२१ कार्तिक २०८१, बुधबार

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता


प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी

काठमाडौँ, जेठ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । उनी सोमबार सवा १० बजे राष्ट्रपति निवास शितल निवास पुगेका थिए । शितल निवासमा प्रधानमन्त्री र राष्ट्रपतिबीच सवा एक घण्टा कुराकानी भएको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ ।

उक्त भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्‍डारीलाई सरकार सञ्‍चालन, समसामयिक विषयवस्तु र घटनाक्रमबारे रिपोर्टिङ पनि गरेका थिए । कोरोना भाइरस (कोभिड-१९) तीव्र गतिमा फैलिएपछि सेना परिचालनको प्रस्ताव लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेको अनुमान गरिएपनि राष्ट्रपति कार्यालय स्रोतका अनुसार उक्त विषयमा कुनै छलफल नभएको भन्ने जानकारी नेपालपत्रलाई प्राप्त भएको छ ।

नेपाल सरकारले शनिबार रोकथाम तथा नियन्त्रणका लागि सेना परिचालन गर्ने निर्णय गरेको थियो । सरकारले निर्णय गरेपनि राष्ट्रपतिबाट प्रमाणीकरण भएको छैन । सेना परिचालन गर्न मन्त्रिपरिषदबाट पठाएर राष्ट्रपतिले अनुमोदन गरेपछि सेना परिचालन गर्न सकिनेछ । संविधानको धारा २६७ (४) मा नेपाल सरकारले नेपाली सेनालाई संघीय कानुन बमोजिम विकास निर्माण र विपद् व्यवस्थापन लगायतका अन्य कार्यमा समेत परिचालन गर्न सकिने उल्लेख छ ।

धारा २६७ (६) मा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विशृङ्खलताको कारणले गम्भीर सङ्कट उत्पन्न भएमा राष्ट्रिय सुरक्षा परिषदको सिफारिसमा नेपाल सरकार, मन्त्रिपरिषदको निर्णय बमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुने प्रावधान छ । त्यस्तै उपधारा ६ मा नेपाली सेना परिचालनको घोषणा भएको मितिले १ महिनाभित्र प्रतिनिधिसभाबाट अनुमोदन गर्नुपर्ने उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !