म्याग्दी, २८ माघ । म्यादीको धवलागिरि गाउँपालिका–७ स्थित ऐतिहासिक ताकमकोतमा १६औँ शताब्दीकै शैलीमा मन्दिर निर्माण शुरु भएको छ । पुरातत्व विभागले ऐतिहासिक महत्वको ताकमकोतमा परम्परागत सीप र प्रविधिको प्रयोग गरेर मन्दिर बनाउन लागेको हो । ताकमकोतबाट विसं १२४६ देखि १५४५ सम्म बगाले थापाले र १५४६ देखि १८८२ सम्म मल्ल राजाले राज्य सञ्चालन गरेका थिए ।
थापा र मल्लकालीन इतिहास झल्कने गरेर पुरातत्व विभागले नयाँ मन्दिर निर्माण गर्न लागेको कोतमन्दिर पुनःनिर्माण समितिका अध्यक्ष तेजिन्द्र थापाले जानकारी दिनुभयो । सङ्घीय सरकारले विनियोजन गरेको रु ४५ लाख बजेटबाट मन्दिर पुनःनिर्माणका लागि ठेक्का सम्झौता भएको छ ।
ठेकेदारले भक्तपुरका मजदुर, कालिगड ल्याएर मन्दिर बनाउन थालेको थापाले बताउनुभयो । माटो, ढुङ्गा र काठको प्रयोग गरेर मन्दिर निर्माण गर्ने पुरातत्व विभागले जनाएको छ । सांसदद्वय भूपेन्द्रबहादुर थापा र थममाया थापाको पहलमा विभागले बजेट विनियोजन गरेको थियो ।
अठार मिटर लम्बाइ र १२ मिटर चौडाइको जमीनमाथि मन्दिर निर्माण हुने भएको छ । चालू आर्थिक वर्षभित्रै मन्दिर बनाइसक्ने लक्ष्य छ । सोह्रौं शताब्दीमा निर्माण भएको ताकमकोत विसं १९९० र २०७२ को भूकम्पका कारण जीर्ण बनेको थियो । चन्दा सङ्कलनबाट करीब रु ९० लाख खर्चेर समुदायले गत असोजमा ताकमकोत र जगन्नाथ अन्नपूर्ण मन्दिर पुनःनिर्माण गरेका थिए ।
सो मन्दिर सिमेन्ट, रड प्रयोग गरी पुनःनिर्माण भएको हो । ऐतिहासिक सम्पदाको संरक्षण गर्न पुरातत्व विभागले छुट्टै अर्को मन्दिर बनाउन लागेको बताइएको छ । मन्दिर संरक्षणका लागि धवलागिरि गाउँपालिकाले पनि रु १० लाख विनियोजन गरेको छ ।
पहिलो चरणमा कोतघर, अन्नपूर्ण–जगन्नाथ मन्दिर, सत्तल र सार्वजनिक शौचालय निर्माण गरिएको ताकमकोत पुनःनिर्माण समितिका अध्यक्ष थापाले बताउनुभयो । कोतमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायतका हातहतियार छन् ।
म्याग्दीको प्रमुख शक्तिपीठ मानिने ताकमकोतको जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ । जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवीदेवताको मूर्ति रहेका यहाँ नवदुर्गा, जेष्ठी पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ । समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा अवस्थित ताकमकोतबाट गुर्जा, धवलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको साथै मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ ।