५ जेष्ठ २०८१, शनिबार

घोराहीमा थारूभाषामा पठनपाठन हुने


पठनपाठन

नारायणपुर, २० साउन । दाङको घोराही उपमहानगरपालिका भित्रका विद्यालयमा थारू भाषामा पठनपाठन हुने भएको छ । यसका लागि उपमहानगरपालिकाले थारू कल्याणकारिणी सभाको सहयोगमा पाठ्यक्रम तयार समेत गरेको जनाएको छ । पाठ्यक्रम उपमहानगरपालिकाभित्रका थारू बाहुल्य रहेका विद्यालयमा लागू हुनेछ ।

पाठ्यक्रमको बालबालिकाका लागि आफ्नै मातृभाषामा सुन्न, बोल्न र लेख्ने सीपको विकास गर्ने, नयाँ विषयवस्तुलाई आफ्नो मातृभाषामा शिक्षण धारणा स्पष्ट भई आत्मविश्वासको विकास गराउने, विद्यार्थीको शारीरिक, मानसिक, संवेगात्मक विकासलाई प्रभावकारी सहयोग पु¥याउने पाठ्यक्रमको ध्येय रहेको छ । यसैगरी थारू भाषालाई दिगो बनाई थप फराकिलो बनाउँदै दोस्रो भाषामा सिक्न सजिलो बनाउने र थारू भाषाको संरक्षण, प्रवद्र्धन र विकासमा टेवा पु¥याउनेलगायतका ध्येय समेत रहेको छ ।

सोह्रवटा विषयवस्तु र चारवटा कार्यक्षेत्र समेटेर पाठ्यक्रम तयार पारिएको
थारू कल्याणकारिणी सभाका अध्यक्ष एवं थारू मातृभाषा पाठ्यक्रम टोलीका संयोजक भुवन चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार विषय कार्यक्षेत्रमा सुनाइ र बोलाइमा (ध्वनि सचेतीकरण), पढाइमा पठन प्रवाह (अर्थबोध र पठनबोध), लेखाइमा (लेख्य वर्ण सचेतीकरण र लेखाइ) र शब्द भण्डारण र व्याकरण रहेका छन् । विषयवस्तुमा मै ओ म्वार परिवार, म्वार दैनिकी, हमार समुदाय, हमार विद्यालय, हमार वातावरण, म्वार स्वास्थ्य रहेको छ । म्वार सिर्जना, हमार संस्कृति, असल व्यवहार, हमार बजार, हमार देश, म्वार संसार, खेल, हमार प्रविधि, हमार सीप र सूचना, सञ्चार रहेका छन् ।

उपमहानगरपालिकाले गत वर्षदेखि थारू भाषालाई सरकारी कामकाजीको भाषा बनाइसकेको भए पनि कार्यान्वयनमा अझै आउन सकेको छैन । गत वर्षदेखि नै थारू बाहुल्यता रहेका विद्यालयमा मातृभाषामा पढाउने निर्णयसमेत भएको थियो । पहिलो चरणमा कक्षा १ देखि ३ सम्म थारू भाषाको पाठ्यक्रम पठनपाठन हुने उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । “ उपमहानगरपालिकाभित्रका थारूहरुको बाहुल्यता रहेको विद्यालयमा पाठ्यक्रम लागू हुनेछ”, उहाँले भन्नुभयो ।

नेपालको संविधानमा मातृभाषाबाट पनि पठनपाठन गराउन सक्ने व्यवस्था छ । संविधानकोे व्यवस्थाअनुसार पाठ्यक्रम बनाउन थारू कल्याणकारी सभालाई जिम्मा दिइएको उहाँले जानकारी दिनुभयो । “थारू कल्याणकारी सभाले पाठ्यक्रम बनाइसकेको छ उक्त पाठ्यक्रमलाई शिक्षा महाशाखाले हेरेर प्रतिक्रिया दिएपछि लागू हुनेछ”, उहाँले भन्नुभयो । घोराहीलाई थारू भाषाको पहिचानसहितको नगर बनाउने उद्देश्यअनुसार आधारभूत तहबाटै लागू गर्न खोजिएको उहाँको भनाइ छ । “थारू भाषालाई सर्वव्यापी बनाउन जरुरी छ, हामीले थारू भाषालाई जिल्लाव्यापी बनाउन नसके पनि घोराहीव्यापी बनाएरै छाड्छाँै”, उहाँले भन्नुभयो ।

तुलसीपुर उपमहानगरपालिकाले गत शैक्षिक वर्षदेखि मगर बाहुल्य क्षेत्रका विद्यालयहरुमा मगरभाषाको पढाइ सुरु गरिसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !