४ बैशाख २०८१, मंगलबार

आज सोनाम ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा


सोनाम ल्होसार पर्व

काठमाडौँ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९ औँ वर्ष सुरु हुन्छ ।

आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

सोनाम ल्होसार पर्वको अवसरमा आज दिउँसो काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले बृहत तामाङ सांस्कृतिक महोत्सव आयोजना गरिएको छ । महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानदाता टीका शेर्पाले जानकारी दिए । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

यसैगरी राजधानीको स्वयम्भू क्षेत्रका चैत्यमा आन्तरिक रुपमा मात्र पूजा पाठका कार्यक्रम गरी ल्होसार मनाइने बताइएको छ । देशका अन्य भागमा पनि ल्होसार मनाइने तयारी भइरहेको छ । यस वर्ष आज आइतबार मनाइने पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !