८ पुस २०८१, सोमबार

विधि विज्ञानमा बिषालु पदार्थको पहिचान


विधि विज्ञानमा बिषालु पदार्थको पहिचान
Gopal Bhandari
गोपाल भण्डारी

विधि विज्ञानमा कुनै पनि मृतक ब्यक्तिको मृत्यु विष सेवनवाट भएको हो कि होइन भनी गर्नुपर्ने अपराध अनुसन्धान तब मात्र सफल हुन्छ जब मृतकको भिषेरामा विषालु पदार्थ परिक्षण गरिन्छ । तसर्थ समाजमा घटीरहने विषको प्रयोग गरी गरिने हत्या, आत्महत्या आदि जस्ता अपराधिक घटनाको अपराध अनुसन्धान एवं न्याय सम्पादनमा भिषेरामा विषालु पदार्थको परिक्षणको भुमिका निकै महत्वपूर्ण हुन्छ । अपराध अनुसन्धानको सिलसिलामा गरिने प्रारम्भिक लक्षणहरुको अवलोकनबाट पनि मृतकले विष सेवन गरेको आशंका गर्न सकिन्छ । विष सेवन गरिएपछि धेरैजसो देखापर्ने लक्षणहरुमा वान्ता गर्ने, छटपटाईरहने, बेहोस हुने, आंखाको नानी सानो वा ठुलो हुने, छाला फोस्रो हुने, नंग कालो हुने आदि छन् ।

विषालु पदार्थ सेवन गरेको शंकाको निवारण गर्न थप सहयोग पोष्टमार्टम रिपोर्टले पनि गर्छ । शरीरको भित्री अंगहरुमा देखापर्ने लक्षणहरुको अवलोकनवाट मृतकले विष सेवन गरेको आशंका पोष्ट मार्टमबाट गर्न सकिन्छ तर खाएकै हो भनी किटान गरेर भन्न सकिंदैन किनकी धेरैजसो विषालु पदार्थहरुले एउटै किसिमका लक्षणहरु देखाउदछन र यो विष नै खाएकै हो भनेर किटान गर्न नसकिने हुन्छ । सो कुराको निश्चित भिषेरालाई रासायनिक परिक्षण गरेपछि मात्र हुन्छ ।

कुनै पनि ब्यक्तिले विष सेवन गरेमा पहिले उसले वान्ता गर्दछ । वान्तामा खाएको विषको मात्राको धेरैजसो भाग मिसिएर आउंदछ । भित्र गएको विषको सबभन्दा पहिला पाकस्थलीमा जम्मा हुन्छ, त्यहांबाट कलेजो, मृगौला र आन्द्रामा पुग्छ र अन्त्यमा पिशाव र दिशासंग मिसिएर बाहिर फाल्ने प्रयास गर्ने कार्य हुन्छ । यसरी खाएको विष भित्री अंग भिषेराहरुमा केहि न केहि मात्रामा बांकी भई राखेको हुन्छ र त्यो बांकी विषको पहिचान भिषेराको रासायनिक परीक्षणबाट गर्न सकिने भएकोले मृतकले विष सेवन गरे न गरेको भिषेरा परीक्षणाबाट पत्ता लगाईन्छ ।

विषालु पदार्थको पहिचान

कुनै व्यक्तिको मृत्यु विषालु पदार्थको प्रयोगले गर्दा भएको हो वा होइन पत्ता लगाउन मृत व्यक्तिको लाश जाँचबाट प्राप्त भएका नमुनाहरुमा निम्न विषालु पदार्थहरुको पहिचान गरिन्छ ।

१. किटनाशक, मुसा मार्ने आदि विषादिहरु ।
२. विषालु झारपातहरु जस्तै करबीर, धतुरो, विख्मा, आंक, अंगेरी आदि ।
३. औषधीहरु जस्तै निन्द्रा लगाउने, दुखाई कम गर्ने आदि ।
४. लागु पदार्थहरु जस्तै हेरोइन, गाजा, चरेस, कोकेन आदि ।
५. भोलाटाइल विषहरु जस्तै : साइनाइट, अल्कोहल, क्लोरलहाइड्रेट आदि ।
६. विषालु ग्यासहरु जस्तै : कार्वनमोनो अक्साई आदि ।
७. धातुजन्य विषहरु जस्तै : आरसनिक, पारो, तामा आदि ।
८. अन्य विषालु पदार्थहरु ।

(राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारको सहयोगमा)

*गोपाल भण्डारी नेपालपत्रका प्रधान-सम्पादक हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

विधि विज्ञान र डिजिटल फरेन्सिक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !