८ बैशाख २०८१, शनिबार

यस्तो छ कुशे औँसी पर्वभित्र लुकेको वैज्ञानिक पक्ष


कुशे औँसी

वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर मनाउँदैछन् ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ । आजका दिन घर–घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ । अव कुशे औँसीभित्र लुकेको वैज्ञानिक पक्षवारे चर्चा गरौ ।

नेपालको तराईदेखि पहाडसम्म सहजै पाइने वनस्पति कुशको जराबाट बिभिन्न प्रकारका औषधीहरु पनि बनाइन्छ । एउटा वैज्ञानिक प्रयोगका क्रममा एकमुठ्ठि कुशलाई बिकिरणहरु माझमा राख्दा कुशले सम्पूर्ण बिकिरणहरुलाई आफूबाट परिवर्तित गरेको पाइयो । यस प्रकारले सनातन संस्कारमा कुशको सदासर्वदा प्रयोगले प्राचीन विज्ञानको अभिलेख र प्रभावकारी व्यबहारीक जीवनशैली प्रस्तुत गरेको छ ।

जप, ध्यान, पूजा, हवन र श्रद्धा गर्दा पृथ्वीको गुरुत्वाकर्षणले मानवदेहलाई प्रभाव पार्न नसकोस, रोग फैलाउने भाइरसहरु निस्क्रिय होउन् भनेर कुशको प्रयोग गरिएको हो । ग्रहण लागेको समयमा दही, दूध, अन्न, पानी तथा अन्य खाद्य वस्तुहरुमा कुश राखिदिदिएमा ग्रहणकालमा निस्किएका अशुद्ध विकिरणको दुष्प्रभाव पर्दैन । कुण्डलीमा राहुको महादशा चल्दा पानीमा कुशको प्रयोग गरेर स्नान गर्दा यसको नकरात्मक असर कम हुने धार्मिक शास्त्रमा उल्लेख छ ।

वैज्ञानिक रुपमै सिद्ध यस अदभूत् कुशबाट बनेका औंठीहरु र अन्य सांस्कृतिक प्रयोगगर्न सबैलाई प्रोत्साहित गर्दछ । दाहिने हातको औंलामा कुशलाई औंठीका रुपमा प्रयोग गर्दा वातावरणमा भएका गतल तरङ्ग र विकिरणहरुलाई निस्तेज गर्ने विश्वाश र विज्ञानतः प्रमाणित सिद्धान्तहरुले स्पष्ट पार्छन् ।

कुशको उपयोगबाट कैंयन किसिमका सकारात्मक ऊर्जाहरु हामीले प्राप्त गर्दछौं । यस्तो मान्यता छ की जब हामी कुशको आसनमाथी बसेर पूजा-पाठ, अनुष्ठान तथा ध्यान गर्दछौं त्यस बखत हाम्रो शरीरबाट लगातार सकारात्मक ऊर्जा निस्किरहन्छ । यस्तोमा उक्त ऊर्जा कुश भएको कारण खुट्टाको माध्यमबाट जमीनसम्म पुग्न पाउँदैन ।

कुशको औंठीलाई साईंली औंलामा पहिरिनु पछाडी पनि यसको आध्यात्मिक महत्व छ । धार्मिक अनुष्ठानहरुमा कुशको औंठीलाई हातको तेस्रो अर्थात् साईंली औंलामा पहिरिने गरिन्छ । जसलाई अनामिका औंला पनि भन्ने गरिन्छ । धार्मिक शास्त्रमा अनामिका औंलालाई सूर्यको औंला मानिन्छ । सूर्यबाट हामीलाई तेज तथा यशको प्राप्ती हुन्छ । ज्योतिष शास्त्रमा सूर्यलाई तेज तथा यशको प्रतीक मानिएको छ, यस्तोमा यसबाट प्राप्त हुने ऊर्जा धरतीमा जान पाउँदैन ।

वैज्ञानिक दृष्टिकोणले पनि कुशको महत्व अधिक रहेको वनस्पतिविद्हरू बताउँछन् । वैज्ञानिक आधारमा भन्दा कुश एक किसिमको कुचालक घाँस भएकोले यसबाट विद्युत प्रवाह नहुने हुनाले चन्द्र तथा सूर्य ग्रहणको समयमा खाना तथा पानीमा कुश मिसाउने गरिन्छ । जसले गर्दा ग्रहणको समयमा आएको हानिकारक किरण कुशमा ठोकिएर परावर्तन हुने गर्छ भन्ने वैज्ञानिक मान्यता रहेको छ ।

ध्यान या पवित्र कर्म गर्दा कुशको चकटीमा बस्ने गरिन्छ । यसको अर्थ पनि कुचालक कुशको आसनमा बस्दा ध्यान र तपबाट पाएको ऊर्जा पृथ्वीमा गएर समाहित नहोस् भन्नको लागि कुशको आसनमा बस्ने गरिन्छ ।

वैदिक सनातन हिन्दू धर्ममा हरेक कुराको पछाडी वैज्ञानिक तथ्य अवश्य रहेको हुन्छ । पूजा-पाठ तथा धार्मिक अनुष्ठानहरुमा कुश घासको प्रयोगको पछाडी पनि वैज्ञानिक कारण छ । खासगरी यस कुश घासमा एक किसिमको प्राकृतिक प्यूरिफिकेशनको गुण रहेको छ । यसको उपयोग वस्तुहरुलाई शुद्ध गर्ने ओखतीको रूपमा पनि गर्ने गरिएको छ । अध्ययन अनुसार कुशमा एन्टी ओबेसिटी, एन्टी अक्सीडेन्ट तथा एनालजेसिक कन्टेन्ट रहेको हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !