८ पुस २०८१, सोमबार

पूर्वमन्त्री सिंहको ‘संविधान निर्माण : घटना र अनुभूति’ पुस्तक विमोचन


प्रेमबहादुर सिंह

भदौ ७, काठमाडौं । ६ पटक मन्त्री भईसकेका पूर्वमन्त्री एवं समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहद्वारा लिखित ‘संविधान निर्माण : घटना र अनुभूति’ नामक पुस्तक बिमोचन भएको छ । काठमाडौंमा भएको एक कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वसभामुख एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पुस्तक विमोचन गर्नु भएको हो ।

नेपालको संविधान निमार्ण र कार्यान्वयनका हरेक घटनाहरुमा सहभागी सिंहको अनुभव र अनुभूति यो पुस्तकमा समावेश गरिएको छ । पहिलो संविधान सभाको विघटन र दोस्रो पटक भएको संविधानसभाको चुनावमा समेत संविधानसभा सदस्य बन्दै सिंह मन्त्री समेत हुनु भएको थियो । उक्त पुस्तकको बारेमा नेपाली काङ्ग्रेसका सांसद राधेश्याम अधिकारी, नेपाल बार एशोसियशनका पूर्वअध्यक्ष तथा बरिष्ठ अधिबक्ता शम्भु थापा र बरिष्ठ अधिबक्ता भिमार्जुन आचार्यले टिप्पणी गर्नु भएको थियो ।

उक्त पुस्तकको शनिबार काठमाडौंमा विमोचन गर्दै पूर्वराष्ट्रपति डा. रामवरण यादवले भने,‘२०६२/६३ सालको मात्र नभई नेपाली जनताको ७० वर्षको बलिदान र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्नु हामी सबै नेपालीको धर्म भएको बताउनुभयो । संवैधानिक निकाय र न्यायालयमा सही मान्छेको छनौट भएको छ कि भागबण्डामा भनी प्रश्न गर्दै उनले सरकार र राजनीतिक दललाई अविश्वासको वातावरण अन्त्य गरी जनताको कुरा सुनेर काम गर्न आग्रह गर्नुभयो ।

तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नेपालको संविधान सबै राजनीतिक दलबीचको सहमति र सम्झौताको दस्तावेजका रुपमा रहेकाले सबैले उठाएका मुद्दा र विषय समेटिएको बताउनुभयो । साथै उहाँले संविधानमा परेका सबै विषयवस्तु निकै सोच र विचार गरेर राखिएको हुनाले संविधानमा कुनै त्रुटि र खराबी नभएको तर कसरी कार्यान्वयन गरेर अघि बढने सन्दर्भमा राजनीतिक दलका पदाधिकारीको क्षमता, वुद्धि र विवेकमा भरपर्ने बताउनुभयो ।

पुस्तकका लेखक सिंहले नेपाली जनताको ठूलो बलिदानबाट गठन भएको संविधानसभाबाट युगान्तकारी घटनाको रुपमा भएको संविधान निर्माण र जारी हुँदाका बखतका घटना र अनुभूतिलाई समेटिएको पुस्तकले भावी पुस्तालाई नेपालको संवैधानिक इतिहास बुझ्नमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । संविधान निर्माण र कार्यान्वयन सम्बन्धी छरिएर रहेका हजारौँ तथ्य र तथ्याङ्कलाई एकीकरण र सम्पादन गरी उक्त पुस्तक तयार गरिएको पनि सिंहले बताउनुभयो ।

नेपाली काङ्ग्रेसका सांसद राधेश्याम अधिकारीले गणतन्त्र, लोकतन्त्र, सङ्घीयता र समावेशी सिद्धान्त नचाहने पक्षबाट मात्र संविधानबारे टिक्का टिप्पणी हुने गरेको स्पष्ट पार्नुभयो । नेपाल बार एशोसियशनका पूर्वअध्यक्ष शम्भु थापाले लेखिएकै आधारमा मात्र संविधान, मूल कानून र रटान गरेकै आधारमा लोकतन्त्रको सही अभ्यास हुँदो रहने छ भन्ने विषय कतिपय घटनाले पुष्टि गरिरहेको धारणा व्यक्त गर्नुभयो । बरिष्ठ अधिबक्ता भिमार्जुन आचार्यले कालिकोट जस्तो दुर्गम ठाउँमा जन्मेर पनि नेपाली राजनीतिमा लेखक सिंहले पुर्याएको योगदानको चर्चा गर्दै उक्त पुस्तक नेपालको संबिधान निर्माणको बारेमा रिफरेन्स बुक हुने बताउनुभयो । सांसद प्रेम आलेले संविधानले नेपालको भौगोलिक र जातीय विविधतालाई समेटेको बताउनु भयो ।

संविधान निर्माण र कार्यान्वयन सम्बन्धी ऐतिहासिक घटनाक्रमलाई लिपिबद्ध गरिएको उक्त पुस्तकमा संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा प्रतिनिधित्व गर्ने राजनीतिक दल, संसदीय दलका नेता, संसदीय समितिका सभापति, संविधान निर्माणको अविष्मरणीय घटना र स्मरणीय व्यक्तित्वको भूमिका र विश्लेषण लगायतका विषयवस्तु समावेश गरिएको छ ।

प्रेमबहादुर सिंहद्वारा लिखित 'संविधान निर्माण : घटना र अनुभूति' नामक पुस्तक

पुस्तकको लागि यो नम्वरमा सम्पर्क गर्नुहोला : ९८४००५००६९ 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !