८ पुस, गलेश्वर । रैथाने सीप र स्थानीय निर्माण सामग्रीको प्रयोग गरी बनाइने पराम्परागत नेपाली बाजाहरु लोप हुँदै गएपछि म्याग्दीको लोक संस्कृति सङ्कटमा पर्न थालेको छ ।
नयाँ पुस्ता पश्चिमा गीत सङ्गीतको प्रभावमा पर्नु र पुरानो पुस्ताले ज्ञान हस्तान्तरण गर्न नसक्नु जस्ता कारणले रैथाने सीप र स्थानीय निर्माण सामग्री प्रयोग गरी बनाइने मादल, मुरली, बाँसुरी, खैंजडी, डम्फू, मौरीबाजा, सारङ्गी, पियानोजस्ता बाजाहरु लोप हुँदै गएका हुन् । कुनै बेला खुबै रुचाइने नेपाली मौलिक परम्परागत बाजाहरु क्रमशः हराउँदै गएपछि मौलिक धुन पनि हराउँदै गएकामा लोकगीत र लोकसङ्गीतका पारखीहरुले चिन्ता व्यक्त गरेका छन् ।
बेनी बजारका गीतकार÷गायक तथा संगीतकार सञ्जय श्रेष्ठले नयाँ पुस्ता गिटार, ड्रमसेट, किबोर्डजस्ता पश्चिमेली बाजाहरुको प्रभावमा पर्दै गएपछि परम्परागत नेपालीबाजा लोप हुँदै गएको र मौलिक धुन पनि हराउँदै गएको बताउनुहुन्छ । शहरी क्षेत्रमा मात्र नभएर अहिले जिल्लाका ग्रामीण क्षेत्रमा पनि विवाह, ब्रतबन्ध, पूजाआजालगायत अन्य चाडपर्वमा बजाइने परम्परागत बाजाहरुको सट्टा अहिले आधुनिक बाजाहरुको प्रयोग हुन थालेको छ ।
नेपाली मौलिक बाजालाई विदेशी बाजाको प्रभावले विस्तारै ओझेलमा पार्न थालेको बताउँदै श्रेष्ठले परम्परागत बाजाको प्रयोग घट्दै गएकाले म्याग्दीको लोक संस्कृतिमाथि पनि सङ्कटको अवस्था उत्पन्न भएको बताउनुभयो । ‘‘म्याग्दीको पहिचान बोकेका यानीमाँया, ख्याली, सालैजो जस्ता गीतहरु गाउँदा बजाइने बाजाहरु अहिले पाइनै छोडेका छन्’’ सङ्गीतकार श्रेष्ठले भन्नुभयो–‘‘आयातित पश्चिमी बाजाहरु प्रयोग गरेर यस्ता गीतहरु गाउँदा न गीतको मर्म भेटिन्छ न त धुन र स्वरमा नै मीठास पाइन्छ ।’’
नेपाली लोकभाकामा अत्याधिक बज्ने मादल अहिले आधुनिक बाजा भित्रिएसँगै सङ्कटमा पर्दै गएको म्याग्दीका युवा गायक तथा हास्य कलाकार रवि कार्की बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘यसले हाम्रो पहिचान र मौलिकपनालाई ओझलमा त पारेको छ नै, सँगसँगै यी बाजा बनाउनेहरुको जीविकोपार्जनमा समेत समस्या पर्न थालेको छ ।’’
पुर्खादेखि नै मादल बनाउने पेशामा संलग्न भकिम्ली चिनाखेतका धनवहादुर विक अहिले यो पेशाबाट मात्र गुजारा चलाउन समस्या भएपछि मादल बनाउन छोडेर डकर्मीको काममा लागेको बताउनुभयो । २५ वर्ष अघिसम्म मादलको राम्रै व्यापार भएपनि अहिले यो पेशाले जिउन समस्या परेको कारण पेशा परिवर्तन गर्नुपरेको उहाँको भनाइ रहेको छ ।
मादलका अलावा नेपालीको अर्को मुख्य बाजा सारङ्गीको पनि अवस्था अहिले उस्तै रहेको छ । ९ बर्षको उमेर देखि सारङ्गी बजाउने पेशाकै रुपमा लिएका दिलबहादुर गन्धर्वलाई अहिलेको अवस्थाले निकै बिरक्त बनाएको छ ।
‘‘नौ वर्षको उमेरमा सारङ्गी भिरेर घरबाट निस्केको हुँ, १०–१२ वर्ष अघिसम्म त सारङ्गी बजाएर गाउँघर डुल्दा खुब मानमनितो हुन्थ्यो, पैसा र अन्न पनि राम्रै पाइन्थ्यो’’ ५४ वर्षीय दिलबहादुर गन्धर्वले भन्नुभयो–‘‘अहिले त समय फेरियो, मान्छेले सुन्ने चाहँदैनन् ।’’
सारङ्गी बजाएर र गीत गाएर गुजारा नचल्ने भएपछि गन्धर्व समुदायमा विस्तारै आकर्षण घट्न गएको छ । यस्ता बाजाहरु बनाउनेले पनि विस्तारै बनाउन छाडेकाले भोलि नयाँ पुस्ताले यी परम्परागत बाजा र गीतसङ्गीत हेर्न र सुन्न कठिन हुने अवस्था आउन नदिन देशको मौलिकता झल्किने यस्ता सम्पदाहरुको संरक्षण र सम्बद्र्धनमा समयमै ध्यान दिनु आवश्यक छ । (रासस)