१२ असार २०८१, बुधबार

राजपा र समाजवादी पार्टी एकता, नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल


राजपा र समाजवादी पार्टी एकता

वैशाख १०, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकीकरण गर्ने सहमति भएको छ । एकीकृत नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राखिएको छ । ‘ओली ग्राण्ड डिजाइन’ असफल पार्न राजपा-समाजवादी रातारात एकीकरण भएको हो ।

चार बुँदे सहमति पत्रमा पार्टी एकीकरण समानताको आधारमा गरिने उल्लेख गरिएको छ । दल विभाजन खुकुलो हुनेगरी आएको अध्‍यादेशको त्रासले मध्‍यरात करीब ११ बजेतिर राजपा र समाजवादी पार्टीबीच एकता भएको हो ।

एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दौ आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुने भनिएको छ भने पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ ।

समाजवादी पार्टीका संघीय परिषद् अध्‍यक्ष बाबुराम भट्टराईले एकतामा सहमति जुटेको र एकीकृत पार्टीको नाम जनता समाजवादी, नेपाल राखिएको बताएका छन् । साथै राजपाका नेता राजेन्द्र महतोले बिहीबार नै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरिने जानकारी दिएका छन् ।

सहमति पत्रमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादी पार्टीको तर्फबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् । राजपा नेपालका अध्‍यक्षमण्डलका सदस्‍यहरू अनिलकुमार झा र राजकिशोर यादवले भने सहमतिपत्रमा यसमा हस्ताक्षर गरेका छैनन् ।

चार बुँदे सहमति पत्र

चार बुँदे सहमति पत्र1


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !