किराँतहरुको महान चाड साकेलाको दुईवटा पर्विय पक्षहरु छन्, उगौली र उधौंली । उँगो भन्नाले ठेट नेपाली शब्दमा माथी भन्ने बुझाउँदछ र उँधो भन्नाले तल भन्ने बुझाउँदछ । ठेट नेपाली गीत अनि शव्दावलीहरुमा उँगो र उँधो शव्दको पर्याप्त प्रयोग भएको पाइन्छ । तल माथि या प्रगती अनि दुर्गती लगायत शुरु या अन्त्य जनाँउन उँगो र उँधो शव्दको प्रयोग भएको पाइन्छ । प्रकृति पुजक किराँत समुदायले नदी तथा खोलामा पाइने माछा ओरालो (उँधो) धेरै पानी भएको ठाँउतिर बसाइँ सरेको समयलाई उधौली भनेको पाइन्छ । यही उँधो शब्दबाट नै उधौली पर्वको नामाकरण भएको हो ।
हरेक वर्षको मसिंर पूर्णिमाका दिन उधौंली पर्व पर्दछ, किराँती मान्यता अनुसार आजको दिनदेखि हिउँद शुरु भयो, हिँउदको शुरु भएलगत्तै लेकवाट बस्तुभाउ अनि चराचुरुंगी लेकबाट बेसीतिर बसाई सर्ने समय भएको संकेतका रुपमा लिइन्छ । साथै अन्नबाली भित्र्याइएको खुशीयालीमा यो पर्व मनाइन्छ । किराँतहरुको धार्मिक पुस्तक ‘मन्धुम’मा एउटा समग्र वर्षलाई चराहरुको बसाइसराइलाई आधार मानेर दुई भागमा विभाजन गरिएको छ, उगौली र उधौंली ।
यस चाडलाई किराँत समुदायले आफ्नो मुख्य चाडको रूपमा मान्दै आएका छन् । यस उधौली चाडलाई लिम्बुहरूले चासोक तङनाम, किराँत राईहरूले साकेला, साकेन्वा, किराँत याख्खाहरूले चासुवा र किराँत सुनुवारहरूले फोलस्याँदर भन्दछन् । उधौली साकेला पर्वलाई न्वागी पूजा, साकेवा, साखेवा, साकेनवा, सिमे, भूमे, फोडस्यान्डर, उधौली र भूमिपूजा आदि नामले समेत चिनिन्छ ।
मंसिरे पूर्णिमाको दिनदेखि मनाइने उधौली पर्व आदिवासी समुदायमा घरघरमा दिपावली तथा सामूहिक पूजापाठ गरेर मनाउने गरिन्छ । उधौली पर्व आदिवासी जनजाति अन्तर्गतका लिम्बू समुदायमा ‘चासोक तङनाम’, राईहरुले ‘साकेला/साकेन्वा’ सुनुवारहरुले ‘साँदर’ र याख्खाहरुले ‘फोलूयाँदर’ पर्वको रुपमा मनाउने गरिन्छ ।
भाषा, संस्कार संस्कृतिले आ-आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकोले आजभोलि उधौली चाडको अवसरमा संसारभर छरिएर रहेका किराँतहरू आपसमा शुभकामना साटासाट गर्छन् । एकै इलाकामा रहेकाहरू एकैठाँउ भेला भएर दुःख सुखका कुराहरू आदानप्रदान गर्ने, आपसमा चिनजान गर्ने, आ-आफ्नो संस्कृति झल्काउने पोषाकहरू लगाएर आ-आफ्नो जाति विशेषको नाच नाच्ने गर्दछन् ।
लिम्बुहरू च्याब्रुङ बजाउँदै केलाङ, माङलाङ, कुस्रोक्पा लगायत थरीथरीका नाच नाच्ने गर्दछन् भने हात समाएर पालाम भन्दै धाननाच पनि नाच्ने गर्दछन् । राईहरूले हातमा झ्याम्टा, ढोल, चमर र सेउली (सिरलिङ्गे) लिएर विभिन्न शैलीका साकेला, साकेन्वा नाच्ने गर्दछन् । त्यस्तै सुनुवारहरू ढोल बजाएर स्यादर नाच्ने गर्दछन्, याख्खाहरू हात समाएर चावाकलाक र च्याब्रुङ बजाएर केइलाक नाच्ने गर्दछन् ।
पाकेको नयाँ अन्नबाली आफूले खानुअघि प्रकृति र देवी देउतालाई चढाएर मात्र मानिसले खाने गरिन्छ । यसो गरेमा कुनै दुख नहुने, अन्नको सह रहने जनविश्वास छ । पाकेको नयाँ अन्नबाली आफूले खानुअघि प्रकृति र देवी देउतालाई चढाएर मात्र मानिसले खाने गरिन्छ । यसो गरेमा कुनै दुख नहुने, अन्नको सह रहने जनविश्वास छ ।
उधौली पर्व मानिस, जनावर तथा चराचुरुङगी लेकबाट बेँसीतिर झर्ने समय मंसिरे पूर्णिमादेखि मनाउने गरिन्छ भने अन्नबाली लगाउने बेला मानिस, जनावर तथा चराचुरुङगी लेकतिर जाने समय वैशाख पूर्णिमादेखि १५ दिनसम्म आदिवासी समुदायमा उभौली पर्व मनाउने प्रचलन छ । पर्वत श्रृंखलाहरुको लेकतिर बसोवास गर्ने किराँतहरु जाडोको याममा बेशी अथवा तलतीर झर्ने र क्रमशः न्यानो बढेसंगै लेकतिर लाग्ने क्रम पनि यो चाडको सूचक हो ।