६ जेष्ठ २०८१, आइतबार

मन्दिर खुला गर्ने छाँटकाँट नदेखेपछि पशुपति क्षेत्रमा घट्न थाले भक्तजन


पशुपतिनाथ मन्दिर

काठमाडौँ । साउनको चौँथो सोमबारसम्म पनि पशुपतिनाथ मूल मन्दिर खुला गर्ने छाँटकाँट नदेखेपछि पशुपति क्षेत्रमा भक्तजन घट्न थालेका छन् । तेस्रो हिजो सोमबारसम्म मन्दिर खुला हुने आशामा पशुपति क्षेत्रमा भक्तजनको भीड बढेको थियो ।

पछिल्लो समय दैनिक रुपमा नयाँ भेरियन्टसहितको कोरोनाका सङ्क्रमित बढ्न थालेको र अस्पतालमा बिरामीको चाप बढ्न थालेसँगै पशुपति क्षेत्रमा पनि आज भक्तजनको सङ्ख्या साउनका विगतका सोमबारका तुलनामा कम देखिएको हो ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा मन्दिर खोल्न नसकिने अवस्था भएपछि पशुपति क्षेत्रमा सामान्य अवस्थाकै जस्तो भक्तजन आएको बताए ।

यस वर्ष साउनमा पाँच वटा सोमबार परेको थियो । साउन ३२ गते अन्तिम सोमबार परेको छ । साउने सोमबारको व्रत लिने महिला भने अन्य शिव मन्दिरमा जम्मा भएका थिए । राजधानीको टोलटोलमा रहेका शिव मन्दिरमा विशेषगरी महिलाको भीड लागेको थियो ।

साउनको सोमबार व्रत गरेमा अटल सौभाग्य, पारिवारिक सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम भने साउन महिना र सोमबार छिटो खुसी हुने भगवान् शिवको महिना भएकाले महिला, पुरुष दुवैले व्रत लिने शास्त्रीय विधान रहेको बताए ।

साउनमा महिनामा भगवान् शिवलाई जलधारामात्र चढाएमा पनि प्रसन्न हुने शास्त्रीय वचन छ । यसैले यस महिनामा बोल बम यात्रा गरी भगवान् शिवका मन्दिरमा जल चढाउने परम्परा बसेको हो । कोरोनाका कारण यस वर्ष वाग्मतीको शिरोभाग सुन्दरीजलबाट पशुपतिसम्म हुने बोल बम यात्रा पनि हुन सकेको छैन ।

केही भक्तजनमात्र सवारी साधन प्रयोग गरेर बोल बम यात्रा गरिरहेको भेटिन्छन् । कोरोनाअघि साउन महिना २० लाखसम्म भक्तजनले सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउँथे ।

देशका अन्य शिव मन्दिरमा पनि आज भक्तजनले स्वास्थ्य सुरक्षाका विधि अपनाएर बाहिरबाट भएपनि दर्शन गरेका छन् । खुलेका मन्दिरमा भक्तजन भौतिक दूरी कायम गरी लाममा बसेका थिए । नखुलेका मन्दिरमा भने बाहिरबाट पूजा, आराधना गरी हिँडेका देखिन्थे ।

यसैगरी राजधानीका गोकर्णेश्वर, डोलेश्वरलगायत मन्दिर प्रवेश गर्ने स्थलभन्दा वरदेखि नै प्रहरीले मन्दिर बन्द रहेकाले दर्शन गर्ने व्यवस्था नभएको भन्दै फर्कन आग्रह गरेको देखिन्थ्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !