१३ पुस २०८१, शनिबार

कोरोनाविरुद्धको अग्रमोर्चामा ‘धर्मगुरु’


कोरोना भाइरस

बाँके, २९ वैशाख । धार्मिक, सामाजिक र जातीय सद्भाव भड्किन नदिन धर्मगुुरुहरु नेपालगञ्जमा अग्रमोर्चामा देखिएका छन् । आफूहरुको पहिलो प्राथमिकता धार्मिक, जातीय एवं सामाजिक सद्भाव जोगाउने रहेको मुसलमान धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरी बताउनुहुन्छ ।

‘धार्मिक द्वन्द्वका धेरै घटना अन्तरधार्मिक तथा सामाजिक सद्भाव मञ्चले मिलाएको छ,’ उहाँले भन्नुभयो ।
मञ्चमा हिन्दू, इस्लाम, इसाई, बौद्ध र शिख धर्मका धर्मगुरु आबद्ध छन् । बाँकेमा धार्मिक एवं सामाजिक सद्भाव उल्लंघनको अवस्था आए यहाँका सामाजिक, धार्मिक एवं मानवअधिकारका क्षेत्रमा काम गर्ने संस्थाले धार्मिकगुरुलाई गुहार्ने गर्छन् । यस अर्थमा बाँकेको धार्मिक र सामाजिक सद्भाव धार्मिक गुरुको भरमा अडेको छ ।

नेपालगञ्जका धर्मगुरुहरु आआफ्नो धार्मिक काममा मात्र सीमित छैनन्, सामाजिक सद्भाव कायम गराउन पनि उत्तिकै सक्रिय छन् । बिश्वभर महामारीको रुप लिएको कोरोना भाइरसविरुद्धको अभियानमा नेपालगञ्जका सर्वसाधारणलाई सचेत गराउन हिन्दू, इस्लाम, शिख, बौद्ध र इसाई धर्मका गुरुहरु अग्रमोर्चामै सक्रिय देखिएका छन् ।

कोरोनाबिरुद्धको अग्रमोर्चामा रहनुभएका नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर धर्म गुरुको भूमिका अहिले निकै महत्वपूर्ण रहेको बताउनुहुन्छ । थापा भन्नुहुन्छ, ‘उहाँहरु हामीहरुसँगै कोरोनाविरुद्ध लडिरहनुभएको छ । समाजलाई सचेत गराउन उहाँहरुले खेलेको भूमिका प्रशंसनीय छ ।’ मन्दिर र मस्जिदमा पुगेर स्वाब परीक्षण गराउन धर्मगुरुहरु लागेका छन् । स्वाब परीक्षणपछि नेपालगञ्जमा २४ जनालाई कोरोना सङ्क्रमण देखिएको थियो । ‘नेपालगञ्जको धार्मिक सद्भाव निकै राम्रो मानिन्छ । धर्मगुरुहरु नै हातेमालो गरेर हिँडेपछि आमनगारिकले त्यसको अनुसरण गरिरहेका छन्’, मुसलमान धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरी बताउनुहुन्छ ।

बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगीले मुसलमान समुदायविरुद्ध भएका अनावश्यक टिप्पणीविरुद्ध बोल्दै भन्नुभयो, ‘कोरोना संक्रमणका नाममा कुनै धर्म, जाति र समुदायलाई जोडेर अनावश्यक हल्ला फैलाउन बन्द गर्नुपर्छ । कुनै पनि रोगले जात, धर्म, समुदाय हेर्दैन ।’ नेपालगञ्जमा मुस्लिम समुदायमा सङ्क्रमण अलि बढी नै देखिएपछि केही अफवाह बाहिर आएसँगै आफूहरु त्यस्ता अफवाहलाई चिर्नका लागि सक्रिय भएको उहाँले बताउनुभयो । महन्त योगीले भन्नुभयो, ‘अहिले हामी कुनै जात, धर्म, समुदाय नभनेर रोकोनाविरुद्ध एकजुट हुन सन्देश दिइरहेका छौंँ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !