काठमाडौँ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेकाले एक तिहाइलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको नेपाली सेनाले जनाएको छ । भाइरसको संक्रमण आम मानिसमा नफैलियोस् भनी सतर्कता अपनाउँदै यसो गरिएको हो ।
जनविश्वास अनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो ।
यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ ।
नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।
गत वर्ष कोरोना महामारीका कारण बन्दाबन्दी जारी गरिएकै दिन घोडेजात्रा परेकाले कार्यक्रम स्थगित गरिएको थियो । यस वर्ष पनि सेनाले थोरैलाई आमन्त्रित गरेर साङ्केतिक रूपमा मात्र जात्राका कार्यक्रमलाई निरन्तरता दिन लागेको हो ।