१२ असार २०८१, बुधबार

मिलेनियम च्यालेञ्ज कर्पोरेशनबारे नेकपाले आज निर्णय लिने


नेकपा

पुस ६ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज (आइतबार) बस्दैछ । ११ बजेपछि बस्ने बैठकले अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गर्नेछ । ६ दिनदेखि जारी स्थायी कमिटीको बैठकमा छलफल बाँकी रहेकाले राजनीतिक प्रतिवेदन र महासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव पारित पनि आजै गर्ने नेकपाको तयारी छ ।

यसैबीच हिजोको बैठकबारे जानकारी दिने क्रममा प्रवक्ता श्रेष्ठले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा समेत आइतबार नै निर्णय हुने बताए । एमसीसी इण्डो प्यासेफिक रणनीतिअन्तर्गतको कार्यक्रम हो वा होइन भन्ने विषयमा आवश्यक परामर्शका आधारमा निर्णय गरिने उनको भनाइ छ ।

अमेरिकाले एशिया प्रशान्त क्षेत्रको भौतिक पूर्वाधारको विकासका यो कार्यक्रममार्फत सहयोग उपलब्ध गराउँदै आएको छ । नेपालमा पनि प्रसारण लाइन तथा सडक आयोजना सुधारका लागि करीब रु ६४ अर्ब उपलब्ध गराउने सम्झौता यसअघि नै भइसकेको छ । नेपालमा सो परियोजना एमसीसी नेपालको नाममा सञ्चालनमा छ ।

सङ्घीय संसद्को हिउँदे अधिवेशनबाट उक्त सहयोग सम्बन्धी सम्झौतालाई अनुमोदन गर्ने तयारी छ । स्थायी कमिटीको बैठकमा एमसीसीका विषयमा छलफल भएपछि तथ्यका आधारमा निर्णय गर्ने निष्कर्षमा नेकपा पुगेको हो । नेकपाका केही नेताले सो परियोजना इण्डो प्यासेफिक रणनीति अन्तर्गतको कार्यक्रम भएको बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !