१ मंसिर २०८१, शनिबार

अन्तरिक्ष (Space) भनेको के हो ?


अन्तरिक्ष
Gopal Bhandari
गोपाल भण्डारी

अन्तरिक्षलाई रोचक बिषयमा रुपमा लिने गरिन्छ । असंख्य तारामण्डल तथा ग्रहहरु, ब्ल्याक होल र उल्का बर्षा जस्ता अन्तरिक्ष घटनाहरु मानिसका लागि रोचक बिषयका रुपमा रहेका छन् । अन्तरिक्षमा कसैले कानैमा आएर चिच्चायो भने पनि सुनिदैन किनभने त्यहाँ हावा हुँदैन । केवल त्यहाँ शून्य (Vacuum) हुन्छ । शून्यमा ध्वनी तरङ्ग हिँड्न सक्दैन ।

विज्ञान अहिले पृथ्वी बाहिरको अन्तरिक्ष र आफ्नै समस्यामा भौतारी रहेछ। पृथ्वीको वायुमण्डल भन्दा बाहिर आकाशमण्डलको सम्पूर्ण भागलाई अन्तरिक्ष भनिन्छ । अन्तरिक्षमा आवतजावत गर्ने यानलाई अन्तरिक्ष यान तथा यात्रुलाई अन्तरिक्ष यात्री भनिन्छ। पृथ्वीको सतहभन्दा १०० कि.मी. माथिबाट अन्तरिक्ष शुरु हुन्छ, जहाँबाट पृथ्वीलाई ढाकेको वायुमण्डलको तह सकिन्छ ।

सामान्यतया अन्तरिक्षलाई पूर्ण खाली अर्थात् शून्य मानिन्छ । तर, यो सत्य होइन । तारा र ग्रहहरू बीचको विशाल खुला ठाउँमा पातलोसँग फिजिएको ग्याँस र धुलोको कण हुन्छ । अन्तरिक्षको सबैभन्दा खुला ठाउँमा पनि प्रति घनमिटर केही सय परमाणु र अणु पाइन्छ । त्यति मात्रै नभएर  अन्तरिक्षयात्रीको जीवनलाई खतरामा पार्ने हानीकारक विकिरणहरू पनि त्यहाँ हुन्छ ।

धेरै टाढाटाढाका तारामण्डलबाट निस्केको उच्च ऊर्जायुक्त किरणहरू जस्तै–एक्सरे, गामारे र कस्मिक रेहरूले पनि अन्तरिक्ष भरिएको हुन्छ । पुष्ट्याँई नभएपनि अन्तरिक्ष अनुसन्धान र खोजीमा संलग्न राष्ट्र तथा त्यहाँका अनुसन्धानकर्ताहरु पृथ्वीभन्दा अर्को पनि विकसित ग्रह छ र त्यहाँ मानिसभन्दा विकसित जीवहरु छन् भन्ने कुरामा अघोषित विश्वास राख्दछन्।

अन्तरिक्ष यात्रामा सहभागी भई सकेका वैज्ञानिकहरुले त उडानका क्रममा कहिल्यै नदेखिएका सिलिन्डर जस्ता वस्तुहरु देखेको बताएका छन् । वैज्ञानिकहरुले अन्तरिक्ष जीवहरुले पृथ्वीमा नियमित रुपमा चियाई रहेको जस्तो भान हुने गरेको रोमाञ्चक अनुभूति सुनाउँछन् । अन्तरिक्ष यात्रालाई निकै चुनौतीपुर्ण र खर्चिलो मानिन्छ । अन्तरिक्ष यात्रा विशेषगरी वैज्ञानिक खोजका लागि केन्द्रीत हुँदै आएको छ । तर पनि यस प्रकारका खोजमुलक घटनाहरुको आलोचना पनि हुँदै  आएको छ ।

विश्वमा हाल मानिस सहितको अन्तरिक्ष यानलाई पृथ्वीको कक्ष बाहिर पुर्याउने क्षमता रुस, अमेरिका र चीनसंग मात्रै छ । पछिल्लो समय अन्तरिक्ष अभियानमा नेपालका दुई छिमेकी चीन र भारत प्रतिस्पर्धात्मक रुपमा देखिएका छन् । दुवै देशले यस क्षेत्रमा ठूलो रकम खर्चंदै आएका छन् । यसरी हालसम्म पृथ्वीको कक्ष बाहिर अन्तरिक्ष यान पुर्याउन विश्वका ११ वटा मुलुक सक्षम भएको तथ्यांक रहेको छ । अग्ला हिमश्रृङ्खलाका कारण अन्तरिक्षबाट हेर्दा पृथ्वीको मानचित्रमा अन्य धेरै ठाउँ जस्तै सजिलै देखिने नेपाल पनि एक हो । मानव सिर्जित भौगोलिक सीमा नदेखिए पनि नेपाल कहाँ पर्छ भनेर खोज्ने हो भने यहाँका हिमालहरु स्पष्ट देखिने अन्तरिक्ष यात्रीहरुले बताएका छन् ।

*गोपाल भण्डारी नेपालपत्रका प्रधान-सम्पादक हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

खगोल बिज्ञान र नेपालमा यसको अवस्था


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !