१२ बैशाख २०८१, बुधबार

कांग्रेस संसदीय समितिको बैठकमा उम्मेदवार छनोटको मापदन्डबारे छलफल


असोज २६, काठमाडौँ । नेपाली कांग्रेसको संसदीय समितिको बैठकमा बुधबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोटको मापदन्डबारे छलफल भएको छ । बुधबारै गठित कांग्रेसको संसदीय समितिको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पहिलो बैठकमा यसबारेमा छलफल भएको हो । बैठकमा समानुपातिकतर्फको मनोनयन यही असोज २९ गते गर्नुपर्ने भएकाले २७ गतेभित्र नै समानुपातिक उम्मेदवारहरुको नाम टुंगो लगाउने निर्णय भएको जनाइएको छ ।

कांग्रेसले आगामी मंसिरमा हुने निर्वाचनका लागि उम्मेदवार छान्न बुधबार १७ सदस्यीय संसदीय समिति गठन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले बुधबार संसदीय समिति गठन गरेका हुन् । कांग्रेसको विधानअनुसार संसदीय समितिले निर्वाचनमा उम्मेदवार छान्ने तथा सरकारमा जाँदा मन्त्रीहरुको नाम टुंगो लगाउने भएकाले पार्टी संरचनामा यो समितिलाई शक्तिशाली मानिन्छ । विधानमा १५ सदस्यीय संसदीय समिति रहने व्यवस्था भएपनि सन्तुलन मिलाउन देउवाले विधानविपरीत १७ सदस्यीय समिति बनाएका छन् ।

समितिमा पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव रहेका छन् । यस्तै, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, खुमबहादुर खड्का र पूर्णबहादुर खड्का रहेका छन् । यस्तै, अर्जुनरसिंह केसी, डा. रामशरण महत, चित्रलेखा यादव, महेश आचार्य, बालकृष्ण खाँण, डा. प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्की पनि समितिमा रहेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !