१२ असार २०८१, बुधबार

देशभर श्रद्धा भक्तिपूर्वक मनाइयो रामनवमी पर्व


बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर

काठमाडौँ । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइने ‘रामनवमी’ पर्व आज देशभर विधिपूर्वक मनाइएको छ ।

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामले त्रेता युगमा आदर्श राजाका रुपमा पु¥याउनुभएको योगदानको सम्झनामा रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा देशभर रहेका भगवान् श्रीरामचन्द्रका मन्दिरमा पूजापाठ गरिएको छ ।

जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लागेको छ । प्राचीनकालदेखि नै विवाह पञ्चमी र रामनवमीका दिन जनकपुरमा नेपाल र भारतका धार्मिक पर्यटकको भीड लाग्ने गर्छ ।

त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रुपमा भगवान् विष्णुको अवतार लिएर श्रीरामको जन्म भएको थियो । पुत्र नहुँदा दुःखी रहनुभएका राजा दशरथले ऋषि वसिष्ठको सल्लाहमा पुत्रेष्टि यज्ञ गरेपछि तीन रानीबाट चार पुत्रको जन्म भएको रामायणलगायत विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

जनताको भावनाअनुसार शासन गर्ने विष्णुको अवतारका रुपमा मनुष्य लोकमा जन्म लिई आदर्श शासन गर्नुभएका राजा रामको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने एवं पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने विषय ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेका थिए । उनले संसारबाट पापी तथा दुष्ट राक्षसको नाश गरेका थिए ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम ‘लोक रञ्जनात् राजा’ अर्थात् जनतालाई खुसी राख्न सक्ने राजा हुनुपर्छ भन्ने शास्त्रीय मान्यतालाई श्रीरामले पूरा गर्नुभएको बताए । त्यसैकारण रामको जीवनबाट अहिलेका शासकले शिक्षा ग्रहण गर्नुपर्ने उनको सुझाव छ ।

पितृ, मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रुपमा रामले अयोध्यामा राज्य गर्नुभएकाले उनको शासनकाललाई अहिले पनि रामराज्यका रुपमा स्मरण गरिन्छ । सृष्टिमा दुर्जनको अन्त्य गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुले रामका रुपमा मनुष्यलोकमा जन्म लिनुभएको हो । रामकै जस्तो गुण हामीमा पनि प्राप्त होस् भन्ने कामनाले रामनवमी पर्व मनाउने गरिएको उनले सुनाए ।

रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने रामायणलगायत धर्मग्रन्थमा उल्लेख गरिएको छ । आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभएकाले उहाँको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

यस अवसरमा बत्तीस पुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपति आर्यघाट पारिको राममन्दिर, गोकर्णेश्वर नगरपालिका वडा नं–९ आरुबारीस्थित राममन्दिर, सोही नगरपालिकाको वडा नं २ भूमिस्थलीस्थित राममन्दिरलगायत देशभरका राममन्दिरमा पूजा, आराधना एवं दर्शन गर्न भक्तजन उपस्थित भएका थिए । रामनवमीकै अवसरमा शोभायात्रा, भजन, कीर्तनलगायत कार्यक्रम पनि गरिएको श्रीरामचन्द्र मन्दिर पुनःनिर्माण तथा व्यवस्थापन समितिका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए ।

यस अवसरमा मन्दिरमा बिहान ५ बजेदेखि नै भक्तजनको भीड लागेको थियो । विसं २०७६ र २०७७ का रामनवमीका अवसरमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएकाले भक्तजनले मन्दिर क्षेत्रमा दर्शन गर्न नपाएकामा यस वर्ष कोरोना जोखिम कम भएकाले बिहानैदेखि धेरै भक्तजन मन्दिरमा आएको उहाँले सुनाए । मन्दिरमा आज हजारौँ भक्तजनले पूजा, आराधनासहित दर्शन गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !