८ बैशाख २०८१, शनिबार

आज काग तिहार र कुकुर तिहार एकैदिन मनाइँदै


काग तिहार र कुकुर तिहार

काठमाडौँ । आज काग तिहार र कुकुर तिहार एकैदिन मनाइँदैछ । आज यम पञ्चकको दोस्रो दिन त्रयोदशी र चतुर्दशी तिथि एकैदिन परेकोले काग तिहार र कुकुर तिहार एकैदिन मनाउनु पर्ने भएको हो । आज काग तिहार बिहान र दिउसो कुकुर तिहार मनाइँदैछ ।

सामान्यतया यमपञ्चकको पहिलो दिन काग तिहार र दोस्रो दिन कुकुर तिहार पर्ने भएपनि यस वर्ष तिथि घटबढका कारण काग तिहार र कुकुर तिहार एकैदिन परेको नेपाल पञ्चांग निर्णायक समितिले जानकारी दिएको छ ।

काग तिहार

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहानै यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीजवीज खान दिएर मनाइँदैछ । बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

आज बिहान ७ः१४ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी तिथि लाग्छ । बिहानै कागलाई पूजा गरी मीठा खानेकुरा खान दिनुपर्छ । कागलाई विशेषगरी दही भात खुवाइन्छ ।

कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने मङ्गलबारदेखि नै सुरु भएको छ । यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन शुरु हुने यमपञ्चक मङ्गलबार बेलुकीदेखि नै शुरु भएको समितिले जनाएको छ ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौमतले बताए । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको हो ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गर्ने गरिन्छ । “काकेन दधि भक्षितम्” अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रही आएको हो ।

दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने मङ्गलबार साँझदेखि नै सुरु भएको छ । यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

कुकुर तिहार

यस्तै तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

आज बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको छ ।

काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ । कार्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने कात्तिक १८ गते बिहीबार बिहान मनाउनुपर्ने समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

सूर्योदयकालभन्दा अघि चतुर्दशी तिथि परेका दिन यो पर्व मनाइन्छ । बुधबार बिहान अरुणोदयकालभन्दा अघि चतुर्दशी तिथि नपरेकाले बिहीबार मनाउनुपर्ने निर्णय गरिएको समितिले जनाएको छ ।

यो पनि पढ्नुहोस्

आज देशभर कुकुर तिहार पनि मनाइँदै

आज बिहानै देशभर काग तिहार मनाइँदै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !