पृष्ठभूमि र जन्म
सल्यानका टेकबहादुर बस्नेत देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट सामान्य प्रशासन मन्त्री बनेका छन् । २०४६ मा पुर्व प्रधानमन्त्री स्वर्गीय मरिचमान सिंह श्रेष्ठ प्रधानमन्त्री बनेको करिब एक दशकपछि सल्यानका राजेन्द्रबहादुर शाह राज्यमन्त्री बन्न सफल भएपनि सल्यानले मरिचमानसिंह श्रेष्ठपछि मन्त्री पाउँन सकेको थिएन । तर २८ वर्षपछि सल्यानमा माओवादी केन्द्रको तर्फबाट टेकबहादुर बस्नेत सामान्य प्रशासन मन्त्री बनेसंगै सल्यानी जनताको चाहना अनुसार सल्यानबाट प्रतिनिधित्व गर्ने सांसदले सरकारको मन्त्रालय सम्हालेर जनयुद्धमा त्याग गरेका सल्यानीको न्याय भएको छ । राजनीतिक यात्राका क्रममा लामो त्याग, तपस्या र लगनशिलताले सत्तामा आइपुगेका बस्नेतले अब सामान्य प्रशासन मन्त्रीको रुपमा समग्र मुलुक र सल्यानलाई केन्द्रसँग जोड्न मन्त्रीको रुपमा कस्तो भूमिका खेल्लान् भन्ने विषय पनि निकै चासोका साथ हेरिएको छ ।
नेकपा माओवादी केन्द्रको तर्फबाट सल्यान जिल्लाबाट २ पटक प्रत्यक्ष निर्वाचित सांसद तथा नेकपा माओवादी केन्द्रको संसदीय दलको प्रमुख सचेतक हुनुहुन्छ । तीन दर्जन हाराहारीका युद्ध मोर्चामा सहभागी हुनुभएका बस्नेत बेनी, अर्घाखाँचीजस्ता ठूला लडाइँमा पनि भाग लिनुभएको थियो । टेकबहादुर बस्नेतको जन्म बि.सं. २०२२ साल असोज १ गते सल्यान जिल्लाको कोटमौला गाविस वडा नं ३ विउरेखोला (हालको बा.न.पा. ८) मा भएको हो । उहाँका बाबुको नाम खिमलाल बस्नेत र आमाको नाम टीकाकुमारी बस्नेत हो । उहाँकी श्रीमतीको नाम ढाका बस्नेत हो ।
शिक्षा र अनुभव
नेपालमा राणा शासनको अन्तपछि २००७ सालमा स्थापित र २००९ सालमा स्वीकृति प्राप्त सल्यान जिल्लाको पहिलो स्कूलः कोटमौला–३, गैरागाउँस्थित सरस्वती प्रा.वि.मा २०३० साल (कक्षा १ देखि ३ सम्म) २०३३ सालसम्म अध्ययन, २०३४ साल (कक्षा ४) मा कालिका मा.वि. कोटमौलामा, २०३५ साल (कक्षा ५–७ सम्म) मा भानुभक्त मा.वि. दमाचौरमा, २०३८ साल (कक्षा ८–१० सम्म) मा जनकल्यान मा.वि. थारमारेमा अध्ययन गरी एस.एल.सी.को परीक्षा दिएर २०४० देखि २०४२ सम्म सोही विद्यालयमा अध्यापन गरेका हुन् । २०४२ मै १० महिने कृषि तथा पशु विज्ञानको कोर्शसंगै नेपाल कमर्स क्याम्पस मीनभवनमा अध्ययन गर्दै अखिल विद्यार्थी संगठनमा आबद्ध हुनु भएको हो । बस्नेतले वाणिज्य शास्त्रमा स्नातक तहसम्मको औपचारिक अध्ययन गर्नुभएको छ भने प्राविधिक शिक्षातर्फ जेटिए पनि अध्ययन गर्नु भएको छ ।
२०४३ माघमा क्षेत्रीय पशुसेवा निर्देशनालय सुर्खेतबाट नायव प्राविधिक सहायक पदको नियुक्ति लिएर जिल्ला पशुसेवा कार्यालय सल्यान खलङ्गाबाट पशुसेवा कार्यालय रागेचौरमा ३ महिना कार्यरत, २०४४ सालमा जिल्ला पशुसेवा कार्यालय रुकुम मुसीकोट र चौरजहार पशुसेवा कार्यालयमा, २०४५ देखि २०४७ सालसम्म रुकुम जिल्लाको पशुसेवा कार्यालय प्वाङ्गमा, २०४८–४९ मा जिल्ला पशुसेवा कार्यालय, दाङ्ग घोराहीबाट पशुसेवा कार्यालय दाङ्ग कै पञ्चकुले हुँदै फेरी जिल्ला पशुसेवा कार्यालय रुकुमबाट चौंरी फार्म डोल्पादेखि २०५० साल श्रावणमा सरकारी नोकरी सेवाबाट विदाई लिनु भएको हो ।
राजनीतिक यात्रा
टेकबहादुर बस्नेतको राजनीतिक यात्रा यस प्रकार छ :
१) २०४७ असोजमा ने.क.पा.(मशाल)को सदस्यता प्राप्त, मंसीरदेखि पार्टीको तल्लो एकाई सेल कमिटीमा आबद्ध/संगठित ।
२) २०५० भाद्रदेखि पूर्णकालिन जिल्ला पार्टी सदस्यको जिम्मेवारी प्राप्त ।
३) २०५१ चैत्रमा सम्पन्न ने.क.पा. (एकताकेन्द्र) सल्यान जिल्लाको दोस्रो सम्मेलनबाट जिल्ला सेक्रटरीमा निर्वाचित ।
४) २०५२ मंसीरको बैठकबाट जिल्ला सैनिक आयोगको प्रमुख ।
५) २०५२ चैत्रदेखि २०५६ सम्म रुकुम र सल्यानको जिल्ला पार्टी सचिवालय सदस्य ।
६) २०५६ भाद्रमा रुकुमबाट अलग भएपछि सल्यान जिल्ला पार्टी सेक्रेटरीमा नियुक्त ।
७) २०५७ पौषमा सल्यान जिल्ला जनसरकार प्रमुख तथा फागुनमा पार्टी क्षेत्रीय व्यूरो सदस्य ।
८) २०५८ मा जनमुक्ति सेना, नेपाल कम्पनी कमिस्नर (Commissioner) ।
९) २०५९ मा जनमुक्ति सेना, नेपाल तेस्रो बटालियन कमिस्नर (Commissioner) ।
१०) २०६० मा जनमुक्ति सेना,नेपाल तेस्रो ब्रिगेड सहकमिस्नर (Commissioner) ।
११) २०६० श्रावणमा पार्टी केन्दीय समिति सदस्यको जिम्मेवारी प्राप्त ।
१२) २०६१ को फून्टिबाङ्ग बैठकमाजनमुक्ति सेना,नेपाल तेस्रो ब्रिगेड कमिस्नर(Commissioner) ।
१३) २०६२ असोजको चुनबाङ्ग बैठकमा जनमुक्ति सेना,नेपाल तेस्रो डिभिजन कमिस्नर (Commissioner), पार्टी तेस्रो सैन्यव्यूरो ईन्चार्ज ।
१४) २०६३ मा शान्ति प्रक्रियापछि सल्यान जिल्ला पार्टी ईन्चार्ज ।
१५) २०६४ चैत्र २८ गते, सल्यान–१ बाट संविधानसभा सदस्यमा निर्वाचित ।
१६) २०६५ देखि २०६९ सम्मजम्मा ४ वर्ष लगाएर “नेपाली कम्यूनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरु”को संग्रह तथा “संविधान निर्माणमा जनसहभागिता, भाग–१” नामक जनताको नासो कृति जनताकै हातमा ।
१७) २०६९ माघ २०–२६ सम्म सम्पन्न हेटौंडा महाधिवेशनबाट पार्टी केन्दीय समितिमा निर्वाचित।
१८) २०७० मंसीर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा, सल्यान–१ बाट पुनः संविधानसभा सदस्यमा निर्वाचित ।
क) संविधानसभा अन्तर्गत संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समिति सदस्य,
ख) संसदीय सुनुवाई विशेष समिति सदस्य,
ग) सार्वजनिक लेखा समिति सदस्य, २०७०/१२/१४ गतेको बैठकबाटः संविधानसभा सदस्य रोलक्रम– १८३
१९) २०७१ बैशाख १८–२३ सम्म विराटनगर राष्ट्रिय सम्मेलनबाट पार्टी केन्दीय समिति सदस्यमा निर्वाचित ।
