साउन महिना भगवान् नीलकण्ठ अर्थात् हरिहर स्वरूपको पूजा र आराधना गर्ने महिना हो । साउन महिना जताततै हरियालीले भरिने समय हो । वास्तवमा साउन महिना विशेष गरी नीलकण्ठ नारायण र नीलकण्ठ शिवजीलाई पूज्ने महिना हो । देवताका गुरु बृहस्पति र दानवका गुरु शुक्राचार्य हुन् भने शिवलाई यी गुरुका पनि गुरु मानिन्छ ।
साउनलाई हिन्दू धर्मावलम्बीले विशेष रूपमा लिन्छन्। यो महिना माछामासु, लसुन, प्याज जस्ता तामसी भोज नखाने चलन छ। सनातन धर्मअनुसार, साउनदेखि देवताको रात र पितृको दिन सुरु हुने भएकाले यही महिना पितृकार्य पनि सुरु गरिन्छ । साउन सुरु हुनुअघि गुरुपूर्णिमा मनाउने प्रचलन छ ।
समाजमा उखानै छ ‘साउनमा आँखा पुटेको गोरुले सधैँ हरियो देख्छ ।’ समाजमा हरेक चिजको सकारात्मक र नकारात्मक बुझाइ हुन्छ । त्यसै गरी साउन महिनाको महिमा भल्काउन मानिसले उखानलाई नकारात्मक बुझाइमा ढाली अघि बढाएका हुन् ।
विशेष गरी हिन्दू नारीले साउन महिनाको महत्व समाजमा झल्काउँदै आएका छन् । सोमबार शिवजीको व्रत बस्नुपर्छ भन्ने चलन विगतदेखि नै थियो तर साउनको सोमबार व्रत बस्नुपर्छ भन्ने चलन केही वर्ष पहिलादेखि मात्र चलेको हिन्दू महिलाहरू बताउँछन् । साउन महिनामा शिवजीको व्रत बस्ने हरिया र पहेँला कपडा लगाउने गर्छन हाम्रा चलीहरू ।
कपडालाई सेट मिलाउन त्यसैअनुसारका हरिया, पहेँला चुरा, धागो, पोते, टीका र पालिस लगाउने चलन भनेपछि मात्र भित्रिएको बृद्ध महिलाले विगत सम्झँदै बताइन् । उनीहरूले भने, साउन महिनामा मेहेन्दी लगाउने चलन भने पहिलादेखि नै थियो ।’ हामीले चिउरीको पात कुटी त्यसको लेपन रातभरि हातमा राखी सुत्थ्याैँ ।
हिन्दू नारीले साउनलाई विशेष व्रत महिनाका रूपमा मनाउँछन् । हातमा मेहन्दी लगाउँछन् । पहिले-पहिले गाउँघरमा तिउरी लगाउने चलन थियो । तिउरीका पात पिनेर त्यसका मकरकाँचीको रस राखी हातमा लगाइन्थ्यो । तर,आजभोलि बजारमै बनिबनाऊ मेहन्दी पाइन्छ । त्यस्तै, हातमा हरिया चुरा पनि लगाउने गर्छन् । यसरी हातमा हरिया चुरा लगाउँदा आफ्ना पतिको सुरक्षा हुने लोकविश्वास छ भने अविवाहित महिलाले योग्य वर पाउनका लागि शिवजीसँग प्रार्थना गर्छन् ।
साउन महिनाको महिमा
समुद्र मन्थन हुँदा देवता र दानवबीच समुद्रबाट निस्केको कालकुट हलाहल विषले संसार ध्वस्त गर्न लागेपछि भगवान् शिवजीको स्तुति संसार जगत्ले गर्यो । त्यसपछि साउन महिनामा भगवान् शिवजीले त्यस कालकुट विष पिई संसारलाई विषको प्रभावले बचाए भन्ने बुझाइ शिव पुराणमा रहेको छ । भगवान् शिवजीले निलेको विष सहन गर्न नसकी छट्पटिँदै समुद्रमा बसे । घाँटीमा कालकूट विष भएकाले शिवजीको घाँटी नीलो भएको पौराणिक कथन छ । त्यसैले शिवलाई नीलकण्ठ पनि भनिन्छ। उक्त विषको भयानक असर शिवको शरीरमा देखिएपछि जल चढाउन थालियो। उनले शीतल महसुस गरी प्रशन्न भएकाले त्यही बेलादेखि शिवलाई जल चढाउने परम्परा बसेको पाइन्छ।
शास्त्र अनुसार, समुद्र मन्थनमा विष मात्रै होइन अमृत पनि निस्केको थियो। विष्णुले छलकपट गरी देवतालाई मात्र अमृत पिलाए। दानवलाई अन्याय भयो। तसर्थ, दानवले पनि शिवजीको प्रार्थना गरे। शिवले दानवका गुरु शुक्राचार्यलाई मृतसञ्जीवनी विद्या दिए । यो यस्तो चिकित्सकीय विद्या हो, जसले मरेकालाई तुरुन्तै ब्युँझाउन सक्ने मानिन्छ। त्यसैले शिवलाई हामीले समानताका प्रतीक मान्छौ ।
समुद्र मन्थन गर्दा निस्किएको हलाहल विषलाई आफ्नो घाँटीमा राखी भगवान् शिव नेपालमा अवस्थित गोसाइँकुण्डमा गएर सुतेको लोकविश्वास पनि छ । समुद्रमा बस्दा पनि विषले पोलेपछि छट्पटिँदै गोसाईंकुण्ड पुग्दा बल्ल विष शान्त भयो भन्ने कुरा शिव पुराणले बताउँछ । त्यसैले साउनका प्रत्येक सोमबार शुद्ध भई व्रत बस्नाले मनले चिताएको पुग्ने जनविश्वास रहिआएको छ। त्यस्तै, शिवको भक्ति गर्नाले मृत्युपछि शिवलोक प्राप्त हुने विश्वास छ । हलाहल विष पिएका शिवजी जल तथा बेलीपुष्प चढाउँदा प्रशन्न हुने लोकविश्वास पाइन्छ । साउने सोमबार शिवजीको व्रत गर्नाले मनोकांक्षा पूरा हुने विश्वास छ।
पृथ्वी लोकमा बस्ने मानिसले शिवजीले विष सेवनगरी उनीहरूको रक्षा गरेवापत् खुुुसीका साथ पूजा र आराधना गरे । समाजमा कहीँ कतै भनिन्छ । विशेषतः पृथ्वी लोकमा सौभाग्यवती हिन्दू महिलाले साउने सोमबारको व्रत बस्ने गरेका छन् । देवका पनि देव महादेव भएकाले भगवान् शिव चाँडै खुसी हुने देवता भन्ने परम्परा रही आएको छ । भगवान् शिवजीको पूजा आराधना गर्दा सबै किसिमको कष्ट र संकटको नाश भई मृत्युको विजय हुन्छ भन्ने गरिन्छ । शिवजीको व्रत गर्दा मनले चिताएका कुराहरू पुग्छ, सौभाग्य अटल रहन्छ, सन्तानको वृद्धि अनि उन्नति हुन्छ, भन्ने ठूलो मान्यता छ ।