काठमाडौं, असोज १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जहाँ छौं, त्यही दशैं ठाउँमा मनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको अनुरोध गरेका छन् ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमण दिनप्रतिदिन बढिरहेका सन्दर्भमा मन्त्रालयले आम नेपाली नागरिकलाई दशैंका लागि यात्रा नगर्न अपिल गरेको छ । साथै जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताएका छन् ।
नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २२५३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६८२३ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १३२९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ६४०६९ पुगेको छ ।
काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा १३७३ जनासहित १५९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज काठमाडौं जिल्लाका १३७३ जना, ललितपुर जिल्लाका १८७ जना र भक्तपुर जिल्लाका ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।
नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको पुष्टि भएको छ ।