२०) २०७३ जेष्ठ ६ गतेको पार्टी एकता अधिवेशनपछि बसेको पहिलो PB बैठकबाट पार्टी केन्दीय सचिवालयमा निर्वाचित ।
२१) २०७२/०६/०३ गते संविधानसभाबाट संविधान निर्माणपछि २०७३/०५/२४ गते आफ्नै पार्टीको नेतृत्वमा बनेको संघीय गणतान्त्रिक नेपाल सरकार र संसदीय दलको मूख्य सचेतकको जिम्मेवारी सम्हालेको ।
२२) २०७४ जेष्ठ २३ गतेदेखि २०७४ श्रावणसम्म संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी सम्हालेको
बस्नेतको स्वभाव
माओवादीको मात्र नभएर सल्यानकै एक प्रमुख पात्र हुन् बस्नेत । उनी कुनै पनि विषयमा छिटो र तत्काल निर्णय लिनुभन्दा त्यसको गहिराईमा पुगेर निर्णय लिने उनको स्वभाव छ । साथै निर्णयमा अडिक रहने उनको स्वभाव छ । बस्नेतको सल्यानी जनतासँग सम्वन्ध राम्रो छ । उनी पहिले माओवादी केन्द्रका नेता÷कार्यकर्तामाझ परिचित बस्नेतलाई पछिल्लो समयमा उनको सामान्य जीवनशैली र राजनीतिक शैली मन पराउँने अन्य पार्टी निकटसँग पनि राम्रो सम्बन्ध बनाउँन सफल रहेको विश्वास गरिन्छ । बस्नेत राजनीतिक चलाख खेलाडीका रुपमा परिचित छन् । आफू वरिपरिकालाई विश्वासमा लिएर अघि बढ्ने उनको शैली रहेको बताउँछन् उनका प्रशंसकहरु । उनीसँग आफूप्रति वफादार नेता÷कार्यकर्ताको पुरानो पंक्ति अझै उनी सँगै छ, जसले उनलाई हरदम साथ दिन्छन् ।
सबैको ध्यान बस्नेततर्फ
सल्यान जिल्ला बाट २८ वर्षपछि देशको तेस्रो पार्टीको प्रमुख सचेतक हुँदै मन्त्रीमा पुग्नु बस्नेतको चानचुने उपलब्धि होइन । सल्यान जिल्लामा स्वर्गिय प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठपछि फुल मन्त्री हुनुको अर्थ अब उनी मरिचमान पछिकै ‘सल्यानका प्रमुख नेता’ पनि बन्न पुगेका छन् । सबैलाई समेटेर हिँड्न सक्ने तथा आवश्यकता अनुसार कठोर र लचिलो हुनसक्ने क्षमता भएकाले बस्नेत आगामी दिनमा सल्यान जिल्लामा अझ बढि राजनीतिमा छाउन सक्ने विश्वास गरिएको छ ।
मन्त्रीमण्डलमा बस्नेतको प्रवेशसँगै अब उनले सामान्य प्रशासन मन्त्रीको रुपमा छोटो समयमा जनतामाझ कस्ता कार्यक्रमहरु ल्याउलान अनी समग्र देशलाई कसरी अघि बढाउलान् भन्ने चासो पार्टीभित्र तथा समग्र जनतामा बढेको छ । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा सल्यान क्षेत्र नम्बर १ बाट भारी मतले विजय भएका बस्नेत अब माओवादी केन्द्रको मात्रै नभएर सल्यानी राजनीतिकै एक प्रमुख पात्र बन्न सफल भएका छन् । उनीसँग दुई पटक प्रत्यक्ष निर्वाचित सांसद र एकपटक पार्टीको प्रमुख सचेतक भएको अनुभव छ ।
कृति प्रकाशन
१. “नेपाली कम्यूनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरु”को संग्रह
२. “संविधान निर्माणमा जनसहभागिता, भाग–१” नामक जनताको नासो कृति जनताकै हातमा ।
विदेश भ्रमण
अमेरिका, भारत, बंगलादेश आदि ।