७ मंसिर २०८१, शुक्रबार

सामाजिक सुरक्षा कार्यान्वयनमा सरकारको सहयात्री बन्छौँ : एनआरएनए


एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत सामाजिक सुरक्षा योजनामा सहभागी गराउने सरकारको प्रयासको सराहना गरेको छ ।

सङ्घका उपाध्यक्ष एवं वैदेशिक रोजगार विभागका प्रमुख डिबी क्षेत्रीले आज एक वक्तव्य जारी गर्दैै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गरी अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकसमक्ष पुर्याइएकामा आभार प्रकट गरेका छन् ।

वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक पनि सामाजिक सुरक्षा योजनामा औपचारिकरुपमा जोडिने बाटो खुलेको जनाउँदै उहाँले गैरआवासीय नेपालीका लागि यो गौरवको विषय भएको उल्लेख गरे । नेपालमा सामाजिक सुरक्षाकोषको स्थापना हुनुअघिदेखि नै सङ्घले विदेशमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा समेट्नुपर्छ भनेर वकालत गर्दै आएको उनले बताए ।

“सङ्घले जिम्मै लिएर सरकारसँग विभिन्न चरणमा छलफल, समन्वय गर्दै आएको थियो”, उपाध्यक्ष क्षेत्रीले भने, “विशेष गरी भारतसहित, मध्यपूर्वलगायत श्रम बजारमा रहेका रहेका नेपाली श्रमिकको आवाजको प्रतिनिधित्व सङ्घले गरेको थियो । एक दशकभन्दा बढी समयपछि त्यो छलफल र सङ्घको पहलले मूर्तरुप लिएको छ ।”

आगामी दिनमा नेपाल सरकारसँग सहकार्य र समन्वय गरी यस योजनाको प्रचारप्रसार र कार्यान्वयनमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सामाजिक सुरक्षालाई सबै श्रमिकसमक्ष पुर्याउन सरकारको सहयात्रीका सङ्घले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

“गैरआवासीय नेपालीका लागि एउटा उपलब्धिको दिन र समग्र नेपाली आप्रवासीका लागि नयाँ अध्ययनको सुरुआत पनि हो”, उनले भने, “यस कार्यलाई सफल बनाउन भूमिका खेल्ने सबैमा सङ्घ धन्यवाद दिन चाहन्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !