२ कार्तिक २०८१, शुक्रबार

हात नभएको योसिँद्योः उठाइयो


लिङ्गो

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्का जात्राको चौथो दिन आज बिहान तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह योसिँद्योः (हात नभएको लिङ्गो) ठड्याइएको छ । जात्राको चौथो दिन आज साँझ यसिँख्यमा ५५ हात लामो यसिँद्योः ठड्याइन्छ ।

पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउने उक्त योसिँद्योः को टुप्पोमा प्रसादका रूपमा हरियो घाँस र फूल राखिएको हुन्छ । प्रत्येक वर्ष चैत मसान्तका दिन योसिँद्योः ठड्याउने र वैशाख ५ गतेका दिन सो ढालेपछि नौ दिन आठ रात लामो बिस्का जात्रा सम्पन्न हुने परम्परा छ ।

त्यसैगरी यसिँख्यमा ५५ हात लामो योसिँद्योः ठड्याएर जात्रा मनाइँदैछ । भक्तपुरको बिस्का जात्राको अर्को आकर्षण योसिँद्योः ठड्याउनु हो । यो योसिँद्योःलाई वैशाख १ गते साँझ तान्त्रिक विधिपूर्वक पूजा गरी ढाल्ने परम्परा छ ।

जात्राका लागि सम्पूर्ण तयारी पूरा भएको गुठी संस्थान कार्यालय भक्तपुरले जनाएको छ । योसिँद्योः ठड्याउनका लागि आवश्यक डोरी, कैचीसमेत तयारी अवस्थामा राखेको गुठीले जनाएको छ ।

भैरवनाथको प्रतीक मानिने योसिँद्योःको शीर्षभाग र हातहरू नीलो कपडाले बेरिएको हुन्छ । योसिँद्योः को कोखामा झुन्ड्याइएका दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एक जोडी ध्वजा फुकाएपछि एउटा संवत् फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !