७ कात्तिक, इलाम । पल्लो किराँत राष्ट्रिय लिम्बूवान मोर्चाको ६४औँ स्थापना दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा राखिएका राष्ट्रिय झण्डा हटाएर मोर्चाको झण्डा राख्ने क्रममा केन्द्रीय सचिवसहित नौ जनालाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिएको छ ।
राष्ट्रिय झण्डा हटाएर मोर्चाको झण्डा राख्ने क्रममा पक्राउ पर्नेमा मोर्चाका केन्द्रीय सचिव धनबहादुर विश्वकर्मा, पार्टीको महिला सङ्घ केन्द्रीय अध्यक्ष कविरमाया सावा, इलाम जिल्ला अध्यक्ष विजय आङदम्बे, सचिव मनकुमार माखिम, कोषाध्यक्ष मैतराज लिम्बू, जिल्ला सदस्य कमल लकान्द्री, वृजराज चोङवाङ, अजाहाङ लिम्बु र हर्कप्रसाद नेम्वाङ रहेका छन् ।
शान्ति सुरक्षामा आच आउने काम गरेकाले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए । मोर्चाका कार्यकर्ताले जिल्लाका सरकारी कार्यालयलगायतका स्थानमा राखिएका राष्ट्रिय झण्डा हटाएर मोर्चाको झण्डा राखेका थिए ।