम्म आज चन्द्रग्रहण लाग्नेछ । यो चन्द्र ग्रहण शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण हो ।

यो चन्द्रग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेन्ड लामो हुनेछ । यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । दिउँसो करिब साढे १ बजे यो ग्रहण उच्च बिन्दुमा पुग्नेछ । यो ५ सय ८० वर्ष यताकै सबैभन्दा लामो अवधिको चन्द्रग्रहण हुनेछ ।

यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको थियो । यति लामो चन्द्र ग्रहण अब ८ फेब्रुअरी २६६९ मा मात्र लाग्नेछ । एसिया, अमेरिका, उत्तरी युरोप, अस्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिने यो ग्रहण दिउँसो १ बजेर ३ मिनेटबाट दिउँसो ४ बजेर ३२ मिनेटसम्म रहनेछ ।

ज्योतिषशास्त्रमा चन्द्रग्रहणलाई निकै महत्त्वपूर्ण मानिन्छ । ज्योतिषशास्त्रका अनुसार जुन पूर्णिमा तिथीका दिन राहु अथवा केतुमा एक ग्रह चन्द्रमाको साथमा एकै राशिमा पर्न आउँछन् त्यस दिन चन्द्रग्रहण हुन्छ । धर्मशास्त्र अनुसार राहु र केतुले चन्द्रमालाई समाउँदा चन्द्रग्रहण लाग्ने गर्दछ ।

खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ । चन्द्रग्रहण भनेको पृथ्वीको छायाँ चन्द्रमामा पर्नु हो । चन्द्रग्रहण पूर्णिमाको दिनमा मात्र लाग्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !