१८ बैशाख २०८१, मंगलबार

सरकार ! भारत र चीन दुवै राष्ट्रसँग संवाद गर : नेपाली काँग्रेस 


विश्वप्रकाश शर्मा

२९ वैशाख, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कालापानी, लिम्पियाधुरा र लिपुलेकको सीमा विवादबारे भारत र चीन दुवै राष्ट्रसँग संवाद गर्नुपर्ने बताएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसले विगत देखि नै राख्दै आएको प्रष्ट दृष्टिकोण अनुसार सरकारले उच्च स्तरीय कुटनैतिक प्रक्रिया मार्फत आजको मुद्दा हल गर्न गम्भीर पहलकदमी गरी नेपाली भूमि रक्षा गर्नुपर्ने बताएका छन् ।

सन् १८१६ को सुगौली सन्धीले नेपालको पश्चिमी सिमाना महाकाली नदी किटान गरेको ऐतिहासिक तथ्य नै विद्यमान प्रकरण समाधानको मुल आधार भएकोले महाकाली नदी पूर्वको भू-भाग कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने र लिपुलेक एवं लिम्पियाधुरासम्मको नेपाली भूमिमा नेपालको अविच्छिन्न अधिकार निर्वाध रहनु पर्ने धारणा आजको मितिमा पुनः दोहोर्याउन चाहेको बताएका छन् ।

उक्त  प्रेस विज्ञप्तिमा भनिएको छ, ”नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण, नेपालको स्वाधीनता माथिको ठाडो हस्तक्षेप हामीलाई अस्वीकार्य छ । भारतको पिथौरागढ हुँदै नेपालको लिपुलेक भएर चीनको मानसरोवर जोड्ने सडकको पृष्ठभूमिमा सन् २०१५ मे महिनाको भारत–चीन सहमति र कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वको सरकारले त्यो सहमतिप्रति कडा विरोध जनाउंदै दुबै देशलाई पठाएको ‘प्रोटेस्ट नोट’ स्मरण गर्दै यो बिषयमा दुबै राष्ट्रसंग नेपालले गहन संवाद गर्न अत्यावश्यक रहेको औंल्याउन चाहन्छौं ।”

हामी संसारका हरेक मुलुकको सार्वभौमिकताको सम्मान गर्दछौं र नेपालकाबारे अरु राष्ट्रसंग पनि त्यही अपेक्षा राखेको कुरा उनले बताएका छन् । अतः दुबै छिमेकी मित्र राष्ट्र संग ‘प्रष्ट धारणा र ऐतिहासिक तथ्यका आधारमा दीर्घकालीन समाधान’ नेपालको अहिलेको परिपक्व रणनीति हुनुपर्दछ । सामान्य वक्तव्य वा सामान्य नोट जारी गरेर नेपाल सरकारको दायित्व पूरा नहुने भएकोले दीर्घकालीन समाधानका लागि सुस्पष्ट ढंगले उच्च स्तरीय कुटनैतिक पहल गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई फेरि पनि आग्रह गरिएको उक्त प्रेस विज्ञप्तिमा भनिएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !