१३ पुस, बर्दिवास । महोत्तरी जिल्लामा घरविहीन दलित जाडोमा कष्ट झेलिरहेका समाचार सम्प्रेषण भएपद्धि सहयोगी हात पनि बढेका छन् । गत आइतबार राससले ‘दलितका झुप्रा भत्किए, पालमा जाडो काट्दै’ शीर्षकको समाचार प्रवाह गरेसँगै जिल्लाको भङ्गाहा नगरपालिकाका घरवारविहीन मुसहरका लागि सहयोगीहरू बढ्दै गएका हुन् ।
राससले सो समचार प्रवाह गरेलगत्तै सोही दिन प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले राहतस्वरुप कम्मल वितरण गर्नुभएकामा बिहिबार सो समाचारको प्रभावले काभ्रेपलाञ्चोकबाट आएका दुई संस्थाले पनि १६० परिवार शीतलहर पीडितलाई राहत वितरण गरे ।
बनेपास्थित सुलभ बचत तथा ऋण सहकारी संस्थाले ब्ल्याङ्केट एक थान, त्रिपाल एक थान, ओछ्याउने म्याट दुई थान र बिस्कुट, दालमोठ र चिउरासहित सात किलोग्राम तौलका खाद्यबस्तुको प्याकेट ८० परिवार मुसहरलाई वितरण गरेको हो । राष्ट्रिय पत्रिकामा राससको समचार पढेपछि मानवीय सहयोग गर्न यहाँको दलित बस्ती आएको संस्थाका अध्यक्ष विक्रम श्रेष्ठले बताउनुभयो ।
त्यसैगरी काभ्रेपलाञ्चोककै पतञ्जली योग समितिले भङ्गाहाकै अन्य असहाय, बिपन्न समुदाय र वृद्धवृद्धासहित ८० परिवारलाई प्रतिपरिवार ओढ्ने ब्ल्याङ्केट, ओछ्याउने तन्ना, खास्टो, मोजा, न्यानो कपडा र तयारी खानेकुरा चाउचाउका एक÷एक कार्टुन वितरण गरेको थियो । अभाव र गरीबीबीच जाडोमा कष्ट झेलिरहेका मधेशका नेपालीबीच केही सहयोग लिएर पुग्न पाउँदा सन्तोष लागेको पतञ्जली योग समिति काभ्रेका अध्यक्ष दमनकुमार श्रेष्ठले बताउनुभयो ।
आफ्ना अप्ठ्यारा दिनमा टाढाको पहाडी क्षेत्रबाट नेपाली दाजुभाइ, दिदीबहिनीको स्नेह पाउँदा भङ्गाहाका दलित मुसहर भावुक बनेका थिए । “उहाँहरु हामीलाई सम्झेर आउनुभयो”, भङ्गाहा–१ की पानोवती सादाले भन्नुभयो, “हामी गरीब पनि उहाँहरुको सेवा र सहयोगका लागि कुनै पनि बेला काममा लाग्न सकौँ ।”
जिल्लामा सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमअन्तर्गत निर्माणाधीन भवनको काम रोकिँदा यहाँका मुसहर र बिपन्न परिवार आफ्ना भत्केका झुप्रा सम्झँदै पातलो बोराले बेरिएको पालमा जाडो काट्दै आएका छन् । (रासस)