६ जेष्ठ २०८१, आइतबार

सिरहा नगरपालिकाको प्रमुखमा तीनजना एमबीबीएस एमडी डाक्टर चुनावी प्रतिस्पर्धामा


भदौ २३, काठमाडौँ । तेस्रो चरणमा असोज २ गते हुने स्थानीय तह निर्वाचनमा सिरहा नगरपालिकाको प्रमुख पदका लागि तीनजना एमबीबीएस एमडी डाक्टर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । बिरामीको उपचार गर्दै आएका तीनैजना एमबीबीएस एमडी डाक्टर चुनावी एजेन्डासहित चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यहाँको चुनावी प्रतिस्पर्धा रोचक बन्नपुगेको छ ।

नेपाली कांग्रेसबाट डा. सुभाषचन्द्र यादव, नेकपा एमालेबाट डा. नवीन यादव र नयाँ शक्ति पार्टीबाट डा. दिलीप सदा सिरहा नगरपालिकाको प्रमुख पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । चुनावी प्रतिस्पर्धामा उत्रिएका तीनैजना डाक्टरबीच नै कडा प्रतिस्पर्धा हुने स्थानीय बुद्धिजीवीले लख काट्न थालेका छन् । लामो समयदेखि चिकित्सकसँगै पार्टीको राजनीतिमा सक्रिय डा. सुभाषचन्द्र नेपाली कांग्रेसका कोषाध्यक्ष तथा पूर्वमन्त्री सीतादेवी यादवका छोरा हुन् । डा. सुभासचन्द्र कांग्रेसका महासमिति सदस्यसमेत हुन् । उनले सदरमुकाम सिरहामै स्वास्थ्य क्लिनिक सन्चालन गरी बिरामीको उपचारसमेत गर्दै आएका छन् ।

यस्तै, एमालेबाट प्रमुख पदका उम्मेदवार डा. नवीन एमालेका तत्कालीन सांसद हेमनारयाण यादवका छोरा हुन् । डा. नवीन एमाले छाडेर वि.सं. २०७० को संविधानसभाको निर्वाचनमा नेपाल लोकतान्त्रिक फोरमबाट निर्वाचन लडेका थिए । त्यसपछि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका उनी फेरि एमालेमै प्रवेश गरी प्रमुखका उम्मेदवार बनेका छन् । उनले पनि सदरमुकाम सिरहामै स्वास्थ्य क्लिनिक सन्चालन गर्दै आएका छन् । नयाँ शक्तिबाट प्रमुख पदमा उम्मेदवारी दिएका डा. दिलीप सदा दलित समुदायको हुन् । उम्मेदवारी दिनुअघिसम्म जिल्ला अस्पताल सिरहामा कार्यरत् रहेका डा. सदा अस्पतालबाट राजीनामा दिएर पहिलोपटक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । चुनावी प्रतिस्पर्धामा देखिएका तीनैजना डाक्टरले आफ्नो जित सुरक्षित रहेको बताएका छन् । तीनैजनाले आफूहरुले चुनाव जिते नगरपालिकाको विकास निर्माणको गतिलाई तीवता दिने बताएका छन् ।

उनीहरुसँगै संघीय समाजवादी फोरमबाट अशेश्वर यादव र माओवादी केन्द्रबाट महेश यादव पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । फोरमबाट उम्मेदवार बनेका यादव पूर्वप्रमुखसमेत हुन् । सिरहा नगरपालिकाको प्रमुख पदका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम, राजपा, नयाँ शक्ति, नेकपा मालेकालगायतका दलका तर्फबाट ९ जना र स्वतन्त्र ९ गरी १८ जनाले उम्मेदवारी दिएको सिरहाका मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिए ।

उनकाअनुसार सिरहा नगरपालिकाको उपप्रमुख पदमा १० जना, वडाध्यक्ष पदमा १२९ जना, खुला सदस्य पदमा २०१ जना, महिला सदस्यमा ९९ जना र दलित महिला सदस्यमा ९३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी मनोनयन दर्ता गराएका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार मत माग्दै जनताको घरदैलोमा पुगिरहेका छन् । नगर र गाउँपालिकाको प्रमुखमा र अध्यक्षमा कुन पार्टीको वर्चस्व रहन्छ भन्ने तर्क–वितर्कसमेत हुन थालेको छ ।

गाउँदेखि सहरसम्म चोकचोकमा विभिन्न पार्टीको झन्डा, उम्मेदवारको तुललगायतले रंगिएका छन् । २२ वडा रहेको सिरहा नगरपालिकामा ८२ हजार ५३१ जनसंख्या रहेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !