ललितपुर । बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणमा जुटेको उपभोक्ता समितिले महँगो मूल्यमा काठ खरिद गरी काम गर्न बाध्य भइरहेका छन् । बजारमा काठ अभाव भएपछि समितिले महँगो मूल्यमा काठ खरिद गर्नुपरेको हो ।
कोभिड महामारीपछि मन्दिर पुनःनिर्माणका लागि विभिन्न आकारका काठ बजारमा नपाइएको समितिले जनाएको छ । काठ नपाइएपछि केही समय मन्दिर बनाउने काम समेत रोकियो । काठ मिलमा उपलब्ध भएजति काठ ल्याएर काम भइरहेकोे समितिका अध्यक्ष अमिर शाक्यले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“मन्दिर पुनःनिर्माणका लागि आवश्यक काठ एकै पटक पाउन नसक्दा कहिले एक टिप त कहिले दुईदेखि तीन वटासम्म उतिनै गाडी भाडा तिरेर पटकपटक ल्याउन बाध्य भइरहेका छाँै ।”सरकारी इञ्जिनीयरले मन्दिर पुनःनिर्माणमा खपत हुने काठको एकीन अनुमान नगरिदिँदा महँगोमा काठ खरिद गर्नुपरेको उहाँको भनाइ छ ।
मन्दिरको उचाइ गजुरसम्म ७० फिट ४ इन्च रहने र यसमा ६४ फिट ४ इन्चसम्म काठको काम गर्नुपर्ने बताइएको छ । हालसम्म मात्र २२ फिट काठको काम भइरहेको अध्यक्ष शाक्यले जानकारी दिनुभयो । “मन्दिर पुनःनिर्माणमा आवश्यक कार्नेश र बाटु इँटा बनाउन अर्डर दिइरहेका छाँै”, उहाँले भन्नुभयो, “विगतमा मन्दिर निर्माणमा ३३ थरिका इँटा प्रयोग भएका पाइएको थियो । यी दुई प्रकारका इँटा जोहो गर्न नसकिएकाले बनाउनुनै पर्ने भयो ।”
मन्दिर पुनःनिर्माण एक तला सम्पन्न हुनुका साथै गारो लगाउने काम ७० प्रतिशत सम्पन्न भइसकेको समितिले जनाएको छ । विसं २०७२ को गोर्खा भूकम्पमा क्षति भएको रातो मच्छिन्द्रनाथ मन्दिर श्रीलङ्का सरकारको रु पाँच करोड आर्थिक सहयोगमा पुनःनिर्माण गर्ने भनिएको थियो । सो मन्दिर पुनःनिर्माणमा कतैबाट चासो नदिएपछि २०७७ साल असार २० गते क्षमापूजा गरेर असार २२ गतेबाट उपभोक्ता समिति र पुरातत्व विभागबीच रु तीन करोड २१ लाख रकममा सम्झौता भएर काम अघि बढेको छ ।
लगभग एक हजार ५०० वर्ष अघि शिखरशैलीमा निर्माण भएको रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणको काम २०७८ असार मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको छ । काठमाडाँै उपत्यकाको सबैभन्दा लामो र पाटनको ठूलो उत्सवका रुपमा मच्छिन्द्रनाथ जात्रा मनाउने गरिन्छ । सो पर्व हिन्दूलगायत बौद्धधमावलम्बी दुबैले मनाउने गर्छन् ।
जनश्रुतिअनुसार गुरु गोरक्षनाथले नवनागलाई आशन बनाएर समाधिमा बसेपछि १२ वर्ष पानी परेन । भोकमरी र सुख्खा परी मानिसको जीवन सङ्कटमा पर्दै गएपछि सो समयका राजा, तान्त्रिक बन्द्युदत्त आचार्य र ललित ज्यापूले कठिन परिस्थित सहेर मच्छिन्द्रनाथलाई बुङ्मती ल्याएर राखेपछि गोरक्षनाथ आफ्ना गुरुको दर्शन गर्न उठेको र नवनाग फुक्का भएर भागेपछि अतिवृष्टि पानी परेको बुझाइ रहेको छ ।
रातो मच्छिन्द्रनाथलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकारिने गरिन्छ ।
रातो मच्छिन्द्रनाथलाई छ महिना पाटन त छ महिना बुङ्मती राख्ने चलनानुसार गत मङ्सिर महिना लागेसँगै तःबहाल ल्याइएर राखी सकिएको छ । वर्षा र सहकालका’ देवता मच्छिन्द्रनाथ दर्शनका लागि भक्तजन पाटन आउने गरेका सुन्धारा निवासी सूर्यमान डङ्गोलले बताउनुभयो ।