७ बैशाख २०८१, शुक्रबार

घरमै मनाइयो ऋषि पञ्चमी


ऋषि पञ्चमी

काठमाडौँ, ७ भदौ । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । महिलाले आज बिहानै उठेर नजिकका नदी, खोला, ताल, तलैया र पोखरीमा ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण राजधानी लगायत बाक्लो बस्ती भएका शहर बजार नजिकका नदी, ताल, तलाउ र पोखरीमा स्नान गर्न निषेध गरिएको थियो । काठमाडौँकै ग्रामीण भेगका नदी किनारमा गत वर्षका तुलनामा निकै थोरै मानिस स्नानका लागि पुगेका ममता सापकोटाले जानकारी दिनुभयो ।

वाग्मती, मनोहरालगायत नदी किनारको मुहान क्षेत्रमा स्नान गर्न सकिने गरी पानी स्वच्छ भएकाले प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन अपामार्गसहित विधिपूर्वक स्नान गर्न धेरै महिला जाने गरेका छन् । यस वर्ष भने प्रहरीले कोरोना फैलन सक्ने त्रास रहेकाले घरमै स्नानलगायत व्रत, पूजा विधिका काम गर्न आह्वान गरेको थियो । बिहान नदी क्षेत्रमा प्रहरीले माइकिङ गरी सचेत बनाएको थियो ।

रजस्वलाका समयमा छोइछाईलगायत कुनै त्रुटी भएको भए आज ऋषिपञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । स्नान गरेपछि श्रद्वालु महिलाले अरुन्धतीसहित अत्रि, गौतम, भरद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरेका छन् । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकाले आजको पञ्चमीलाई ऋषिपञ्चमी भनिएको हो ।

रजस्वला भएका बेलामा अरुलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइछाई भएमा आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रही आएकाले यस पर्वलाई वैज्ञानिक मान्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाएर एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन काठमाडौँको टेकु, मूलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष नजिकै घर भएका थोरै मानिस मात्र मन्दिर पुगेका थिए । कोरोनाबाट बच्न गत बुधबार मध्यरातदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा र धेरै जिल्लामा बन्दाबन्दी भएकाले धेरै महिलाले घरमै स्नान गरी यो पर्व मनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !