भक्तपुर । बिस्केट जात्राका लागि तानिएको भैरबको रथ आज बिहान दत्तात्रय नजिक थियो । दत्तात्रयदेखि इनाचोसम्म सडकभरि फुटेका छरपष्ट इँटा र ढुङ्गा देख्दा बिहान यही बाटो भएर ओहोरदोहोर गर्नेहरूले सहजै अनुमान लगाउँथे कि यसवर्ष पनि बिस्केट जात्रामा मध्यराति ढुङ्गा हानाहान भयो । कतिपयले बिहानै सामाजिक सञ्जालमा यसको फोटो तथा भिडियो पोष्ट गर्दै ढुङ्गा हानेर जात्राको पहिचान मेटाउन खोज्नेलाई कारबाहीको माग गरे ।
हिजोदेखि सुरु भएको किस्केट(बिस्काः) जात्रामा भैरबको रथ तान्ने क्रममा मध्यराति दत्तात्रयमा पुगेपछि करिब १ बजेतिर ढुङ्गा हानाहान भएको थियो । बिहान ४ बजेसम्म ढुङ्गा हानाहान हुँदा २३ जना घाइते भए । भक्तपुर प्रहरी परिसरका प्रहरी उपरीक्षक प्रजित केसीले ढुङ्गा हानाहान हुँदा २३ जना घाइते भएको जानकारी दिए । उनले घाइते सबैको उपचार गरी राति नै घर फर्काइएको र कसैको पनि अवस्था जटिल नरहेको बताए ।
ढुङ्गा हानाहान गर्ने दस जनालाई प्रहरीले राति नै पक्राउ गरेको थियो । उनले भने, “जात्रामा ढुङ्गा हानाहान गर्ने दस जनालाई प्रहरीले राति नै ढुङ्गा हान्दै गर्दा पक्राउ गरेको र सिसी क्यामरा तथा अरु माध्यमबाट थप ढुङ्गा हान्नेहरु पहिचान गरी पक्राउ गर्नेछौँ । पक्राउ परेकालाई प्रचलित कानुन बमोजिम कारबाही गर्छौ ।”
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बिस्केट जात्रा स्थानीयवासीको ऐतिहासिक र मौलिक जात्रा भएकाले जात्रामा सुरक्षाकर्मीले हस्तक्षेप नगरेको तर ढुङ्गा हान्ने क्रम नरोकिएपछि प्रहरीले पक्राउ गरेको बताए । उनले मानवीय क्षति नभएको जानकारी दिँदै जात्रा अवधिभर शान्ति सुव्यवस्था कायम गराउन थप सुरक्षा रणनीति अपनाउने जानकारी दिए ।
आठ रात र नौ दिनसम्म भव्यरूपमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरबको रथ तान्दा ढुङ्गा हानाहान भएको हो । प्यागोडा शैलीमा निर्माण भएको रथमा बिहानदेखि सबै पूजा सम्पन्न गरेर दिउँसो ४ बजेदेखि प्यागोडा शैलीमा निर्माण भएको रथभित्र भैरबनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलतर्फ सोमबार रथ तान्न सुरु गरिएको थियो ।
रथ तान्ने क्रममा सुरुमै माथिल्लो टोलकाले रथ लैजाने क्रममा रथलाई बुलुबुलु हिटी (सुकुलढोका), इनाचो हुँदै मधयराति १ः३० बजे दत्तात्रय नजिक रथलाई पुर्याएका थिए । रथलाई राति नै गःहिटी ल्याउनुपर्नेमा ढुङ्गा हानाहान भएपछि बिथोलिएकाले दत्तात्रयमै राख्नुपरेको थियो । आज बिहान स्थानीयवासीको सहायतामा रथ तानेर बिहान नौ बजे गःहिटीमा राखिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।
उनले भने, “राति ढुङ्गा हानाहान भएपछि रथलाई गःहिटी ल्याउन सकिएन, त्यसैले आज स्थानीयवासीलाई आग्रह गरिएको र उनीहरुले नै रथ तानेर गःहिटी पुर्याएका छन् । ”भक्तपुरमा बिस्काः जात्रा भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु गरिन्छ । रथको अगाडि र पछाडि राखिने डोरीलाई अष्टमात्रिका गणका रूपमा लिने गरिन्छ । विक्रम संवत् अनुसार सौर्यमासको आधारमा चल्ने यो जात्रा बिःसीत अर्थात् सर्प मर्यो भन्ने आधारमा लिच्छविकालदेखि मनाउँदै आएको पाइन्छ ।
थिमिमा प्राप्त नेपाल संवत् ५०० को तमसुकपत्रमा यो जात्रा विश्व केतुलाई सम्झाउने पर्यायका रूपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो । तौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा बिस्केट जात्रालाई विश्वजात्रा उल्लेख गरिएको छ भने दरबारस्क्वायरमा रहेको नेपाल संवत् ८०८ र ८१८ को राजा जितामित्र र भूपतेन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विश्क्यात शब्द उल्लेख गरिएको उनको भनाइ थियो ।
अहिले पनि तलेजुमा बिस्काः जात्राको सङ्कल्पस्वरूप पूजाअर्चनामा विश्व जात्रा नै उल्लेख गरिन्छ । संस्कृत शब्द विश्वकेतु नै पछि नेवारी नामकरण हुँदै बिसिका, बिस्क, बिक्का, बिस्काः हुँदै हाल बिस्केट जात्रा हुन पुगेको संस्कृतिविद् श्रेष्ठले उल्लेख गरे । बिस्केट जात्रामा भैरबको धेरै चर्चा गरिए पनि यो जात्रा विश्वनाथ भैरवको मात्र नभएर उनको शक्ति भद्रकालीको पनि भएको बताइन्छ । विश्व भैरवनाथको प्रतीकका रूपमा लिङ्गोमा फहराइने एक जोडी ध्वजामा साक्षात् भैरव र भद्रकाली रहेको उल्लेख छ ।