हाम्रो ब्रह्माण्डमा भएको प्रत्येक वस्तुको शुरु र अन्त्य वा जन्म र मृत्यु आवश्यक हुन्छ । सूर्य लगायत अन्तरिक्षका सम्पूर्ण ताराहरुको पनि जन्म र मृत्यु हुन्छ । ताराको जीवनकालको अन्त्य तीरको अवस्थालाई न्यूट्रोन स्टार भनिन्छ । ताराहरु नियमित रुपमा चम्कनुमा त्यसभित्र इन्धनको रुपमा रहेको हाइड्रोजन परमाणुहरु नाभिकीय प्रक्रियाबाट हिलियस परमाणुमा रुपान्तरण हुँदा निस्कने बिशाल मात्राको ऊर्जाले काम गरेको हुन्छ । सूर्यभन्दा १.४ देखि ३ गुणा बढी पिण्ड भएको ताराहरुमा इन्धन वा हाईड्रोजन परमाणुहरुको मात्रा सकिदा हिलियम परमाणुहरुबाट बनेको पदार्थ ताराको केन्द्रतिर तानिन्छ । परिणामस्वरुप तारा आफैभित्र भासिन जानाले अत्यन्तै बढी घनत्व भएको सानो आकारको तारालाई न्यूट्रोन स्टार भन्ने गरिन्छ । जसको व्यास करिव २० किमीको हुन्छ ।
पृथ्वीको व्यास भूमध्यरेखीय क्षेत्रमा ६ हजार ३ सय ७८ किमी भएकोले गर्दा यो तारा पृथ्वीको तुलनामा निकै सानो छ । तर यसको गुरुत्वाकर्षण शक्ति भने पृथ्वीको भन्दा २ अर्व गुणा बढी छ । यसको यति धेरै गुरुत्वाकर्षण शक्ति हुनुको कारण यो असामान्य घनत्व भएको कारणले गर्दा नै हो । अलि नै बढी गुरुत्वाकर्षण भएकोले न्यूट्रोन स्टारमा रहेका परमाणुहरुमा प्रोटोन तथा इलेक्ट्रोनहरु एकै ठाउँमा खाँदिन पुग्छन् । इलेक्ट्रोनको विद्युतीय चार्ज ऋणात्मक र प्रोटोनको चार्ज धनात्मक हुन्छ । ती एकै ठाँउमा खादिदा एकले अर्काको कणहरु चार्ज नहुने न्यूट्रोन कणहरुमा बदलिन्छन् । यसरी बनेका ताराहरुमा न्यूट्रोन कण मात्र हुन्छ तर इलेक्ट्रोन र प्रोटोन हुदैन । त्यसैले यो ताराको नाम न्यूट्रोन स्टार राखिएको हो । यी ताराको घनत्व न्यूट्रोन कणको घनत्वसँग बराबर हुन्छ ।
न्युट्रोन स्टार सन् १९६८ मा पत्ता लागेको थियो । तर कणको अस्तित्वको सैद्धान्तिक व्याख्या भने उक्त तारा पत्ता लाग्नु भन्दै ३५ वर्ष पहिले नै भईसकेको थियो । न्यूट्रोन स्टारको गुरुत्वार्कषण असामान्य रुपमा धेरै हुने भएकाले यसमा हुने पहाडहरु केही मिलिमिटरमा अग्ला हुन्छन् । यस ताराहरुको घनत्व यति बढी हुन्छन् कि यसभित्रको डटपेनको बल आकारको सानो बस्तुको पिण्ड पनि ९१ ह्जार टन बराबरको हुन्छ । तारा आफैमा खादिदै जाँदा यसको घुम्ने गति बढ्न जान्छ । न्यूट्रोन स्टार यति तीब्र घुम्छ कि एक वा दुई मिलि सेकेण्डमा यसले एक फन्को मारिहाल्छ । यो भनेको प्रति सेकेन्ड करीव ३० हजार किलोमिटरको दरमा फन्को मार्नु हो । यसरी तेज गतिमा फन्का मार्ने न्यूट्रोन स्टारले विद्युत चुम्वकीय तरङ्ग छोडिरहेको हुन्छ । यस्ता तरङ्गहरुको अध्ययनबाट यिनीहरुको अस्तित्वको पुष्टि गरिन्छ ।
‘न्युट्रोन स्टार’ भनेको नष्ट भएका ठूला ताराहरुको बाँकी केन्द्रीय भाग हो । ठूला ताराहरुको ‘सुपरनोभा’ भनिने विस्फोटनबाट बाँकी रहेको अवशेष नै न्युट्रोन स्टार हो । यिनीहरुको आकार सानो हुन्छ । करिब ३० किलोमिटर वारपार लम्बाइ हुने यी ताराहरुको पिण्डभने हाम्रो सूर्यको भन्दा धेरै हुन्छ । तर यी ताराको घनत्व यति धेरै हुन्छ कि एक चम्चाजति पिण्डको तौला अर्बौँ टन हुन्छ । २०१७ अगस्ट १७ मा दुई मृत तारा (न्युट्रोन स्टार) आपसमा ठोक्किएको दृश्य र तरंग आफूहरुले पहिलो पटक अवलोकन गर्न सफल भएको खगोलविद्हरुले जनाएका थिए । आपसमा ठोक्किएर विलय हुनुअघि ती दुई मृत ताराले तीव्र गतिमा एकअर्काको फन्को मारेका थिए । यो खोज खगोल विज्ञानमा नयाँ युगको सुरुवात भएको पनि वैज्ञानिकहरुले बताएका थिए ।
‘किलोनोभा’ नामाकरण गरिएको यो टक्कर पृथ्वीबाट खर्बौँ किलोमिटर टाढा ‘हाइड्रा’ नक्षत्रमा स्थित एनजिसी ४९९३ नामक आकाशगंगामा भएको हो। गत अगस्ट १७ मा पृथ्वी र अन्तरीक्षमा सो टक्कर महसुस गरिएको थियो। यद्यपि यो पृथ्वीमा डाइनोसरको राज्य रहँदा अर्थात् करिब १३ करोड वर्षअगाडि भएको टक्कर हो । तर सो टक्करबाट उत्पन्न प्रकाश र गुरुत्वाकर्षण लहर (ग्राभिटेसनल वेभ) बल्ल पृथ्वीसम्म आइपुगेको थियो । दुई मृत तारा ठोक्किँदा गुरुत्वाकर्षण लहर, प्रकाश र गामा रे मात्र होइन, सुन, प्लाटिनमजस्ता बहुमूल्य धातु पनि उत्पन्न भएको र ती धातु ब्रम्हाण्डमा छरिएको पनि वैज्ञानिकहरुले बताएका छन् । (साइन्स एण्ड फ्युचर र एजेन्सीको सहयोगमा)
*गोपाल भण्डारी नेपालपत्रका प्रधान-सम्पादक हुनुहुन्छ ।
यो पनि पढ्नुहोस्
कृष्ण छिद्र ( Black Hole) भनेको के हो ? यसले कसरी असर गर्दछ ?