६ बैशाख २०८१, बिहिबार

निधारमै दशैंको टीका किन लगाइन्छ ? यस्तो छ वैज्ञानिक कारण


राष्ट्रपति भण्डारीद्वारा बडादशैंको टीका ग्रहण फाइल फोटो

दशैंको टीका निधारमै किन लगाइन्छ ? यसका धेरै कारणहरु छन् । दशैंको टीका निधारमै लगाउने कारणहरुमध्ये सौन्दर्यको पक्षका साथै यसभित्र लुकेका धार्मिक, आध्यात्मिक र वैज्ञानिक कारण पनि रहेका छन् ।

हिन्दू धर्म मान्ने व्यक्तिले निधारमा टीका (तिलक) वा चन्दन लगाउनु आम विषय नै हो । विहान पूजा गरिसकेपछि निधारमा केशर, चन्दन र भस्म लगाउने गरिन्छ । टीका निधारको बीच भागमा लगाइन्छ । तिलक लगाउने चलन प्राचीनकालदेखि चलिआएको मानिन्छ । यात्रा मंगलमय होस् भनेर घरबाहिर निस्कने मानिसलाई पनि चन्दन लगाइन्छ ।

दशैंको टीका हिन्दुहरुले सदियौदेखि लगाउने चलन चल्दै आएको एउटा मुख्य पूर्वीय सभ्यताको एउटा प्रतिक हो । दशैंमा ब्राम्हण क्षत्रीहरु रातो अक्षता निधारमा लगाउँछन् । दशैंमा लगाइने टिकाको शुद्ध रुप चाहिँ गाईको दुधको दही, चिनी, जिठोको रातो रंगमा मिश्रण गरिएको अक्षता हो ।

दशैंमा अक्षता लगाउने चलनका पछाडि आशिष लुकेको छ । चामलको अक्षताजस्तै जीवन पुष्ट र पूर्ण होस् भन्ने कामना यसमा निहित छ । यही कारण दसैंमा टुक्रिएको आधा चामल प्रयोग गरिदैन ।

दहीमा चामल मुछेर लगाइने टिकालाई अक्षता भनिन्छ । यस्तो टिका जुन लगाउँदा व्यक्ति अक्षय हुने भएकाले चामलको टिकालाई अक्षता भनिएको हो । अक्षता लगाउँदा नकारात्मकता अर्थात नेगेटिभ इनर्जी पर भाग्छ र त्यसले कुनै क्षय गर्न पाउँदैन, सकारात्मक उर्जा मात्र ल्याउँछ र मानिसको प्रगति हुन्छ ।

निधारमा टिका लगाउँदा कुनै पनि काममा ध्यान केन्द्रित हुनसक्छ । टिका लगाउदा दिनभरी काममा मन लाग्ने विश्वास गरिन्छ । अक्षताले नकारात्मक उर्जालाई धपाउने भएकाले चामल छर्किने पनि चलन छ ।

टीका लगाउनुको धार्मिक मात्र नभएर वैज्ञानिक कारण पनि छ । हाम्रो शरीरमा सात चक्र हुन्छन् । मलद्वार वरिपरीको भागमा मुलाधार चक्र हुन्छ । गुप्ताङ आसपास स्वाधिष्ठान चक्र अवस्थित छ । नाभी केन्द्रमा मणिपुर चक्र छ । मुटुनेर हृदयचक्र छ । घाँटी विशुद्धी चक्र हो । त्यसभन्दा माथि निधारमा आज्ञाचक्र छ भने त्योभन्दा माथि सहस्त्रार चक्र छ, जहाँबाट मानिसको उर्जा सोझै ‘सुपर नेचुरल पावर’सँग जोडिन्छ ।

खासमा हाम्रो शरीरमा सातवटा सूक्ष्म ऊर्जा केन्द्रहरूमध्ये एक आज्ञाचक्र हो । यो निधारको ठीक बीचमा अवस्थित हुन्छ । यो आज्ञाचक्रमा शरीरका तीन प्रमुख नाडीहरू इडा, पिंगला र सुषुम्ना आएर मिल्छन् । त्यसैले यसलाई त्रिवेणी पनि भनिन्छ ।

अक्षता प्रायः हाम्रो निधारको विचमा लगाइन्छ । दुबै आँखाको विचको भाग अर्थात आज्ञा चक्रमा टिका लगाउने गरिन्छ । आज्ञा चक्रमा टिका लगाउँदा मानिसमा आध्यात्मिक जागरण हुन्छ भन्ने विश्वास छ ।

आज्ञाचक्रलाई शरीरको सबभन्दा पूजनीय स्थान मानिन्छ । यसलाई गुरुस्थान भनिन्छ किनकि यहीँबाट पूरा शरीर सञ्चालन हुन्छ र यो हाम्रो चेतनाको मुख्य स्थान पनि हो । ध्यान लगाउँदा पनि यही ठाउँमा मन एकाग्र गरिन्छ ।

साधारणतया यही ठाउँमा चन्दन लगाइन्छ । चन्दनको गुण नै शीतल हो । त्यसैले चन्दन लगाउँदा मस्तिष्कमा शान्ति र शीतलता प्राप्त हुन्छ । दिमागमा जोड परेर टाउको दुख्न थाल्दा चन्दन लगाउनुस् । बिहान उठेर नुहाउनेबित्तिकै निधारमा चन्दन लगाउने व्यक्तिलाई टाउको दुख्ने सम स्या हुँदैन ।

पशुपंक्षी र आम मानिसको उर्जा प्रायः मुलाधारदेखि मणिपुर चक्रमै सिमित छ । आहार, निद्रा, भय र मैथुन रुपी नैसर्गिक स्वभावमै लिप्त पशु तथा मानवको उर्जा यदि हृदय चक्र हुँदै आज्ञा चक्रसम्म उध्र्वगमन गराउन सकियो भने समग्र ब्रम्हाण्डको उर्जा उसमा समाहित हुनसक्छ ।

ध्यानी, योगी र साधकहरु यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा र ध्यानको साधनाबाट आफ्नो आज्ञा चक्र जागृत गराउँछन्, जसलाई तेश्रो नेत्र खुल्ने पनि भनिन्छ । आज्ञा चक्रलाई गुरु चक्र पनि भनिन्छ । यही नै मानव शरीरको केन्द्र हो । आज्ञा चक्रमा होस साध्ने हो भने त्यसबाटै मानिस एकाग्र र ज्ञानबाट भरिपूर्ण हुनसक्छ ।

गुरुचक्रलाई बृहस्पति ग्रहको पनि केन्द्र मानिन्छ । बृहस्पति सबै देवताका गुरु भएकाले आज्ञा चक्र अर्थात गुरु चक्र जागृत हुँदा बृहस्पति पनि अनुकुल हुन्छन् भन्ने मान्यता छ । सदा गुरु चक्रको स्मरण भइरहोस् र ज्ञानको मार्गमा लाग्न प्रेरणा मिलिरहोस् भनेर नै निधारमा टिका लगाउने गरिएको हो ।

मानिसमा दुइ आँखा हुन्छन् । तर, सुक्ष्म रुपमा तेश्रो आँखा पनि हुन्छ भन्ने साधकहरुको विश्वास छ । तेश्रो नेत्र भएको भागमा टिका लगाउँदा त्यो जागृत भइ मानिसले दिव्य शक्ति प्राप्त गर्ने मान्यता पनि छ ।

दशैंमा दाहिने हातका पांचै औंलाले टिपेर अक्षता लगाइदिने गरिन्छ । मुद्रा विज्ञान अनुसार मानिसका पाँच औंला भनेका प्रकृतीका पंच तत्व हुन् । मानिसको शरीर पृथ्वी, जल, तेज, बायु र आकाशबाटै बनेकाले यी पांचै तत्वको प्रतिनिधित्व गर्ने पाँच औंला जोडेर अक्षता लगाइदिदा आज्ञा चक्र झँकृत हुन्छ । आशिष रुपी मन्त्रले त्यसमा हथौडा प्रहार गर्छ । अनि व्यक्तिको तेश्रो नेत्र खुल्नसक्छ ।

आज्ञा चक्र भनेको मान्छे र दैवी चेतनाविचको सेतु या द्वार हो । मान्यजनले दसैंको टिका लगाउँदा दिने आशिषसँगै धन, बुद्धी, यश, स्वास्थ्य, सुख, सम्पन्नता सबै पाउन ‘तेश्रो नेत्र खुलोस्’ भन्ने अव्यक्त भाव पनि जोडिएको हुन्छ । अक्षता लगाउँदा निधार चिसो हुन्छ, त्यसले आज्ञा चक्रमा एकखालको एक्कुप्रेशर गर्छ । टिका थाप्नेको सम्पूर्ण ध्यान त्योबेला आज्ञा चक्रमै केन्द्रित हुन्छ ।

यसरी ध्यान केन्द्रित हुँदा मानिसको उर्जा पनि त्यही पुग्छ । जब आज्ञा चक्रमामा उर्जा उध्र्वगमन हुन्छ, तब मानिस दिव्य उल्लास र आनन्द भावमा रमाउँछ । यो आनन्द भावलाई पकडेर नियमित रुपमा आज्ञा चक्रमै ध्यान केन्द्रित गर्ने चेत खुल्यो भने मानिस ध्यान र ज्ञान मार्गतर्फ अग्रसर हुन्छ । भौतिकताबाट आध्यात्मिकताको यात्रा प्रारम्भ हुन्छ ।

अनि निधारमा दशैंमा अक्षता लगाइन्छ । यसरी तिलकमा चामल मिसाएर लगाउँदा देवी प्रसन्न हुनुहुने मान्यता छ । महिलाहरूले थाप्लोमा सिन्दूर लगाउनुका पछाडि पनि एक कारण छ । खासमा रातो रंग ऊर्जा र स्फुर्तिको प्रतीक हो । यसरी तिलक लगाउँदा महिलाको सौन्दर्य बढ्छ ।

निधारमा लगाइने दशैंको टिकाको यति गहन महत्व ऋषिमुनी र हाम्रा अग्रजहरुले धेरै वर्ष पहिले बुझीसकेका थिए । सोही कारण शुभ कार्यमा टिका लगाउने प्रचलन रहँदै आयो । निधारमै टिका लगाउने भनेको मानिसलाई आध्यात्मिक यात्रातर्फ अग्रसर गराउने प्रभावकारी सेतु हो । यही कारण तिलक लगाइन्छ, टिका लगाइन्छ । (सरल पत्रिकासहित विभिन्न पत्रपत्रिका र अनलाइनको सहयोगमा तयार गरिएको लेख)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !