७ मंसिर २०८१, शुक्रबार

‘एक साँझ शिवका माझ’


महाशिवरात्रिमा साधुसन्त

झापा । पूर्वको पशुपतिनाथ ‘अर्जुनधारा जलेश्वरधाम’मा यस वर्षको महाशिवरात्रि पर्वका अवसरमा प्रदेश नं १ स्तरीय एकल ताण्डव नृत्य तथा गायन प्रतियोगिता हुने भएको छ । यही फागुन २७ गते महाशिवरात्रिका दिन ‘एक साँझ शिवका माझ’ कार्यक्रमअन्तर्गत सो प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार क्रमशः रु ५१ हजार, रु ३१ हजार र रु २१ हजार तथा सान्त्वना हुने दुई जनालाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिने धाम समितिका अध्यक्ष नवीन गट्टानीले बताउनुभयो । उहाँका अनुसार एकल शिव भजन गायन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार क्रमशः रु ३१ हजार रु २१ हजार र रु ११ हजार तथा सान्त्वना हुने दुई जनालाई जनही रु दुई हजार प्रदान गरिने छ ।

प्रतियोगितामा सहभागी हुने प्रतियोगीले ताण्डव नृत्यका लागि रु एक हजार र शिव भजनका लागि रु ५०० शुल्क बुझाउनुपर्ने समितिका कोषाध्यक्ष मनोज जोशीले बताउनुभयो । दुवै प्रतियोगिताको अडिशन (प्रारम्भिक छनोट) २५ र २६ गते हुने बताइएको छ । दुवै विधामा ५० ५० जना सहभागी हुने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

अडिसनबाट अन्तिम १० जनालाई छनोट गरिने तथा जसमध्ये ५ जनालाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । यस कार्यक्रम सम्पन्न गर्न कम्तिमा रु ५ लाख खर्च हुने कोषाध्यक्ष जोशीले बताउनुभयो । धाममा २५ गते बिहान ९ बजे यज्ञ समुद्घाटन, २६ गते यज्ञ, पूजा, पाठ, हवन, रुद्राभिषेक, प्रवचन, भजन कीर्तन र २७ गते भक्तजनद्वारा जलेश्वर नाथको पूजा आराधना, जलाभिषेक, तिलक प्रसाद, धार्मिक प्रवचन साथै चार प्रहर पूजा, विशेष रुद्राभिषेक, श्रृङ्गार, आरतीलगायत हुने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !