काठमाडौँ, ४ भदौ । आज हरितालिका तीजको अघिल्लो दिन अर्थात् दर खाने दिन । विगतका वर्षमा तीजको एक महिनाअघिदेखि दर खाएर रमाइलो गर्दै आइरहेका महिला यस वर्ष भने कोरोना कहरले घरभित्रै बसेका छन् ।
कोरोना भाइरसका कारण नेपाल पनि ठूलो पीडामा छ । काठमाडौँ उपत्यकामा सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको जनाउँदै निषेधाज्ञा आजदेखि जारी गरेको छ । यसका कारण अत्यावश्यकबाहेक अन्य सम्पूर्ण सेवा बन्द छन् ।
धार्मिकरुपमा निकै नै महत्व बोकेको हरितालिका तीजमा बाहिर नगई घरभित्रै उपबास बसेर मनाउने तयारीमा रहेको बताउनुहुन्छ वनस्थलीकी स्थानीय सीता परियार । विगतका वर्षमा दिदीबहिनीहरुलाई घरमै बोलाएर दर खुवाउनमा व्यस्त रहने उहाँले यस वर्ष भने कुनै तयारी गर्नुभएको छैन । भन्नुहुन्छ, “दिदीबहिनी बिनाको तीजको के अर्थ ?”
त्यसो त उहाँको मनमा कोरोना लागिहाल्छ कि भन्ने भय नभएको होइन । जथाभावी चाडपर्व मनाउँदा झनै रोगको सङ्क्रमण बढ्न सक्ने भन्दै सरकारले निषेधाज्ञा जारी गर्नु सकारात्मक रहेको उहाँको तर्क छ ।
उहाँ जस्तै यहाँकी ४० वर्षीय अर्की स्थानीय विद्या चापागाईं पनि सरकारले गरेको निर्णयप्रति सकारात्मक हुनुहुन्छ । विगत २५ वर्षदेखि तीज पर्व मनाउँदै आउनुभएकी उहाँ अहिलेसम्म पनि यस्तो स्थिति नआएको बताउनुहुन्छ । विगतको तीज खर्चिलो भएको भन्दै उहाँले यस वर्ष खर्चको वचत भएको जानकारी दिनुभयो । “आफ्नै गल्तीले रोग लाग्न दिनुभन्दा सुरक्षित बस्नु धेरै नै उपयुक्त हो”, उहाँ भन्नुहुन्छ, “रोगबाट बच्न सके अर्काे वर्ष पक्कै मनाउन पाइहालिन्छ नि !”
विगतका वर्षमा दिदीहरुसँग तीज मनाउँदै आउनुभएकी उहाँ कोरोनाले गर्दा यस वर्ष केही खल्लो महसुस भएको बताउनुहुन्छ । भन्नुहुन्छ, “यो वर्ष त तीज आए जस्तै लागेको छैन ।” ४५ वर्षीय अर्की स्थानीय साबित्री ढकालको अनुभव पनि उस्तै छ । विगतका वर्षमा दर खाने दिन किनमेल र पकाउनमा व्यस्त रहने उहाँले माइती जान नपाउनुको पीडा आफूभित्रै दबाउनुपरेको बताउनुभयो । तर सामाजिक सञ्जालबाट प्रत्येक्ष भिडियोमार्फत कुरा गर्न पाउँदा खिन्नता केही कम भएको उहाँले बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालय संस्कृति विभागका पूर्वप्रमुख डा वीणा पौडेलले मन्दिर जान नपाए पनि घरभित्रै पूजाआराधना गरेर यस पर्वलाई मनाउन सकिने जानकारी दिनुभयो । “तीज पर्व हाम्रो मनोविज्ञानसँग सम्बन्धित रहेकाले कसरी मनाउने भन्ने हामीमा नै निर्भर रहन्छ”, उहाँले भन्नुभयो । विगतको वर्षभन्दा यस वर्षको तीज केही फरक तर पछिका लागि अविष्मरणीय रहने उहाँको तर्क छ ।
यो पर्वमा विवाहित महिलाले श्रीमान्को लामो आयुका लागि व्रत बस्ने गर्दछन् भने अविवाहित महिलाले भगवान् शिवजस्तै श्रीमान् पाउँ भने बस्दै आएका छन् ।