९ आश्विन २०८१, बुधबार

राप्रपा (संयुक्त) : लोककल्याणकारी अर्थतन्त्रमा जोड


pashupati

काठमाडौँ, १९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीले प्रस्तुत गर्नुभएको राजनीतिक कार्यपत्रमा मुलुकमा विद्यमान गरीबी न्यूनीकरणका लागि लोककल्याणकारी अर्थतन्त्रमा जोड दिइएको छ ।

राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) को एकीकरणपछि पहिलोपटक बसेको बैठकमा प्रस्तुत गरिएको कार्यपत्रमा व्यक्तिगत सम्पत्तिको सुरक्षासहित उदारवादी आर्थिक नीतिका बारे उल्लेख गरिएको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

‘सनातन धर्म सभ्यता, पहिचान तथा संरक्षण यात्रा’ विषय समेटिएको उक्त कार्यपत्रमा मुलुकमा सनातन हिन्दू राष्ट्र कायम गराउन आगामी कात्तिकमा जनकपुरदेखि लुम्बिनीसम्म यात्रा गरी हिन्दू जागरणसम्बन्धी कार्यक्रम गरिने उल्लेख छ । देशमा शान्ति, एकता तथा विकास र समृद्धिका लागि सबै पक्षलाई चित्त बुझ्ने साझा संस्थाको परिकल्पना कार्यपत्र गरिएको छ ।

नेता ध्रुवबहादुर प्रधानले सचिवालयसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पार्टीले अहिलेसम्म गरेका राजनीतिक गतिविधिका साथै सङ्गठन सुदृढीकरणका प्रयासबारे जानकारी गराउनुभयो । विभिन्न भूगोल तथा क्षेत्रबाट सहभागी भएका नेताले राजनीतिक प्रतिवेदनमा छलफलपछि पार्टीको वैचारिक दृष्टिकोणलाई कायम गर्न आवश्यक रणनीतिको अवलम्बन गरिने जनाइएको छ । बैठक शुक्रबार बिहान ८ बजे पुन बस्ने छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !