हरारे, २० भदौ । अफ्रिकी मुलुक जिम्बाबेका स्वतन्त्रता सेनानी एवं कुनै समय अफ्रिकी महादेशमा कालाजातिको मुक्तिका प्रतीक मानिएका रोबर्ट मुगाबे शासनको अवशान निकै दुःखद रह्यो । स्वतन्त्रता सेनानी मुगाबेले जिम्बाबेमा ३७ वर्ष शासन गर्नुभयो, तर बढ्दो जनअसन्तोषका बीच आफूप्रति निकै बफादार सेनाद्वारा पदच्यूत हुनुपरेको थियो ।
नोभेम्बर २०१७ मा राष्ट्रपतिको पदबाट बहिर्गमन भएलगत्तै उहाँको शारीरिक अवस्था अत्यन्त नाजूक हुन थालेको थियो ।
बेलायती उपनिवेश रोडेसीयाका शासक अल्पसंख्यक अश्वेतबाट जिम्बाबेलाई स्वतन्त्र बनाउन उहाँको मुख्य भूमिका रहेको थियो । मुलुक स्वतन्त्र भएसँगै प्रधानमन्त्री बन्नुभएका रोबर्ट मुगाबेले प्रतिद्वन्द्वी राजनीतिक शक्तिलाई दमन गर्नुका साथै देशको अर्थतन्त्र रसातलमा पु¥याउनुभयो ।
झण्डै आठ वर्ष राजनीतिक बन्दीका रुपमा बिताउनुभएका मुगाबे त्यसपछि छापामार बन्नुभएको थियो । तर मुलुक स्वतन्त्र भएसँगै सन् १९८० मा भएको आमनिर्वाचनबाट उहाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभयो ।
प्रधानमन्त्रीका रुपमा उहाँले शुरुआती दिनहरुमा जातीय मध्यस्थताको मार्ग लिएको भन्दै अन्तर्राष्ट्रिय जगतबाट राम्रो समर्थन प्राप्त गर्नुभयो । उहाँले बहुसंख्यक कालाजातिको शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा निकै राम्रा कार्यक्रमहरु अगाडि बढाउनुभयो ।
तर उहाँको चमक निकै तिब्र गतिमा फिका हुन थाल्यो ।
मुगाबेले जिम्बाबेको स्वतन्त्रताका लागि जिम्बाबे अफ्रिकी नेसनल युनियन (जानु) र यसको सशस्त्र फौजको नेतृत्व सम्हाल्नु भएको थियो । सन् १९७४ मा जेलमुक्त हुँदा उहाँले उक्त युनियनको सर्वोच्च नेताका रुपमा आफूलाई उभ्याउनु भएको थियो ।
सशस्त्र संघर्षकै समयमा जिम्बाबे अफ्रिकन पिपुल्स युनियन (जापु) को नेतृत्व गर्नुभएका अर्का नेता जोसुवा एन्कोमोलाई मुगाबेले पहिलो निशाना बनाउनुभएको थियो । मुगाबेले गृह मन्त्रालयको जिम्मेवारी दिइएका एन्कोमोलाई सन् १९८२ मा सरकारबाट हटाउनुभयो । मुगाबेले माटाबेलेल्यान्ड प्रान्तमा ठूलो परिमाणमा हतियार फेला परेको भन्दै एन्कोमोलाई पदच्यूत गर्नुभएको थियो ।
मुगाबेलाई जिम्बाबेका बहुसंख्यक शोना जातिको समर्थन प्राप्त थियो । यहीबीच उत्तर कोरियालीबाट तालिमप्राप्त पाँचौं ब्रिगेडले झण्डै २० हजार विपक्षीहरुको हत्या गरेको थियो ।
तर सत्तामा आएको झण्डै दुई दशकपछि जिम्बाबेमा रहेबसेका गोरा जातिको जग्गाजमिन जबर्जस्ती हडप्ने नीति ल्याएपछि मुगाबेको अन्तर्राष्ट्रिय शाख अझ गुमेको थियो । तैपनि अफ्रिकाका अधिकांश देशमा मुगाबेप्रति सम्मान थियो ।
मगाबेले आफ्नो शासनकालमा ल्याउनुभएका केही विवादास्पद नीतिहरुका कारण विदेशी लगानीकर्ताहरु जिम्बाबेबाट पलायन हुनुका साथै आर्थिक स्थिति रसातलमा पुगेको थियो ।
यसैगरी, उहाँले मानव अधिकारको चरम उल्लंघन गर्नुका साथै चुनावमा व्यापक धाँधली गरेको आरोप उहाँमाथि लागेका थिए । (रासस/एएफपी)