६ पुस २०८१, शनिबार

तलेजु भवानीमा गतवर्षको तुलनामा दर्शनार्थी घटे


तलेजु भवानी

काठमाडौँ । तलेजु भवानी मन्दिर वर्षको एक दिन बडादसैँको महानवमीमा मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । त्यसैले महानवमीको दिन उक्त मन्दिरमा दर्शनार्थीको निकै घुइँचो लाग्ने गर्दथ्यो । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु मन्दिरमा यो वर्ष भने दर्शनार्थीको घुइँचो गतवर्षको तुलनामा कम देखिएको छ ।

काठमाडौँ महानगरपालिका–२४ का वडा अध्यक्ष विनोदकुमार राजभण्डारीले यो वर्ष दर्शनार्थीको सङ्ख्या घटेको बताए । उक्त मन्दिर सोही वडामा पर्दछ । उनका अनुसार अघिल्लो वर्ष एक दिनमा पाँच लाख हाराहारीमा भक्तजनले दर्शन गरेका थिए । वडा अध्यक्ष राजभण्डारीले भने, ‘यसपटक तिथी फरक परेका कारण दर्शनार्थी त्यति छैनन्, पोहोर साल भक्तजनको लाइन इन्द्रचोकसम्मै थियो । आज मखन टोलसम्म मात्र छ।’

तलेजु भवानीलाई फूलपातीको दिनमा हनुमान ढोका दरबारको मूलचोकमा ल्याइन्छ र विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइन्छ। राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले महाअष्टमीको राती तान्त्रिक विधिबाट कालरात्री पूजा गर्ने परम्परा छ।

कालरात्री पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत् दिने चलन छ । तलेजु भवानीमा मात्र नभइ आज मुलुकभरका शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

वडाअध्यक्ष राजभण्डारीले भने, ‘अरु बेला पनि नित्य पूजा भइराख्छ । तर आज सर्वसाधारणका लागि विशेष गरी खोलिने चलन छ। आज महिसाषुरको वध गरेको दिन भनिन्छ, त्यसैले बली पनि दिने गरिएको हो।’ उक्त मन्दिर बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म खोलिन्छ । दर्शनार्थीको भीड हेरेर मन्दिर खुल्ने समय बढाइने गरेको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !